बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेमौसमी वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरिँदै

बुधबार, ०३ कात्तिक २०७८, १२ : ३१
बुधबार, ०३ कात्तिक २०७८

बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आइतबारदेखि निरन्तर रुपमा परिरहेको बेमौसमी वर्षाले कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्न थालेको छ । अविरल वर्षाका कारण प्रदेशको चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुली लगायतका जिल्लामा कृषि बालीमा भएको क्षतिको लगत संकलन कार्य सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ‘र्यापिड रेस्पोन्स टीम’ गठन गरी तत्काल कृषि बालीमा पुगेको क्षतिको विवरण संकलन गर्ने र प्रभावित कृषकका लागि नीतिगत रुपमा सम्बोधन गर्दै जाने तयारीका साथ काम गरिरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशका सूचना अधिकारी अनुप अधिकारीले बताए ।

वर्षाका कारण उत्पन्न यस विषम परिस्थितिले अप्रत्यासित रुपमा बालीमा भएको नोक्सानीबाट कृषकहरुले व्यहोर्नुपरेको आर्थिक क्षतिका सम्बन्धमा मन्त्रालयले राहत उपलब्ध गराउने तयारी गरेको उनले बताए । मन्त्रालयले वर्षाका कारण कृषकमा परेको असरका बारेमा थप योजना तयार पार्न क्षतिको यथार्थ विवरण एकिन गरी सम्बन्धित कृषि ज्ञान केन्द्र वा मन्त्रालयमा सम्पर्क गरी उपलब्ध गराउन आग्रहसमेत गरेको छ ।

क्षति आँकलन पश्चात बालीमा भएको असर एवम् प्रभावको आधारमा प्रभावित कृषकको समस्यालाई सम्बोधन गर्दै जाने मन्त्रालयले जनाएको छ । मन्त्रालयले आपतकालीन, आकस्मिक रोग÷क्षति न्यूनीकरण कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षका लागि विनियोजन गरेको १ करोड रकमलाई आवश्यकता र क्षतिको तथ्याङ्कका आधारमा कार्यविधि निर्माण गरी कृषकलाई राहत स्वरुप उपलब्ध गराउने तयारी गरेको छ ।

थप केही दिनसम्म मौसम प्रतिकुल नै रहनसक्ने भएकाले कृषि कार्य गर्दा सावधानी अपनाउन पनि मन्त्रालयले कृषकलाई आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप