शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोले घर भत्किँदा एक जनाको मृत्यु, दुई सय बढी नागरिकलाई सुरक्षित स्थानमा सारियो

कर्णाली राजमार्ग तीन ठाउँमा अवरुद्ध
मङ्गलबार, ०२ कात्तिक २०७८, १२ : ३०
मङ्गलबार, ०२ कात्तिक २०७८

आइतबार बेलुकीदेखिको निरन्तर वर्षाका कारण कर्णाली प्रदेशका विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार वर्षाका कारण कर्णाली राजमार्गको ठाउँठाउँमा पहिरो बाटो अवरुद्ध हुनुका साथै कालिकोटमा घर भत्किएर एक जनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले रातोपाटीलाई दिएको जानकारी अनुसार कालिकोटको महावै गाउँपालिका–७ राम्नी बस्ने बिष्णुलाल अधिकारीको घर भत्किएको छ । मंगलबार बिहान ५ः ३० बजेको समयमा घरमाथिबाट पहिरो खसेर घर भत्किँदा उनकी १८ वर्षकी छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । उनकै ११ वर्षकी छोरी यूनिषा अधिकारीको दाहिने खुट्टा च्यापिएको अवस्थामा प्रहरी र स्थानीयको सक्रियतामा सकुशल उद्धार गरिएको श्रेष्ठले जानकारी दिए ।

अन्य पाँच वटा घर पहिरोको जोखिममा रहेको उनले बताए । उनका अनुसार राम्नी बस्तीका पहिरोको जोखिममा रहेका झण्डै २ सय बढी नागरिकलाई राम्नी मावि र त्यहाँको स्वास्थ्य चौकीमा सारिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र नेपाल रेडक्रसले विस्थापित नागरिकका लागि खाद्यान्न लगायत आवश्यक राहत सामग्री लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

कर्णाली राजमार्ग तीन ठाउँमा अवरुद्ध

श्रेष्ठका अनुसार कर्णाली राजमार्ग अन्तर्गत खड्कीजिउला, घट्टे खोला र साउनी खोलीमा पहिरोले सडक अवरुद्ध भएको छ । राजमार्ग खुलाउनका लागि डोजर परिचालनका लागि पहल भइरहेको प्रहरीले जनाएका छन् । यातायात अवरुद्ध हुँदा सयौं यात्री अलपत्र परेका छन् । दसैँ मनाएर प्रदेश राजधानी वीरेन्द्रनगर फर्किने र कालिकोट, जुम्ला जाने यात्री बीचबाटोमा अलपत्र परेका हुन् ।

कर्णाली नदीले फेरी बगायो

प्रहरीका अनुसार अविरल वर्षाका कारण कर्णाली नदीको बहाव बढेपछि कालिकोटको जितेगडामा रहेको एउटा फेरी बगाएको छ । कर्णाली नदीमा वारपार गर्न राखिएको फेरी मंगलबार बिहान बगाएको प्रदेश प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उक्त फेरी कर्णाली करिडोरमा चल्ने यातायातका साधनहरु कर्णाली पारी जान र वारी ल्याउन कर्णाली नदीमा सञ्चालनमा ल्याइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप