शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘मनकामना केबलकार दुई दिनबाहेक दसैँभर चलाउँछौँ’

मङ्गलबार, २६ असोज २०७८, ११ : १४
मङ्गलबार, २६ असोज २०७८

गोरखा जिल्लामा रहेको मनकामना मन्दिर एक महत्वपूर्ण देवीस्थान (शक्तिपीठ) हो । मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको विश्वास छ । यो मन्दिरमा दसैँमा पूजा गर्न आउने सर्वसाधारणको ठूलो भीड लाग्छ । यहाँ प्रत्येक वर्षको दसैँमा र विषेश अष्टमीका दिन बलि चढाइन्छ । चितवनको कुरिनटारदेखि मन्दिरसम्म पुग्नेगरी वि.सं. २०५५ मा मनकामना केबलकार निर्माण गरियो । यो नेपालकै पहिलो केबलकार परियोजना हो । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित यो केबलकारको दूरी ३.०२ किलोमिटर छ । मनकामना मन्दिरमा दशैँका बेला बलि दिनेहरूको भीड लाग्ने गर्छ । दसैँको समयमा केबलकार सञ्चालन, कर्मचारीलाई बिदा लगायत कम्पनी सञ्चालनको विषयमा रातोपाटीले मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजुबाबु श्रेष्ठसँग गरेको कुराकानीको अंश :

दसैँको समयमा मनकामना खुल्छ वा बन्द हुन्छ ?

अघिल्ला वर्षहरूमा दसैँको समयमा नवमी, दशमी र एकादशीसम्म तीन दिन बन्द हुन्थ्यो । तर, यसपालिको दसैँमा दुई दिन मात्र बन्द गर्ने निर्णय गरेका छौँँ । कोरोना महामारी नियन्त्रण गर्न लगाइएको निषेधाज्ञा पालना गर्दै वैशाख १५ देखि सेवा बन्द गरिएको थियो । भदौको अन्तिम सातादेखि सञ्चालनमा ल्याइएको हो ।

मनकामनामा साउन/भदौ र सोह्र श्राद्धका बेला चलहपहल कम हुन्छ । सोह्र श्राद्धमा मानिसहरूले बलि नै दिँदैनन् । साउन/भदौमा वर्षाका कारणले मानिस कम आउँछन् । गत वर्ष पनि कोभिड–१९ महामारीका कारण केबलकार चलाएनौँ ।

यो वर्षको दसैँमा मनकामनामा कति मानिस पुग्लान् ?

अघिल्ला वर्षहरूको दसैँमा धेरै चहलपहल हुन्थ्यो । तर, कोभिड–१९ का कारण यो वर्ष के–कस्तो हुने हो भनेर जानकारी छैन । धेरै मानिस जाने अपेक्षा लिएका छौँ । अघिल्ला वर्षहरूमा घटस्थापना लागेदेखि दैनिक ४ हजार जना जानुहुन्थ्यो । घटस्थापनादेखि अष्टमीसम्म केबलकार चल्छ । नवमी र दशमी दुई दिन बन्द हुन्छ र एकादशीबाट पुनः सञ्चालनमा आउँछ ।

दसैँमा मनकामनामा बलि दिनकै लागि दैनिक कति संख्यामा सर्वसाधारण आउँछन् ?

अघिल्ला वर्षहरूमा घटस्थापनादेखि दैनिक ७०० वटा सम्म बलि दिन मासिनहरु आउने गर्थे । दैनिक ५०० वटा त बोकाकै बलि दिइन्थ्यो । मनकामनामा बोका, कुखुरा र परेवाको बलि दिइन्छ । र, दसैँको समयमा धेरै बलि दिने मानिस आउँछन् ।

मनकामना केबलकारमा कति कर्मचारी हुनुहुन्छ ? दसैँमा कसरी व्यवस्थापन गर्नुहुन्छ ?

मनकामना केबलकारको मूख्य कार्यालय र स्टेसनमै गरेर १५० जना कर्मचारी हुनुहुन्छ । उहाँहरूलाई दसैँमा वर्षैपिच्छे पालैपालो बिदा दिइन्छ । यस्तै, विविध कारणले दसैँ नमनाउने कर्मचारीलाई राखेर व्यवस्थापनले अन्य कर्मचारीलाई घर पठाउँछ । यस्तै, कम्पनीमा भएका कर्मचारीमध्ये अधिकांश स्थानीय कर्मचारीहरूले आलोपालो गरेर केबलकार सञ्चालन गर्नुहुन्छ । दसैँमा कर्मचारी व्यवस्थापन गर्न हामीलाई खासै कठिन छैन । सबै कर्मचारीलाई दसैँमा बोनसको व्यवस्था गरेका छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप