शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कतारमा हुने विश्वकप स्वस्थ बनाउने घोषणा

मङ्गलबार, ०२ कात्तिक २०७८, १७ : ३७
मङ्गलबार, ०२ कात्तिक २०७८

कतारमा हुने आगामी विश्वकपलाई जनस्वास्थ्यका दृष्टिकोणबाट स्वस्थ खेल समारोह बनाउने घोषणा भएको छ । विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा कतार सरकारका प्रतिनिधि र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुले संयुक्तरुपमा ‘स्वस्थ विश्वकप २०२२’ को घोषणा गरेका हुन् ।

जेनेभामा आयोजित घोषणासभामा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.तेड्रेस अदानोम गेब्रेयसुस, कतारका जनस्वास्थ्य मन्त्री डा.हनान मोहम्मद अल कुवारी, कतारी सुप्रिम कमिटी तथा लेगसीका महासचिव हसन अल–थवाडी, अन्तर्राष्ट्रिय फुटबल संघ(फिफा) का अध्यक्ष जीआनी इन्फान्टिनो र विश्व स्वास्थ्य संगठन मध्यपूर्वी क्षेत्रका संयोजक डा.अहमद विन सलेम अल–मन्धारीको उपस्थिति थियो ।

कतारले आगामी वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म विश्वकै सर्वाधिक लोकप्रिय खेलकुद प्रतियोगिता विश्वकप फुटबलको आयोजना गर्दैछ । त्यसैगरी सन् २०३० मा कतारले नै एशियन गेम आयोजना गर्दैछ । कतार सरकार तथा विश्वकप फुटबल प्रतियोगिताका आयोजक संस्था सुप्रिम कमिटी तथा लेगसीले अन्तर्राष्ट्रिय फुटबल संघ (फिफा) सँगको सहकार्यमा सबै कृयाकलापलाई जनस्वास्थ्यका दृष्टिकोणमा उपयुक्त बनाउन काम गर्ने घोषणासभामा प्रतिवद्धता जनाइएको छ । साथै स्वस्थ्य जीवनयापनका विषयवस्तुहरूको विज्ञापनका माध्यमबाट बुझाउने काम पनि गरिने बताइएको छ ।

यसबाहेक विश्वकप फुटबल प्रतियोगिता आयोजना हुने समय, आगामी वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्मको अवधिभर स्वास्थ्य सुरक्षा र शारिरिक तथा मानसिक स्वास्थ्यका बारेमा समेत जानकारी गराइने कार्यक्रम छन् । यो कार्यक्रम आगामी दिनमा खेलकुद सम्बन्धी ठूला कार्यक्रमहरूको आयोजना गर्दा स्वास्थ्यसँग सम्बन्धित विषयमा पुर्याउन सकिने सुरक्षा तथा सावधानीका विषयमा पहिले नै जानकारी लिन उपयुक्त हुने विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले बताएका छन् ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.तेड्रेस अदानोम गेब्रेयसुसले कतार सरकारले विश्वकप फुटबल प्रतियोगिताको समयमा जनस्वास्थ्यको विषयमा मध्यनजर गर्दै चालेको कदमलाई स्वीकार गर्दै कतार सरकारलाई धन्यवाद दिए । उनले भने, ‘विश्व स्वास्थ्य संगठन कतार सरकारसँग जनस्वास्थ्यको विषयमा सहकार्य गर्न प्रतिवद्ध छ ।  विश्वकप फुटबल सँगसँगै जनस्वास्थ्यका विषयमा बुझाउन पनि यी कार्यक्रम सहयोगी सावित हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

महानिर्देशक डा. तेड्रेसले कोरोना महामारीकै बीचमा शुरू हुन लागेको विश्वकप फुटबलले जनस्वास्थ्यका क्षेत्रमा नयाँ सम्भावनाको बाटो देखाउनेमा ढुक्क भएको तथा विश्वले नै यस महामारीबाट छुटकारा पाउने विश्वास व्यक्त गरे ।

कतारका जनस्वास्थ्य मन्त्री डा.हनान मोहम्मद अल कुवारीले मध्यपूर्वमा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने पहिलो राज्य कतार भएकोमा गौरवान्वित भएको बताए । उनले भने, ‘हाम्रो चाहना अन्तर्राष्ट्रिय तथा  लोकप्रिय खेल प्रतियोगिता आयोजना गर्ने मात्र नभएर कुनै उच्चस्तरीय खेलकुद प्रतियोगितालाई स्थापना नै गर्नु हो, त्यसमा जनस्वास्थ्यको विषय जोडिएर आउने भएकाले हामी विश्व स्वास्थ्य संगठनसँग सहकार्य गर्दै अघि बढ्न चाहन्छौं । हामी आगामी दिनमा फिफा तथा अन्य अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा यस्तै ठूला खेलकुदका कार्यक्रम आयोजना गर्दै जानेछौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप