शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कपिलवस्तुमा असोज महिनामा ४४ अपराधका घटना दर्ता

प्रहरी कारबाहीबाट ३ करोड राजस्व संकलन
मङ्गलबार, ०२ कात्तिक २०७८, १७ : २७
मङ्गलबार, ०२ कात्तिक २०७८

कपिलवस्तुमा असोज महिनामा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयमा ४४ वटा अपराधका घटना दर्ता भएका छन् । २१ वटा मुद्दाका आरोपीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान पुरा गरेको छ । २३ वटा मुद्दा अनुसन्धानको प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता (डिएसपी) धर्मराज भण्डारीले रातोपाटीलाई बताए ।

असोजमा कपिलवस्तु प्रहरीले पेन्डिङमा रहेका पुराना ३९ वटा मुद्दा फर्स्योट गरेको छ । प्रहरीको सक्रियताका कारण कपिलवस्तुमा असोजमा ३ करोड १ लाख राजस्व संकलन गरिएको छ । प्रहरीले भदौ महिनामा ८० लाख राजस्व संकलन गरेको थियो । चोरी तस्करी नियन्त्रण गर्न कार्ययोजना बनाएर कपिलवस्तु प्रहरीले अपरेशन सञ्चालन गरेको बताइएको छ । गत वर्ष असोजमा कपिलवस्तु प्रहरीले ६६ लाख ६८ हजार राजस्व संकलन गरेका थियो ।

असोजमा ४८ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । तीमध्ये २० वर्षदेखि फरार रहेका ३ जनालाई पक्राउ गरिएको छ ।

७ महिनामा बालकको उद्धार
कपिलवस्तुबाट हराएका १४ वर्षीय बालकलाई प्रहरीले ७ महिनामा उद्दार गरेर परिवारको जिम्मा लगाएको छ । २०७७ फागुन २९ देखी हराएका कपिलवस्तु नगरपालिका–३ घर भएका रामबिक्रम तेलीको १४ वर्षीय छोरा काशीराम तेलीलाई भारतको मुम्बईबाट उद्धार गरिएको डिएसपी भण्डारीले रातोपाटीलाई बताए ।

‘संयुक्त नेपाली महासंघ मुम्बई’ सँग समन्वय गरेर असोज २६ मा बालकलाई कपिलवस्तु ल्याएर प्रहरीले परिवारको जिम्मा लगाएको थियो । बुद्धभूमि नगरपालिका–९ धमौलीका जीवनप्रसाद भुसाललाई अवैध हुन्डीको २२ लाख ९१ हजारसहित पक्राउ गरेको थियो । २२ वर्षीय भुसाललाई असोज १७ मा पक्राउ गरिएको थियो ।

लागुऔषध खैरो हेरोइन कारोबार गर्ने ३ जनालाई प्रहरीले असोज महिनामा पक्राउ गरेको थियो । ईलाका प्रहरी कार्यालय पिपराको टोलीले असोज ६ मा झापा घर भएका सलिम थापामगर र मोरङ घर भएका विनोद लामालाई १३ दशमलव ९३ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो ।

ईलाका प्रहरी कार्यालय पकडीका इन्सपेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले असोज २२ मा शुद्धोधन गाउँपालिका घर भएका नियाज महमद मुसलमानलाई ११ दशमलव ५ सय ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो । असोज महिनामा कपिलवस्तु प्रहरीले अपराधमा संलग्न ३९ जना आरोपीलाई पक्राउ गरेको थियो । ८ जना फरार भएको र उनीहरुको खोजी भइरहेको डिएसपी धर्मराज भण्डारीले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप