बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सेनाको दसैँ : टुँडिखेलमा फूलपाती बढाइँ, शक्तिको पूजा

शक्तिपीठमा वली, सैन्य युनिटमा एकदिन बडाभोज
मङ्गलबार, २६ असोज २०७८, १२ : ३६
मङ्गलबार, २६ असोज २०७८

काठमाडौं । बडादसैँको फूलपातीमा नेपाली सेनाले राष्ट्रिय समारोहका रुपमा ‘फूलपाती बढाइँं’ गर्दै आएको छ । सेनाले सो परम्परालाई यसपालि पनि निरन्तरता दिँदैछ । हनुमानढोकामा फूलपाती भित्र्याएपछि सैनिक मञ्च, टुँडीखेलमा बढाइँ गर्ने पुरानै प्रचलन हो ।

नेपाली सेनाले आयोजना गर्ने फूलपाती बढाइँंमा राष्ट्रपति विद्या भण्डारी सहभागी हुने परम्परा रहँदै आएको छ । अहिलेको दसैँमा कोभिड–१९ प्रोटोकल पालना गरेर फूलपाती बढाइँं आयोजना गरिएको बताउँछन् सैनिक प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौड्याल । कोभिड प्रोटोकलका आधारमा आमन्त्रितको संख्या सीमित पारिएको उनले बताए । ड्युटीमा भएका बाहेक सहायकरथी भन्दा माथिल्लो दर्जाका सैनिक अधिकारी मात्रै बढाईंमा सहभागी हुने उनले जानकारी दिए ।

बढाइँं कवाजमा ६ सय ३६ जनाको नफ्रीले भाग लिनेगरी नेपाली सेनाले तयारी गरेको थियो । त्यस्तै तोप मार्फत गरिने बढाईंका लागि ४४ जनाको टिम खटाइएको छ । अघिल्ला दसैँमा भने ठूलो टोलीले ड्रिल खेल्ने र मार्च पास गथ्र्यो ।

असोज २६ मा सैनिकमञ्चमा हेलिकप्टरबाट पुष्पवृष्टि आयोजना गरिएको सैन्य प्रवक्ता पौड्यालले रातोपाटीलाई बताए । उनले भने, ‘टुँडीखेलमा हेलिकप्टरबाट पूष्पवृष्टि, तोप बढाईँ र सैनिक व्याण्डबाट ब्याण्ड डिस्प्ले गर्ने कार्यक्रम राखिएको छ ।’

नेपाली सेनाले गोरखा दरबारबाट फूलपाती ल्याउने परम्परा छ । गोरखाबाट जमल ल्याएपछि गुर्जुको पल्टनले कर्णेलचोक भगवतीबाट सो फूलपाती हनुमानढोकासम्म लैजान्छन् । कर्णेलचोकबाट व्याण्ड र बिगुल बजाएर दसैँघरमा फूलपाती लान गुर्जुको पल्टनलाई निजामती कर्मचारी, नेपाल प्रहरी तथा शसस्त्र प्रहरीले साथ दिन्छन् ।

फूलपातीको अघिल्लो दिन ब्राह्मण, मगर र नेवारसहितको टोली फूलपाती लिन छत्रेदेउराली जाने परम्परा छ । मगर जातिको हातले बोकेको फूलपाती दसैँघरमा विशेष पूजा गरेर भित्र्याइन्छ । सेनाका महानिर्देशनालय, निर्देशनालय, कमाण्ड र बाहिनीहरुले समेत बाजागाजाका साथ फूलपाती भित्र्याएर दसैँ मनाउँछन् ।

शक्तिपीठमा पूजा र वली

सेना शक्तिको पुजारी हो । त्यसैले सेनामा दसैँको नवरात्रको बली, मौलो र निशान पूजा महत्वपूर्ण र अनिवार्य हुन्छ । सेनाले सो परम्परालाई महत्वका साथ मान्दै आएको छ । यसपटक पनि दशमीसम्म नवदुर्गा भगवतीको शक्तिपीठहरु तथा निशान भगवतीमा दैनिक पूजा गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाका महानिर्देशनालय, निर्देशनालय, कमाण्ड र फर्मेशनमा पूजा र विभिन्न कार्यक्रम गरेर दसैँ मनाउने योजना नेपाली सेनाको छ ।

सैन्य युनिटहरुमा नवमिका दिन मौलो र निशान पुजामा परम्परात वली अनिवार्य गरिएको छ । तर, दिनैपर्ने बाहेक अन्य वली कम गर्न जंगी अड्डाले सर्कुलर गरेको छ । महा–अष्ठमिको दिन बेलुका कालरात्रि पुजा गरिन्छ । नवमीको दिन कोत पुजनामा हुने बली सिमित संख्यामा मात्रै गर्न लागिएको सैन्य प्रवक्ता पौडेलले बताए ।

एकदिन बडाभोज

सैन्य युनिटहरुमा एकदिन बडाखाना गर्ने परम्परा हुन्छ । यसपटक स्वास्थ्य प्रोटोकल पालना गरेर सो परम्परालाई निरन्तरता दिइने छ । बडाभोजसँगै आयोजना गरिने सांस्कृतिक कार्यक्रम नराख्न सेनाले मातहतलाई निर्देशन दिएको छ । सीमित संख्यामा फरक–फरक समयमा भेला भएर बडाभोज संचालन गर्नेगरी जंगी अड्डाले मातहतलाई निर्देशन दिएको छ । बडाभोजमा स्वास्थ्य प्रोटोकल अनिवार्य पालना गर्न पनि भनिएको छ । सेनाले युनिट तहमा न्युनतम सहभागीतामा मात्रै दसैँ मनाउन मातहतलाई सर्कुलर गरेको छ ।

इच्छुक सैन्य कर्मचारीले आफ्नो पल्टन कमाण्डरको हातबाट टिका लगाउँछन् । ललितपुर स्थित प्रधान सेनापति निवाश सशिभवनमा गतवर्ष कोरोना महामारीका कारण टीका कार्यक्रम स्थगित गरिएको थियो ।

नेपाली सेनाले चाहिँ अति आवश्यक परेका सैनिकलाई बिदा दिएको छ । ‘गाह्रो साह्रो पर्नेलाई मात्रै छुट्टी मिलाएका छौं’ सैन्य प्रवक्ता पौड्यालले भने– ‘छुट्टीमा जाने सैनिक कर्मचारीलाई सकेसम्म हामीले संगठनकै साधन मार्फत लैजाने र ल्याउने ब्यवस्था मिलाएका छौं ।’

बढाईं र एकीकरणको साइनो

फूलपाती बढाईँलाई नेपाली सेनाले पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडेर हेर्ने गरेको छ । १८२५ मा उपत्यकामा विजय गरेपछि पृथ्वीनारायण शाहले काठमाडौंलाई देशको राजधानी बनाउने निधो गर्दै गोरखाबाट हनुमानढोका दरबारमा फूलपाती भित्र्याएर बढाइँ गर्ने प्रचलन शुरु गरेका थिए ।

फूलपाती लिनका लागि हनुमानढोका दरबार हेरचाह अड्डाको टोली धादिङको छत्रेदेउरालीसम्म पुग्छन् । उता गोरखा दरबारबाट फूलपाती बोकेर आउने टोलीले हेरचाह अड्डाको टोलीलाई छत्रेदेउरालीमा फूलपाती हस्तान्तरण गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप