शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खप्तड : संसार भुलाउने सुन्दर भूमि, तस्बिरमा हेरौँ

आइतबार, ३१ असोज २०७८, १० : ३७
आइतबार, ३१ असोज २०७८

बिदाको समय सदुपयोग गर्न कतै जान चाहनुहुन्छ भने सुदूरपश्चिम प्रदेशका धेरै पर्यटकीय गन्तव्य मध्य एक उत्कृष्ट स्थान हो खप्तड । यो बाजुरा, डोटी, बझाङ र अछाम जिल्लाको संगम भूमिमा पर्दछ । यस ठाउँको उचाइ १,२६२ देखि ३,२७६ मिटरसम्म छ ।

खप्तडमा त्रिवेणीधाम, सहस्त्रलिंग, केदारढुँगा, खप्तड बाबा आश्रमलगायतका धार्मिक सम्पदा छन् । ठूल्ठूला पाटन, दह, जीवजन्तु र हिमालको दृश्यले त्यहाँको सौन्दर्य बढाएको छ । २०४३ असार ९ गते सरकारले खप्तड राष्ट्रिय निकुञ्ज घोषणा गरेको थियो । यसको क्षेत्रफल २२५ वर्ग किमी छ । निकुञ्जले बाजुरा, डोटी, बझाङ र अछामको भूमि समेटेको छ ।

जेठ–असारमा जंगली फूल, असोज–कात्तिकमा हिमाल, पुस–माघमा हिउँ र चैत–वैशाखमा गुराँसको उज्यालो छाउँछ खप्तडमा । त्यस क्षेत्रबाट अपि शैपाल मात्रै होइन, केही भारतीय हिमाल पनि देखिन्छ ।   

कसरी पुग्ने ?

खप्तड जान विभिन्न स्थानबाट बाटो रहेका छन् । काठमाडौँ–धनगढी ६५० किमी बस यात्रा गर्नुपर्छ ।  धनगढी–सिलगढी २०० किमी अर्को यात्रा तय गर्नु पर्दछ । डोटी सदरमुकाम सिलगढीबाट पदयात्रामा पहिलो बास झिग्राना र झिग्रानाबाट ८ घण्टा पदयात्रामा निकुञ्जको मुख्यालय पुगिन्छ ।

अर्को बाटो बझाङको तैमुलबाट दारु गाउँ हुँदै पनि खप्तडको यात्रा गर्न सकिन्छ । तैमुलबाट झोलुङ्गे पुलबाट नदि तरेर पारी जाने । त्यसपछि स्थानीय स्तरमा चल्ने जिप चढेर दारु गाउँ पुग्ने । दारु गाउँबाट करिब ७ घण्टा हिँडेपछि खप्तड पुगिन्छ ।

माथि बास बस्न सामान्य होटल रहेको छ । जसको क्षमता बढीमा १५ जनाको भएकाले पहिला नै खबर गरेर जानु उपयुक्त हुन्छ ।

बाटोमा जाँदा खाना खुवाउने होमस्टे र दारु गाउँबाट ३ घण्टाको दुरीमा सैनिक चेकपोष्ट नजिकै एक होटल रहेको छ । स्थानीय मार्सी चामलको भात, साग, मुला, काँक्रो, टिमुर हालेको अचार सहितको मिठो खाना खान पाइन्छ । बाटोमा हिँड्दा उकालो भएकाले पानी बोक्नु पर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप