शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काटेको मासु किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

मङ्गलबार, २६ असोज २०७८, १५ : ३८
मङ्गलबार, २६ असोज २०७८

बडादसैँमा धेरैका घरघरमा पाक्ने खाद्य पदार्थमध्ये एक हो मासु । तर, मासु छनौट गर्दा, काट्दा वा पकाउँदा धेरै कुरामा ध्यान पु–याउनुपर्ने पोषणविद् प्राडा.उमा कोइराला बताउँछिन् । सुरक्षित तरिकाले मासु नखाएमा उल्टै बिरामी पर्न सकिने प्राडा.कोइरालाको भनाइ छ ।

मासु खाँदा पौष्टिक तत्व प्राप्त हुन्छ । प्रायः धेरै नेपालीहरुले बडादसैँमा वर्षभरिमा सन्तुलन मिलाएर खान पुग्ने मासु दसैँको अवधिमा खाने चलन छ । तर, शरीरलाई चाहिने भन्दा बढि मासु खाँदा स्वास्थ्यमा नकारात्मक असर गर्ने पोषणविदहरु बताउँछन् ।

त्यसैले मासुका लागि छानिएका पन्छी, वस्तुलाई काट्दा, भण्डारण गर्दा, पकाउँदा र खाँदा ध्यान नदिएमा विभिन्न सरुवाजन्य रोगको शिकार बन्न सक्ने चिकित्सकको बुझाइ छ ।

मासु कतिन्लेसम्म सुरक्षित राख्न सकिन्छ ?

दसैँ आउनुभन्दा एकदुई दिनअघि नै एकै पटकमा धेरैमा मासु काट्ने चलन छ । यसरी एकैपटकमा धेरै काटिएको मासु भण्डारणमा ध्यान पु¥याउनुपर्छ । मासु काटेदेखि ४८ घण्टासम्म सहि तरिकाले भण्डारण गरेर राखेको मासु खान सकिन्छ । छिटो नबिग्रने ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेटमा फ्रिजमा ४८ घण्टासम्म गर्न सकिन्छ । अझै मासु काट्ने वित्तिकै ताजा मासुलाई डि–फ्रिजमा राख्दा राम्रो हुने प्राडा कोइरालाको भनाइ छ ।

उनका अनुसार फ्रिजमा ताजा मासु र पकाएर राखिएका मासुका परिकारलाई सँगै राख्न भने हुँदैन । मासुलाई फ्रिजमा राख्दा छोपेर राख्नुपर्छ । यस्तै फ्रिजमा नपकाएको काँचो मासु र पकाएको मासुका विभिन्न परिकार राखिएको ठाउँभन्दा तल्लोतल्लो तहमा हरियो तरकारी अन्य खाद्य पदार्थ भने राख्न हुँदैन । किनभने, फ्रिजको माथिल्लो तहमा भण्डारण गरिएको मासुबाट पानी तल्लो तहमा खसेको खण्डमा अन्य खानेकुरा बिग्रन सक्छ ।

यस्तै, पकाएको मासु पनि धेरै दिन राख्नु हुँदैन । केही गरी फ्रिज बन्द भएको अवस्थामा फ्रिजमा राखेको मासु खाँदा विष समान पनि हुन सक्छ । फ्रिज खुल्ला हुँदा ब्याक्टेरियाले विषाक्त बनाएको मासु खाँदा स्वास्थ्यमा समस्या निम्तन सक्छ ।

काटेको मासु स्वस्थ भए, नभएको कसरी थाहा पाउने ?

बजारमा काटेर बेच्न राखिएका सबै मासु स्वस्थ हुँदैनन् । त्यसैले काटेर बेच्न राखिएको मासु किन्दा सचेत हुन जरुरी छ । यदि स्वस्थ मासु किन्न सकिएन भने पौष्टिक तत्व प्राप्त गर्न नसकिने पोषणविदको भनाइ छ । त्यस्तो मासुले शरीरलाई फाइदा गर्नुको सट्टा दुःख दिन सक्छ ।

काटेको मासु अस्वस्थ छ भनेर कसरी थाहा पाउने ?

– काटेको मासु हल्का गुलाबी र हरियो रङको भएमा त्यसमा केही खराबी छ भनेर थाहा पाउनुपर्छ ।

–मासुबाट नमिठो गन्ध आएको छ भने पनि किन्न हुँदैन ।

–मासुबाट कुनै किसिमको अमिलो गन्ध आएको छ भने खान हुँदैन ।

–पसलमा लामो समयसम्म झुण्डयाएर राखेको र खुल्ला राखिएको मासुमा ब्याक्टेरियाको संक्रमण हुन सक्छ, त्यसैले सचेत हुनुपर्छ ।

–बासी मासु भएको खण्डमा समाउँदा तन्केको जस्तो भएमा त्यो किन्न वा खान हुँदैन

मासु पकाउँदा ध्याने दिनुपर्ने कुरा

खसीबोका, राँगाभैँसी स्वस्थ्य छानेर मात्रै हुँदैन । काट्दा अर्थात बनाउँदा मात्रै ध्यान दिएर पनि पुग्दैन । मासु पकाएर खाँदा पनि विषेश ध्यान दिनुपर्छ । बजारबाट किन्ने, बनाउने कार्य सुरक्षित भए पनि मासुुको परिकार पकाउँदा काँचो भएमा विभिन्न किसिमका सरुवा रोग लाग्न सक्ने डा. कोइरालाको भनाइ छ ।

मासुका विभिन्न परिकार पोल्ने, भुट्ने, कम समय बफाउने, पेल्ने गर्दा मासु राम्रोसँग नपाक्न पनि सक्छ । जस्तै मासु पोल्दा धुवाँबाट विषाक्त फैलने सम्भावना हुन्छ । मासुका विभिन्न परिकार बनाएर खाँदा नपाकेको खण्डमा पेट दुख्ने, फुल्ने, झाडापखाला, आउँ, ‘फुड पोइजनिङ’ लगायतका स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सचेत भएर पकाउनुपर्ने पोषणविद प्राडा कोराइलाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप