शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा अविरल वर्षाले डुबान र बाढी

मङ्गलबार, ०२ कात्तिक २०७८, १० : ५०
मङ्गलबार, ०२ कात्तिक २०७८

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा बाढीको जोखिम बढेको छ भने कयौं क्षेत्रमा धान बाली डुबेको छ । निरन्तर वर्षाका कारण डुबानमा परी कैलाली र कञ्चनपुरका किसानले खेतबारीमा लगाएको तरकारी बाली र धान नष्ट भएको हो ।

धनगढी उपमहानगरपालिकाका केही क्षेत्र डुबानमा परेका छन् । धनगढी बजार क्षेत्रको एलएन चोक, विशालनगर, पार्क मोड, राजपुर क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले रातोपाटीलाई जानकारी दिए ।

कैलालीको खुटिया, मोहना, कर्णाली नदीमा पानीले खतराको तह पार गरेको छ तर उद्धार गर्नुपर्ने सूचना नआएको बिष्टले बताए । पहाडी जिल्ला जोड्ने चुरे गाउँपालिका–३ सल्लेरी भासु भिर नजिक पहिरो जाँदा बाटो अवरुद्ध भएको र पहिरो हटाउने प्रयास भइरहेको जानकारीसमेत उनले दिए ।

त्यस्तै महाकाली नदीमा आएको बाढीका कारण भिमदत्त नगरपालिका–९ को खल्ला, वडा नम्बर १२ को ऐरी घाट, १३ को बढैपुर र पिपरैयाका २ सय घर डुबानमा परेको ईलाका प्रहरी कार्यालय गड्डा चौकीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जीवन गुरुङले जानकारी दिए ।

सो क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटेका छन् । दार्चुला क्षेत्रमा अबिरल पानी परेकाले महाकाली नदीको बहाब बढेको भन्दै सतर्कता अपनाउन कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले भने वर्षाका कारण भएको क्षतिको विवरण नआइसकेको जनाएको छ ।

धान बाली नष्ट

लगातार वर्षाका कारण कैलाली र कञ्चनपुरका किसानलाई ठूलो क्षति भएको छ । भर्खर लगाएको हिउँदे तरकारी बालीका साथै खेतबारीमा काटेर भित्र्याउन लागेको धान डुब्दा किसानलाई ठूलो क्षति भएको हो । धनगढी उपमहानगरपालिका–५ का किसान खगीराज चौधरीले वर्षाका कारण आफ्नो एक बिगाहामा क्षेत्रफलमा लगाएको धान नष्ट भएको बताए ।

टीकापुर नगरपालिकाको वडा नं ७, ८ र ९ का किसानको खेतमै धान डुब्दा क्षति भएको छ । सबैभन्दा बढी क्षति वडा नं. ८ का किसानलाई भएको धनसिंहपुर कृषि सहकारी संस्थाका अध्यक्ष धनसिंह साउदले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार २५ प्रतिशत किसानले मात्र धान भित्र्याउन पाएका छन् भने ७५ प्रतिशत किसानका धान बाली खेतमै डुबेर नष्ट भएको छ । टीकापुर नगरपालिका–८ स्थित बनगाउँबाट कर्णालीको पानी खेतबारीमा पसेकाले पनि बढी क्षति भएको उनको भनाइ छ । उनले आफ्नै ९ बिगाहा क्षेत्रफलमा पाकेको धानसमेत भित्र्याउन नपाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप