ad
विचार

एउटा सांसद टीभीमा किन रुन्छ ?

person explore access_timeकात्तिक १, २०७८ chat_bubble_outline0

मन्त्री छनोटको विषयलाई लिएर अहिले जनता समाजवादी पार्टी ( जसपा) भित्र केही असन्तुष्टि देखिएको छ । जसपाभिको यो असन्तुष्टिले कुन रुप लिन्छ, अहिले नै भन्न सकिँदैन । अहिले सबैजना चाडपर्वको मुडमा छन् । तर, मलाई यसबाट पार्टी कसरी चलाउने भन्नेबारेमा अलिकति बहस अगाडि बढ्छ जस्तो लाग्छ । पार्टीलाई व्यवस्थित रुपमा अगाडि लैजानका लागि यो बहस सुरु भएको छ । 


अध्यक्ष उपेन्द्र यादवलाई हामीले बैठकमा के भनेका थियौं भने तपाई आफैं नगएपछि सरकारमा शीर्षनेतालाई नपठाऔँ । चुनावलाई केन्द्रित गरेर टीम पठाऔँ । प्रत्यक्ष निर्वाचन जितेका र परिणाम निकाल्न सक्ने साथीहरुलाई प्राथमिकता दिऔं । जातीय र भौगोलिक समावेशी पनि मिलाएर पठाऔँ ।



जस्तो– पाँच नम्बर प्रदेशमा अमृता अग्रहरी र इस्तियाक राई थिए । तर, पाँच नम्बरबाट कोही पनि परेनन् । उनीहरुमध्ये एकजनालाई दिएको भए पाँच नम्बरको प्रतिनिधित्व हुने थियो । त्यस्तै मन्त्रीबारे अशोक राई र बाबुराम भट्टराईसमेत तीनजनाले निर्णय गर्ने भनिएको थियो, अन्तिममा अध्यक्ष (उपेन्द्र) ले आफ्नै ढंगले निर्णय गरिदिनुभयो ।



अब पार्टीभित्र एकल हैन, कलेक्टिभ नेतृत्व कसरी विकास हुने ? कमिटीगत प्रणालीमा कसरी जाने ? अनि निर्णयप्रति सबैलाई जवाफदेही कसरी बनाउने भन्ने कोणबाट बहस हुनुपर्छ भन्ने मलाई लाग्छ । केही साथीहरु अहिले आक्रोशित हुनुहुन्छ । सबैलाई लागेको थियो कि मन्त्री बनौंला । तर, २१ जनामध्ये चारजना मात्रै मन्त्री बन्ने हो । त्यसैले साथीहरु अलिकति आक्रोशित छन् ।



मलाई कुनै नेता विशेषमा होइन कि अहिलेको जुन पोलिटिकल डिस्कोर्ष छ, यो नै गलत दिशामा गइरहेको छ जस्तो लाग्छ । समग्र राजनीतिमा हामी एउटा गल्तीलाई लुकाउन अर्को गल्ती गर्दै गइरहेका छौं । अहिले कुनै पार्टीको मूल ध्येय देश बनाउने रहेन जस्तो लाग्छ मलाई । नेताहरु लोकतन्त्रको कुरा गर्ने, तर सबै दलको पार्टी अध्यक्ष भनेपछि ऊ कम्पनीको सीईओजस्तो ! यो रुपमा विकास भएको छ । यो समग्र राष्ट्रिय राजनीतिको समस्या हो ।



अहिले सबैभन्दा उदेकलाग्दो विषय के भयो भने पार्टी अध्यक्षहरु आफू राजा जस्तो हुने र अरुले उनको कृपामा बाँच्नुपर्ने जस्तो भएको छ । अहिले केपी ओलीलाई देवत्वकरण गरिएको छ । हिजोसम्म नेपाली काँग्रेसचाहिँ अलिकति मिलनसार जस्तो, विपक्षीलाई पनि ठाउँ दिने, अरुका कुराहरु सुन्ने जस्तो देखिन्थ्यो । तर, देउवाले योपालि रामचन्द्र गुटका नेतालाई पेलेरै जाने नीति लिएको देखिन्छ ।



तथापि, काँग्रेस अहिले पनि अलिकति मेलमिलापवादी छ । ल, यो रामचन्द्रजीको मान्छे भनेर भागबण्डा दिन्छ । एमालेमा त  ओलीको विरोध गर्नेबित्तिकै त्यहाँ टिक्न पाइँदैन । माधव नेपालजस्तो मान्छेले बाहिरिनुपर्यो या अरुले उनको दास बनेर बस्नुपर्ने अवस्था छ ।

यो मनोविज्ञान म सबै पार्टीहरुभित्र देख्छु । हाम्रै पार्टीभित्र पनि उपेन्द्रजीको स्तुतीगान या उहाँको आशिर्वाद भएन भने त्यहाँ केही अवसर पाउँदैन । यो रोग माओवादीमा पनि छ । प्रचण्डजी अरुभन्दा अलिकति उदार त देखिन्छन्, तर पछिल्लो अभिव्यक्तिहरु त्यस्तै आइरहेका छन् । कोही पनि मेरो उत्तराधिकारी बन्न लायक छैनन्, मन्त्री बन्न सबैजना लालायित छन्, सबै बिग्रिएका हुन् भन्ने अभिव्यक्तिहरु बारम्बार प्रचण्डबाट आइरहेका छन् । यसले समग्रतामा के देखाउँछ भने हामीचाहिँ परिवर्तनको नाममा कता गइरहेका छौं ?

हामी डेमोक्रेसी भन्छौं । कार्यपालिका र न्यायपालिकाको सम्बन्ध पृथक हुनुपर्ने हो । तर, आजको अदालतभन्दा त पञ्चायतको अदालत बढी स्वतन्त्र थियो जस्तो लाग्छ । आज संसारमा कहीँ यस्तो हुन्छ, जहाँ न्यायालयको प्रधानन्यायाधीशले भागवण्डा लिएको छ ? तर, यो पनि हाम्रा लागि पाच्य भएको छ । हुन त मिडियाले कुरा उठाएपछि सरकार ब्याक भयो । तर, ब्याक हुनु ठूलो कुरा होइन, यो सोचियो कसरी ? कसरी आयो ? न्यायालयको कोटाबाट मन्त्री बनाउनुपर्ने कारण के हो ? यसबारेमा गहिरो अध्ययन गर्नुपर्छ ।

हामी यति साह्रो भासियौं कि यसको नैतिक जिम्मेवारी कसले लिने ? गठबन्धन दलहरुले लिने कि नलिने ? या सरकारले लिने कि नलिने ? या अहिले न्यायालयको नेतृत्व गरिरहेको व्यक्तिले लिने कि नलिने ? पार्टीभित्र जुन छनोटहरु भइरहेका छन्, त्यो के आधारमा भइरहेको छ ? त्यो त सार्वजनिकरुपमा भन्न सक्नुपर्यो नि । डेमोक्रेसीमा नेतृत्वमा पारदर्शिता र जिम्मेवारीपन हुनुपर्यो नि ।

अहिले लिडरप्रतिको जुन आक्रोश छ, मैले समग्रमा के देख्छु भने पार्टीका नेताहरुले कार्यकर्ता बनाइरहेका छैनन्, उनीहरु कार्यकर्तालाई दास बनाउँछन् । पार्टीभित्र दास उत्पादन होस् र दास बनेर बसोस् भन्ने मनोविज्ञान लिडरहरुमा देखा परिरहेको छ । र, त्यसैको प्रतिफल अहिले पार्टीभित्र देखा परिरहेको छ ।

लाखौं जनताको प्रतिनिधिका रुपमा रहेको सांसद टीभीमा गएर क्वाँ–क्वाँ रुन्छ । मेटमणि चौधरी आज रोइरहेका छन् । लाखौं जनताको भविष्य बनाउँछु भन्दै निर्वाचित भएर काठमाडौं आएका जनप्रतिनिधि यति साह्रो निरीह हुनुको कारण के हो ? मलाई लाग्छ यो बहसको विषय हो ।  

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।