ad

प्रेरक व्यक्तित्व : मानवतावादी दार्शनिक सुकरात

person explore access_timeअसोज २६, २०७८ chat_bubble_outline0

महान् विचारक सुकरात पश्चिमी दर्शनका जनक हुन् । ई.पू. ४६९ मा युनानको एथेन्स भन्ने स्थानमा जन्मेका सुकरातलाई आधुनिक सभ्यताको प्रवर्तकसमेत भन्ने गरिन्छ । उनीभन्दा पहिलेका शासक तथा धर्मगुरुहरू मानिसलाई मानिस भन्नसमेत हिचकिचाउँथे । समाजमा अन्धविश्वास र रुढीवाद व्याप्त थियो । देवता भनेका खोपीमा वा मन्दिरमा सजाएर राखिएको मूर्तिमात्र हुन् र धर्म भनेको तिनको पूजामात्र हो भन्ने मान्यता थियो । सुकरातले त्यसको स्थानमा मानवीय धरातलको जग बसाउने प्रयास गरेका थिए । मानवसेवा नै माधवसेवा हो भन्ने उनको मान्यता थियो ।


सुकरातका बाबु एक कुशल मूर्तिकार थिए । विभिन्न देवीदेवताको मूर्ति बनाएर तत्कालीन राजामहाराजा वा प्रशासकहरूलाई रिजाउने गर्थे । सुकरात पनि पहिले मूर्तिकलामै लागेका थिए तर जिज्ञासु स्वभावका कारण त्यसैमा सीमित हुन भने सकेनन् । कहिले कविताहरू लेखेर र कहिले जनभेलाहरूमा गएर विचारहरू प्रवाह गर्थे । यस बाहेक गणित र खगोल विज्ञानमा पनि उत्तिकै रुचि थियो । त्यतिबेला एथेन्सले शत्रुदेशहरूसँग लडभीड गरिरहनुपर्ने अवस्था थियो । उनले पनि पैदल सैनिक बनेर युद्धमा सघाएका थिए । एउटा युद्धमा एथेन्सले नराम्ररी हार खानुप¥यो । यसबाट एथेन्सवासी नराम्ररी झस्के । राष्ट्रवादको नारा जोडतोडले अगाडि आयो । सुकरातले यसैमा टेकेर राष्ट्रवादको मुद्दालाई थप उठाए, युवावर्गमा नयाँ जोस र जाँगर थपे ।



उनी प्रष्टवक्ता थिए । चाकरी, चुक्ली, चापलुसी र लम्पनछप्पन जान्दैनथे । आडम्बर, अन्धविस्वास र रुढीवादको कट्टर विरोधी थिए । आवश्यकता परे राजामहाराजा तथा प्रशासकहरूको समेत खुलेर विरोध गर्थे । कुनै सम्प्रदाय विशेषको घेरामा रहनुभन्दा विश्वका नागरिक बन्न रुचाउँथे । बिस्तारै अनुयायीहरू बढ्दै गए । युवावर्ग अनेक जिज्ञासा लिएर आउँथे । उनी चित्तबुझ्दो उत्तर दिएर उनीहरूलाई मानवताको पक्षमा उभिन प्रेरित गर्थे । फलतः उनका अनुयायीहरू बढ्दै जान थाले । 



यथेन्समा सुकरातको प्रशिद्धि प्रतिदिन बढ्दै गयो । उनका विचार सुन्न हजारौँ मानिस जम्मा हुने गर्थे । यसबाट तत्कालीन प्रशासकहरू डराउन थाले र झुटो मुद्दामा फसाउने अवसर खोज्न लागे । नियति पनि कस्तो नभन्दै उनीहरू एकदिन यस्तै मुद्दामा फसाउन सफल भए । उनीमाथि तीनवटा मुद्दा लगाइयो । तिनमा एक थियो युवावर्गलाई पथभ्रष्ट गर्ने उद्योग गरेको । अर्को आरोप थियो देशद्रोही भएको र तेस्रो आरोप थियो परम्परागत देवीदेवी देवताको अस्तित्व अस्वीकार गरी घोर नास्तिक बनेको । मुद्दा बढ्दै गयो । न्यायाधीशहरूले फाइका लागि वकिल राख्न भने तर उनले मानेनन् । आफ्नो वकालत आफैँले गर्दै भने–



‘मेरो उद्देश्य देशवासीलाई शिक्षित गर्नु थियो । मलाई जे उचित लाग्यो, त्यही गरेँ र यस निम्ति मेरो पासमा जे थियो त्यही दिएँ । यस बाहेक केही लिनुदिनु पनि छैन र भन्नु पनि छैन ।’



न्यायाधीशहरूले यसैलाई आरोप सिद्ध गर्ने प्रमाण माने र २२१ को विरुद्ध २८० मतले आरोप प्रमाणित गरी मृत्युदण्डको घोषणा  गरे । उनको प्रसिद्धिसित उनीहरूसमेत डराएका थिए । त्यसैले सिधै मृत्युदण्ड नदिएर बिष खुवाएर मार्ने निर्णय गरे । शुभचिन्तकहरूले पालेलाई मनाएर भगाउन पनि नखोजेका होइनन् तर उनले मानेनन् । उल्टै काँतर र डरछेरुवा होइन, जेपर्छ त्यसैलाई व्योहोर्न चाहन्छु भन्दै हासीहाँसी विषको प्याला पिएका थिए । विष खुवाउने दिन पनि शुभेच्छुकसित कुराकानीमै व्यस्थ थिए । उनको त्यस्तो अवस्था देखेर एकजनाले भने–



‘धेरै कुरा नगरौँ हजुर ! यसो गर्दा विषले ढिलो असर गर्ने भएकाले बढी कष्ट हुन सक्छ ।’

उनको कुरा सुनेर सुकरातले भने–

‘त्यसो हो भने विषको प्याला दुईवटा ल्याउन भन्नु ।’

त्यति ठूलो विद्वान् भएर पनि उनको वैवाहिक जीवन भने सुखद थिएन । भनिन्छ, पत्नी निकै कर्कसा थिइन्, जसको नाम एन्थिपे थियो । उनका तर्फबाट तीन सन्तान भएका भए पनि सम्बन्ध कहिल्यै सुमधुर हुन सकेन । यस सम्बन्धी अनेक किस्सा छन् । धन्य उनी सितिमिति बोल्दैन थिए र मात्रै कुनै त्यस्तो अप्रिय घटना हुन पाएको थिएन । उनमा आलोचना सुन्न सक्ने खुबी थियो । पत्नी किचकिच गरिरहन्थिन् उनी सुनिरहन्थे । उत्तर दिनै पर्ने भए पनि निकै पछि मात्र दार्शनिक पारामा बोल्थे ।

एकपटक एक शिष्यले सोधेका थिए–

‘गुरुदेव ! घरकाले विवाह गर्न कर गरिरहेका छन् तर मलाई मन छैन । अब तपार्ईँले भन्नुस् कि विवाह गर्नु उचित होला कि नहोला ?’

उत्तरमा उनले भने–

‘मेरो विचारमा तिमीले विवाह गर्नुपर्छ ।’

उनको कुरा सुनेर शिष्यले आश्चर्य मान्दै भने–

‘तर तपार्ईँको जीवन त सुखद छैनन नि ?’

त्यसपछि उनले मुस्कुराउँदै भने–

‘त्यसैले त भनेको नि विवाह गर्नुपर्छ भनेर । पत्नी असल परिन् भने तिम्रो वैवाहिक जीवन सुखद हुनेछ । खराब परिन् भने म जस्तै दार्शनिक हुनेछौ ।’

सुकरातको छुट्टै कुनै त्यस्तो ग्रन्थ छैन । मानिसहरू उनका उपदेशलाई कण्ठाग्र पारेर अरुलाई सुनाउने गर्थे । त्यसैले उनीबारे एकरूपता भेटिन्न । कसैले केही भनेका छन् कसैले केही । अति प्रशंसाको प्रसङ्ग पनि भेटिएका छन् अति निन्दा गर्र्नेहरू पनि देखिएका छन् । तर उनी आफैँ भने यसबाट निकै पर थिए । हमेशा जनवादमा उभिन चाहने सुकरातले जे गरे देश र जनता, समग्रमा भन्नुपर्दा मानवताका लागि गरे । आज उनको भौतिक शरीर त छैन तर उनको देन भने दुनियाँले अहिले पनि मुक्त कण्ठले गाइरहेका छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।