भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न सहयोग
मकवानपुर । मकवानपुरको भीमफेदी कारागारका कैदीबन्दीलाई दशैं मनाउन नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेता इन्द्रबहादुर बानियाँले र राक्सिराङ गाउँपालिकाले सहयोग गरेको छ ।
नेपाली काँग्रेस मकवानपुरका सभापतिसमेत रहेका नेता बानियाँ र राक्सिराङ गाउँपालिकाले कारागारका कैदीबन्दीलाई दसैँ मनाउन खसी र खाद्यान्न सहयोग गरेका हुन् ।
कारागारमा राक्सिराङ गाउँपालिकाका मात्रै ४१ जना रहेकाले पालिकाले आफ्नै खर्चमा दसैँमा खाद्यान्न लगायतका सामग्री वितरण गर्दै आएको छ ।
कारागारमा रहेकाहरुलाई प्रदेशसभा सदस्य बानियाँले व्यक्तिगत ६० हजार रुपैंया प्रदान गरेका थिए ।
सामाजिक एवं मानवीय भावनाको आधारमा कारागारमा रहेका कैदीबन्दीको दसैँ सुखद बनाउन सहयोग गरेको बानियाँले बताए ।
दसँ सबैको पर्व भएको बताउँदै बानियाँले कारागारभित्रका कैदीबन्दीलाई प्राप्त सहयोगबाट उत्साहपूर्वक पर्व मनाउन उनले सुझाव दिए ।
जीवन निर्वाहको आधार र विकल्प नभएर गाँजा खेती गर्नुपर्ने अवस्थाका व्यक्तिहरु जेलमा रहेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।
गाउँपालिका सबैको अभिभावक भएकाले पालिकाका बासिन्दाको केही व्यक्ति कारागारमा रहँदा दसैँ खल्लो नहोस् भनेर केही राहत दिएको उनले बताए ।
भीमफेदी कारागारमा लागूऔषध मुद्दामा मकवानपुरको हेटौंडा उपमहानगरका ४४, राक्सिराङका ४१, कैलाशका १४, बकैयाका ३, भीमफेदीका ३, मनहरीका १६ र थाहानगरपालिकाका २ जना गरी १ सय २३ जनाले जेल जीवन बिताइरहेका छन् ।