बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

फूलपातीमा भरिभराउ चुरियामाई, तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, २६ असोज २०७८, ११ : १९
मङ्गलबार, २६ असोज २०७८

बडादसैँको आज सातौँ दिन फूलपाती । मकवानपुरको चुरियामाई सहित विभिन्न शक्तिपीठमा भक्तजनहरुको भीड लागेको छ । मकवानपुर र बारा जिल्लाको सीमानामा पर्ने चुरे पहाडकै फेदीमा रहेको चुरियामाई मन्दिर हिन्दु शक्तिपीठ हो । हेटौंडाबाट करिव ७ किलोमिटर दक्षिणतर्फ यात्रा गरेपछि सो मन्दिर पुगिन्छ । महेन्द्र राजमार्गसँग जोडिएको सो मन्दिरमा दसैँ लगायत विभिन्न चाडपर्वमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।

महेन्द्र राजमार्गमा पर्ने तत्कालीन चुरियामाई सुरुङ खन्ने क्रममा मूर्तिको उत्पत्ति भएकोले ‘चुरियामाई देवी’ भनि यसको नामाकरण गरिएको विभिन्न पुस्तक तथा दस्तावेजमा उल्लेख छ । वि.सं. १९०४ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा कुनै अप्रिय घटना नहोस् भनि हाल सुरुङ्गको मुखभन्दा दक्षिणतर्फ एउटा सानो मन्दिर स्थापना गरिएको हो ।

आर्किटेक्ट इन्जिनियर ब्रिगेडियर कर्णेल डिल्लिजङ्ग थापाले सुरुङ्ग मार्गको डिजाइन गरी चुरिया डाँडामा सुरुङ्ग निर्माणको कार्य सुरु गर्न लाग्दा सुरुङ्गको मुखमा आफ्नो थान रहेको भनि सपनामा अलौकिक आदेश भए अनुसार सो मन्दिरको स्थापना भएको स्थानीयवासी बताउँछन् ।

फलस्वरुप देवीको मूर्ति उत्खनन् गरी सुरुङ्गकै प्रवेशद्वारबाट पूर्व चुरियामाई देवीको स्थापना गरी सुरुङ मार्ग खन्ने काम सन् १९१७ मा सुरु गरिएको बताइन्छ । कुनै पनि काम गर्न आँट्दा यस देवी माताको पूजा आराधना गर्नाले बाधा, अड्चन हट्ने विश्वासका साथ टाढाटाढादेखि हजारौं भक्तजन चुरियामाई देवीको दर्शन गर्न आउने गर्दछन् ।

प्रत्येक शनिबार र मङ्गलबार यहाँ भक्तजनहरुको बाक्लो आवतजावत हुने र मुख्यतया दसैँको घटस्थापनादेखि दशमीसम्म भक्तजनहरुको ठुलै घुइँचो हुने गर्दछ । चुरियामाई मन्दिरमा नरिवलदेखि पशुपंक्षीको बलिभोग देवीलाई चढाइन्छ ।

छिमेकी मुलुक भारतको सीमावर्ती सहर रक्सौल लगायत दक्षिण पूर्वी नाकातर्फका भारतको हिन्दु धर्मावलम्बीहरु पनि यस मन्दिरमा आस्थाका साथ आउने गर्दछन् । सवारी साधनबाट पनि मन्दिर दर्शन गर्न सकियोस् भन्ने उद्देश्यका साथ सडक छेउमै देवीको अर्को मूर्ति स्थापना गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप