बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कान्दाहार हमलाको सुरक्षा परिषद र पाकिस्तानद्वारा निन्दा

शनिबार, ३० असोज २०७८, २० : ४२
शनिबार, ३० असोज २०७८

अफगानिस्तानको कान्दाहार शहरमा रहेको एक मस्जिदमा शुक्रबार भएको बम विस्फोटको पाकिस्तानले कडा शब्दमा निन्दा गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार साँझ नै एक विज्ञप्ति प्रकाशन गरी सो हमलाको निन्दा गरेको हो । नागरिकले आफ्नो धार्मिक आस्था व्यक्त गर्ने मस्जिद जस्तो स्थानमा गएर उनीहरुको हत्या गर्नु एक प्रकारको जघन्य अपराध भएको सो विज्ञप्तिमा जनाइएको छ । 

शुक्रबार अफगानिस्तानको कान्दाहारस्थित सिया मुस्लिम समुदायका नागरिकको उक्त मस्जिदमा प्रार्थनाका बेलामा भएको सो विस्फोटमा परी ३२ जनाको ज्यान गएको बताइएको छ । शुक्रबार अपराह्न एकै पटक तीन वटा विस्फोट भएको र ती विस्फोटमा परेर कम्तीमा ३२ जनाको ज्यान गएको तथा भने अरु कम्तीमा पनि ६८ जना घाइते भएका अफगानिस्तानको सुरक्षा निकायले जनाएको छ । 

साथै सो हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि निन्दा गरेको छ । सुरक्षा परिषदको शुक्रबारको बैठकले सो हमलाको निन्दा गर्दै यस्ता जघन्य अपराधमा संलग्नहरुलाई कडा भन्दा कडा कारबाही गर्न पनि माग गरेको छ ।शुक्रबार तीनजना हमलाकारीले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार एकजना आक्रमणकारीले सो मस्जिदको प्रवेशद्वारमा विस्फोट गराएको र अरु जना भने मस्जिदको भित्रै प्रवेश गरेर आक्रममण गरेका थिए । त्यस समयमा सो मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेकाले गर्दा धेरै नागरिको ज्यान गएको बताइएको  थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप