शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा थपिँदैछन् रोहिङ्ग्या शरणार्थी, ४१९ जना काठमाडौँमा

म्यानमारबाट रोहिङ्ग्या ल्याउने गिरोह सक्रिय, २०२२ मा ७ हजार पुर्‍याउने लक्ष्य
शनिबार, ३० असोज २०७८, ०६ : ३८
शनिबार, ३० असोज २०७८

काठमाडौँको कपनस्थित लसुनटारमा जस्ताको टहराले बनेको एउटा टोल छ । सो टोलमा म्यानमारबाट आएका रोहिङ्ग्या शरणार्थी बस्छन् । म्यानमारबाट बंगलादेश हुँदै नेपाल आएका मुस्लिम समुदायका रोहिङ्ग्या लामो समयदेखि त्यहाँ क्याम्प बनाएर बसिरहेका छन् । कपनस्थित राम मन्दिरमा पनि रोहिङ्ग्याको क्याम्प छ । 

बूढानीलकण्ठ, कालिमाटी र बालाजुमा पनि रोहिङ्ग्याहरु अस्थायी टहरा बनाएर बसिरहेका छन् । कतिपय रोहिङ्ग्याहरु कालिमाटी लगायतका ठाउँमा डेरा लिएर बसेका छन् । नेपालमा बस्ने रोहिङ्ग्याहरुले आफ्नो नेतासमेत चुनेका छन् । कपनको क्याम्पमा बस्ने अबुल उस्मान उनीहरूका ‘टोली नेता’ हुन् । कपनस्थित क्याम्पमा भेटिएका अबुलका अनुसार नेपालमा ४१९ जना रोहिङ्ग्या शरणार्थी छन् । 

‘क्याम्पमा बस्ने पुराना ३८० जना थिए’ रोहिङ्ग्याका नेता अबुलले रातोपाटीसँग भने, ‘कोरोना रोग शुरु भएपछि ३९ जना नयाँ थपिएका छन् । रोहिङ्ग्याकै रेकर्डमा नेपालमा ४१९ जना रोहिङ्ग्या क्याम्पमा बसिरहेका छन् । 

तर, नेपालमा कति रोहिङ्ग्या शरणार्थी छन् भन्नेबारे सकारसँग चाहिँ यकिन तथ्याङ्क छैन । खुल्ला सिमाना भएका कारण नेपालमा कति रोहिङ्ग्या आएर बसेका छन् भन्ने तथ्याङ्क नभएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणीन्द्रमणि पोखरेल बताउँछन् । रातोपाटीसँग कुरा गर्दै पोखरेलले भने, ‘लुकिछिपी बसेका शरणार्थीलाई हटाउन हामीले प्रहरीलाई निर्देशन गरेका छौँ ।’ 

लसुनटारस्थित च्याने खोलाको किनारमा क्याम्पमा बस्दै आएका रोहिङ्ग्यामध्ये केही मजदुरी गर्छन् । कतिपय रोहिङ्ग्याहरु माग्न हिँड्ने गरेको स्थानीको भनाइ छ । नेपालस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (युएनएचसीआर) ले कोरोना भाइरस सङ्क्रमण शुरु भएपछि रोहिङ्ग्याहरुलाई महिनाको १ हजार भत्ता दिन थालेको छ । २०७६ चैतदेखि युएनएचसीआरले मासिक रकम दिन थालेको रोहिङ्ग्या नेता अबुलले बताए । 

थपिँदैछन् रोहिङ्ग्या 

२०७४ मा तत्कालीन गृहमन्त्री जनार्दन शर्माले त्यतिवेलाका अईजीपी प्रकाश अर्याललाई फोन गरेर भनेका थिए–‘रोहिङ्ग्या धेरै नेपालमा प्रवेश गरेको खबर पाएको छु, नाकामा कडाई गर्नुस् है ।’ शर्माले त्यतिबेला रोहिङ्ग्यालाई जुन बाटो आएका हुन्, उतै पठाउन आदेश गरेका थिए । अहिले पनि सरकारको नीति त्यही नै छ । तर, रोहिङ्ग्याहरु रोकिएका छैनन् ।

पछिल्लोपटक रोहिङ्ग्या शरणार्थी बंगलादेशबाट विराटनगर हुँदै नेपाल प्रवेश गरेको प्रहरीले गरेको अनुसन्धानबाट थाहा भएको छ । म्यानमारमा सन् २०१७ को अगस्टमा भएको सैन्य हस्तक्षेपपछि लाखौं रोहिङ्ग्या छिमेकी बंगलादेशमा शरण लिन आए र उनीहरू त्यहीँबाट बिस्तारै नेपालमा प्रवेश गर्न थाले ।

म्यानमारबाट भागेर बंगलादेशस्थित कोक्स बजारको शरणार्थी शिविरमा बसेका १४ जना रोहिङ्ग्या भदौ १८ मा नेपाल आए । भदौ ३० मा प्रहरीले काठमाडौँको बौद्धबाट उनीहरूलाई पक्राउ गरेर अध्यागमन विभागमा बुझायो । प्रहरीले नियन्त्रणमा लिएका १४ जना बाहेक कोभिड–१९ सङ्क्रमण शुरु भएपछि ३९ जना रोहिङ्ग्या नेपाल आएर निर्धक्क बस्न थालिसकेका छन् । कपनको क्याम्पमा भेटिएका रोहिङ्ग्या नेता अबुल उस्मान भन्दै थिए, ‘नयाँ आएकाहरूलाई व्यवस्थापन गर्नुपर्ने छ, अलि व्यस्त छु ।’ 

