शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दसैँमा अपराध : कहाँ के भयो ?

मङ्गलबार, ०२ कात्तिक २०७८, १५ : ४३
मङ्गलबार, ०२ कात्तिक २०७८

दसैँको अवधिमा विभिन्न अपराधका घटना भएका छन् । राँगा काटेर मासु भाग लगाउँदा भएको विवादमा सिन्धुलीमा फूलपातीको दिन २१ वर्षीय युवकको हत्या भयो । कमलामाई नगरपालिका–११ छतिवनका २१ वर्षीय बिक्रम लामगादेलाई दुईजना मिलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । हत्या आरोपमा ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगरलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीहरुले विक्रमलाई दाउराको चिर्पटले हानेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ  । 

यसैगरी फूलपातीकै दिन सल्यानको बनगार कुभिण्डे नगरपालिका–१० मा बुवाले छोराको हत्या गरे । ३३ वर्षीय छोरा रुपलाल कवर मगरको हत्या आरोपमा उनका बुवा निम बहादुर कवरलाई प्रहरीले पक्राउ गरेको छ ।  

धनुषामा अष्टमीको दिन शौच गर्न निस्केकी सुकमरिया देवीलाई ‘बोक्सी आरोप’मा यातना दिईयो, मलमुत्र खुवाइयो । टुनामुना गरेको भन्दै मलमुत्र खुवाएको आरोपमा प्रहरीले स्थानिय सिकन्दर महतो, पुरनीदेवी महतो, प्रमिलादेवी महतो र अनिल महतोलाई पक्रेर अनुसन्धान गरिरहेको छ । आरोपीहरु एउटै परिवारका सदस्य हुन् । 

रसुवामा घरायसी बिबाद हुँद नौकुण्ड गाउँपालिका घर भएकी ६५ वर्षीय कान्छीमाया गमदानको कुटेर हत्या गरिएको छ । असोज ३० मा उनको हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा उनका पति ७८ वर्षीय बुद्ध बहादुर गमदानलाई जिल्ला प्रहरी कार्यालय रसुवाले पक्राउ गरेको छ । 

असोज ३० मा सर्लाहीको बलरा नगरपालिका घर भएका २४ वर्षीय नवनित झालाई प्रहरीले पेस्तोल सहित पक्राउ गरेको थियो । फेसवुकमा कमेन्ट गरेको विषयमा बिबाद हुँदा बलरा बस्ने बिनय झालाई नवनितले पेस्तोल ताकेका थिए । घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुसन्धान गरिरहेको छ । 

दसैँ अवधिमा जुवा, तास पनि रोकिएन । काठमाडौं उपत्यका र बाहिर जिल्लाबाट प्रहरीले दसैँको अवधिमा उल्लेख्य संख्यामा जुवाडेहरुलाई पक्राउ गरेको थियो । असोज ३० मा काठमाडौंको गोकर्णेश्वर नगरपालिका स्थित नयाबबस्तीबाट असल बल सहित ११ जना जुवाडेलाई महानगरीय प्रहरी वृत बौद्धले पक्राउ गरेको थियो । 

कैलालीको धनगढी उपमहानगरपालिका–७ घर भएका २५ वर्षीय रमेश चौधरीको हत्या गरेको आरोपमा प्रहरीले उनकी पत्नी अमृता चौधरी र अर्का एकजनालाई पक्राउ गरेको छ । असोज ३० मा अमृतासँग मिलेर रमेशका हत्यामा संलग्न २९ वर्षीय विष्णु चौधरीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । रमेशको शव खुटिया नदि नजिक फेला परेको थियो । हत्यामा संलग्न आरोपीहरुको बिचमा विवाहेत्तर सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।​

पूजा गर्ने आवाज उठाउँदा हत्या 
उता चितवनको भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको २८ असोजमा हत्या गरिएको छ । ‘दुर्गा मन्दिरमा पूजा गर्न पाउनुपर्छ’ भनेर आवाज उठाउँमा स्थानीयले कुटेर उनको हत्या गरेको पिडित पक्षले जिकिर गरेका छन् । 
भीमबहादुरले दलितले पनि मन्दिरमा पूजा गर्न पाउनुपर्ने माग गरेका थिए । भीमबहादुरको हत्यामा स्थानिय सीताराम बस्नेत सहितको हात रहेको अधिकारकर्मीहरूले दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप