म्यानमारका १३ सय कैदीलाई रिहा गर्न आदेश
म्यानमारको कारागारमा रहेका १३ सयभन्दा बढी कैदीहरूलाई रिहा गर्न सोमबार आदेश दिइएको छ । देशको राज्य प्रशासन परिषद्ले सोमबार एक हजार ३१६ जना कैदीलाई कैदमुक्त गर्न आदेश दिएको समाचारमा जनाइएको छ ।
मानव अधिकार र उनीहरूलाई लगाइएको आरोप तथा वस्तुस्थितिलाई दृष्टिगत गरी उनीहरूलाई कारागार राखिरहन नमिल्ने आदेश परिषद्ले दिएको हो । कारागारमा रहेकामध्ये अरू चार हजार ३२० जनाको बारेमा भने देशका विभिन्न अदालतमा कानुनी प्रक्रिया चलिरहेको छ ।
गत फेबु्रअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी ‘कु’ गरेको सैनिक सरकारको विरोध गर्दैै प्रदर्शन गरेको आरोपमा जेलमा परेकाहरू रिहा हुन थालेका छन् । सरकारी अधिकारीहरूले जेल परेकामध्ये ५ हजारभन्दा बढी व्यक्तिलाई रिहा गरिने तयारी भइरहेको जनाएका छन् ।
अक्टोबरको अन्त्यमा थन्डिथयुत पर्वको उपलक्ष्यमा ५ हजार ६३६ कैदीलाई रिहा गरिने सरकार प्रमुख मिन आङ ह्लाइनले बताएका हुन् । क्षेत्रीय शिखर सम्मेलनको क्रममा म्यानमारमा हाल जारी सङ्कटलाई कम गर्ने आफ्नो सरकारको प्रतिबद्धतानुसार म्यानमार सैन्य सरकार प्रमुखको उक्त घोषणा आएको बताइएको छ ।
प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर सेनाले सत्ता लिएपछि त्यसको विश्वभरिबाट विरोध भएको थियो भने देशभित्र आन्दोलन भएको थियो । आन्दोलन र राजनीतिक सङ्कटका कारण देशमा अराजकता छाएको छ ।
आन्दोलनमा संलग्न व्यक्तिहरूलाई सैनिक सरकारले गरेको कारबाहीको क्रममा एक हजार १०० भन्दा बढी नागरिक मारिनुको साथै ८ हजारभन्दा बढी गिरफ्तार भएको एक मानव अधिकारवादी समूहले जनाएको छ ।
अझै पनि सात हजार ३०० भन्दा बढी प्रदर्शनकारी देशभरका जेलहरूमा रहेका राजनीतिक कैदीहरूको सहायतासम्बन्धी एक संस्थाका अधिकारीहरूले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा
-
नवनियुक्त महालेखापरीक्षक रायाले लिए शपथ