रोहिङ्ग्या ल्याउन गिरोह सक्रिय

बौद्धबाट प्रहरीले पक्राउ गरेका १४ जना रोहिङ्ग्याले वयान दिए– ‘हामी पैसा तिरेर नेपाल आएका हौँ ।’ यसपछि प्रहरी नेपालमा रोहिङ्ग्या ल्याउने गिरोह खोज्न थाल्यो । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले असोज पहिलो साता नेपालमा रोहिङ्ग्या ल्याएको आरोपमा ३ जनालाई पक्राउ गरेको थियो । सिआइबीले पक्राउ गरेका ३ जनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ । 

रोहिङ्ग्या तस्करी गरेको अरोपमा प्रहरीले काठमाडौँको डल्लु बस्दै आएका बंगलादेशका आजमत अलि, कपन स्थित रोहिङ्ग्या क्याम्पमा बस्ने नुरुल अमिन उर्फ नुर र सोफिक आलमलाई पक्राउ गरेको छ ।  बंगलादेशका नागरिक आजमत अलिसँग मिलेर सन् २०१२ देखि काठमाडौंस्थित कपनको क्याम्पमा बसिरहेका नुरुल र सोफिकले नेपालमा पछिल्लो पटक ६ जना रोहिङ्ग्या ल्याएको थाहा भएको मानव बेचबिखन ब्युरोकी एसएसपी दुर्गा सिंहले रातोपाटीलाई बताइन् । 

नुरुलको समूहले रोहिङ्ग्या शरणार्थीलाई नेपालबाट ‘अमेरिका जाने भिसा लाग्छ’ भनेर नेपाल ल्याएको थाहा भएको छ । भुटानी शरणार्थी काठमाडौँबाट अमेरिका गएको हुनाले तस्कर समूहले रोहिङ्ग्यालाई सो सपना बेच्ने गरेका छन् । सन् २०२२ भित्रमा नेपालमा ७ हजार रोहिङ्या शरणार्थी ल्याउने तस्कर समूहको योजना रहेको यसबारे अनुसन्धान गरिरहेका ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

बंगलादेशको माइमेनसिंह घर भएका ३० वर्षीय आजमत करिब ९ महिनाअघि नेपाल आएको अनुसन्धानबाट थाहा भएको छ । डल्लुमा डेरा लिएर बस्न थालेका उनी टङ्केश्वरमा कपडा पसलमा काम गर्थे । म्यानमार घर भएका सोफिक आलम र नुरुल अमिन दाजुभाइ हुन् । नुरुल सन् २०१६ देखि काठमाडौँमा छन् । उनी पेन्टिङको काम गर्छन् । सोफिक सन् २०१२ मा बंगलादेशबाट भारतको बाटो हुँदै आएर कपनको क्याम्पमा बसिरहेका छन् । काठमाडौँमा उनी हार्डवेयरमा काम गर्छन् । 

तीनजनाको समूहले बंगलादेशको कोक्स बजारबाट २० वर्षीय युवा सहित उनको परिवारका ६ जनालाई विराटनगर हुँदै काठमाडौँ ल्याएको ब्युरोको अनुसन्धानबाट थाहा भएको छ । भदौ १८ मा रोहिङ्ग्यालाई लिन नुरुल अमिन विराटनगर पुगेका थिए ।

‘नुरुलको समूहले ६ जनाबाट २ लाख ५० हजार टाँका (बंगलादेशी मुद्रा) लिएको खुलेको छ’ ब्युरोकी एसएसपी दुर्गा सिंहले भनिन्–‘काठमाडौँमा ल्याएर महाराजगञ्ज स्थित युएनएचसिआरको कार्यालय जाने बाटो देखाएर सो समूह भागेको थियो ।’ 

नुरुलको समूहले रोहिङ्ग्या शरणार्थीलाई नेपालबाट ‘अमेरिका जाने भिसा लाग्छ’ भनेर नेपाल ल्याएको थाहा भएको छ । भुटानी शरणार्थी काठमाडौँबाट अमेरिका गएको हुनाले तस्कर समूहले रोहिङ्ग्यालाई सो सपना बेच्ने गरेका छन् । सन् २०२२ भित्रमा नेपालमा ७ हजार रोहिङ्या शरणार्थी ल्याउने तस्कर समूहको योजना रहेको यसबारे अनुसन्धान गरिरहेका ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘नेपालमा ठूलो सङ्ख्यामा रोहिङ्ग्या ल्याएपछि अमेरिका लैजाने वातावरण बनाउन सकिन्छ भन्ने तस्कर समूहको योजना देखिन्छ ।’

नेपालमा तिब्बती र भुटानीहरूले मात्रै कानुनी रूपमा शरणार्थीको हैसियत पाएका छन् । रोहिङ्ग्याले नेपालमा शरणार्थीको मान्यता पाएका छैनन् । भुटानी र तिब्बती शरणार्थीले नेपालमा शिक्षा, रोजगारी र व्यवसाय गर्ने अधिकार पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप