शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अण्डा फुटाउने बित्तिकै यो रङ देखिए सावधान हुनुहोस्, बिरामी पार्ने जोखिम

बुधबार, ०३ कात्तिक २०७८, ११ : १३
बुधबार, ०३ कात्तिक २०७८

स्वाद र पौष्टिक तत्वले भरपुर अण्डा प्रोटिनको सबैभन्दा राम्रो स्रोत मानिन्छ । तर यो खानुभन्दा अघि यदि केही कुरामा ध्यान नदिने हो भने यसले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ । विशेषज्ञका अनुसार केही अण्डामा पाइने एउटा खतरनाक ब्याक्टेरियाले मानिसलाई गम्भीर रुपमा बिरामी बनाउन सक्छ । त्यसैले यसलाई पकाउनु र उसिन्नु अघि यसको राम्रोसँग परीक्षण गर्नुपर्छ ।

यूएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (यूएसडीए) ले ब्याक्टेरिया भएको अण्डाको पहिचान गर्ने तरिकाबारे जानकारी दिएको छ । यूएसडीएका अनुसार यदि अण्डाको सेता भागमा तपाईंले गुलाबी रङ देख्नुभयो भने यो तुरुन्त फ्याँक्नुहोस् । अण्डाको रङमा सामान्य परिवर्तन स्यूडोमोनास ब्याक्टेरियाको संकेत हुनसक्छ । यो ब्याक्टेरियाद्वारा संक्रमित अण्डा खाँदा तपाईंलाई फूड पोइजनिङ वा कुनै गम्भीर समस्या निम्त्याउन सक्छ ।

विशेषज्ञका अनुसार यो ब्याक्टेरियाले अण्डामा हल्का हरियो र पानीमा घुलनशील द्रव्यको निर्माण गर्दछ । यदि तपाईंले अण्डाको सेता भागमा कुनै प्रकारको परिवर्तन देख्नुभयो भने यो खाने गल्ती कुनै पनि हालतमा नगर्नुहोस् । एक अनुसन्धानले पनि अण्डामा गुलाबी वा इन्द्रधनुषी रङ देखा परे यसलाई फ्याँकिदिन सल्लाह दिन्छ । यस्ता खालका अण्डा स्यूडोमोनास ब्याक्टेरियाद्वारा संक्रमित हुनसक्छ । रङबाहेक पनि तपाईं यस्ता अण्डाको भिन्न तरिकाले पहिचान गर्न सक्नुहुन्छ ।

पोल्ट्री साइन्समा प्रकाशित एक शोधका अनुसार खराब अण्डामा केही अमिलो, बासी वा फल जस्तो गन्ध आउँछ । यस्ता अण्डाको नानीमा सेतो र रेशादार पत्र चढ्ने गर्छ जुन पछि हल्का खैरो हुन थाल्छ । यद्यपि, अण्डाको सेतो भागमा देखिने परिवर्तन सधैं नराम्रो नै हो भन्ने संकेत होइन । यूएसडीएका अनुसार थुप्रै पटक अण्डाको नानीमा देखिने परिवर्तन कुखुराको खान्कीमा पनि निर्भर हुन्छ । फूड अथोरिटीका विशेषज्ञका अनुसार यदि कुखुराले पहेँलो र सुन्तला रङका खानेकुरा खाइरहेको छ भने अण्डाको नानी गाढा पहेँलो हुने गर्छ ।

कति तापक्रममा राख्ने अण्डा ?

विशेषज्ञका अनुसार घरमा अण्डालाई त्यहि कार्टुनमा राख्नुपर्छ जसलाई पसलेले दिने गर्छन् । यसलाई फ्रिजमा राख्नेबेला पनि केही कुरालाई ध्यानमा राख्नुपर्छ । फ्रिजमा अण्डालाई ४५ डिग्री फरेनहाइट वा त्योभन्दा कम तापक्रममा राख्नुपर्छ । यसो गर्दा अण्डा खराब हुने जोखिम निकै हदसम्म कम हुने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप