शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सातौं पटक विश्वकप खेल्दैछन् यी क्रिकेटर, रोहित शर्माले तोड्लान् त यी रेकर्ड ?

बुधबार, ०३ कात्तिक २०७८, १६ : ०६
बुधबार, ०३ कात्तिक २०७८

टी–२० विश्वकप क्रिकेट सुरु भइसकेको छ । जारी विश्वकपमा विभिन्न मुलुकका गरी सात क्रिकेटर सातौं पटक विश्वकपमा सहभागी हुँदैछन् । जसमध्ये बंगलादेशका तीन खेलाडी छन् भने वेस्ट इन्डिजका दुई, भारत र पाकिस्तानका एक–एक क्रिकेटर छन् ।

बंगलादेशका शाकिब अल हसन, मुशफिकुर रहीम र महमुदुल्लाहले सातौं पटक विश्वकपमा सहभागिता जनाउँदैछन् । यस्तै वेस्ट इन्डिजका क्रिस गेल र ड्वेन ब्राभो पनि आफ्नो करिअरको सातौं विश्वकपमा खेल्दैछन् । पाकिस्तानका शोएब मलिक र भारतका रोहित शर्मा पनि सातौं पटक टी–२० विश्वकपमा खेल्दैछन् ।

रोहित शर्माले बनाउन सक्छन् यस्ता कीर्तिमान

भारतका ब्याट्सम्यान रोहित शर्माले जारी विश्वकप क्रिकेटमा केही कीर्तिमान बनाउन सक्छन् । विश्वकपमा अहिलेसम्म उनले २८ वटा म्याचमा सहभागिता जनाएका छन् । भारतका लागि टी–२० विश्वकपमा सर्वाधिक म्याच खेलेको रेकर्ड महेन्द्र सिंह धोनीको नाममा छ ।

धोनीले ३३ म्याच खेलेका छन् । दोस्रो नम्बरमा रहेका रोहितले २८ म्याच खेलेका छन् । रोहितले जारी विश्वकपमा पाँचवटा म्याच खेलेको खण्डमा उनले धोनीको कीर्तिमानसँग बराबरी गर्नेछन् । जारी विश्वकपमा धोनी खेलाडीका रुपमा सहभागी छैनन् ।

रोहित शर्माले टी–२० विश्वकपको २८ म्याचमा २४ छक्का प्रहार गरेका छन् । भारतका लागि टी–२० विश्वकपमा युवराज सिंहले सर्वाधिक ३३ छक्का प्रहार गरेका छन् । रोहितले १० वटा छक्का प्रहार गरेमा युवराज सिंहको कीर्तिमानलाई तोड्नेछन् ।

यस्तै, अन्तर्राष्ट्रिय टी–२० मा रोहितले हालसम्म २ हजार ८६४ रन बनाएका छन् । उनलाई तीन हजार रन पूरा गर्न १३६ रन आवश्यक छ । जारी विश्वकपमा उनले १३६ रन बनाएको खण्डमा तीन हजार रन पूरा हुन्छ । यो सफलता प्राप्त गरेमा उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन हजार रन पूरा गर्ने दोस्रो भारतीय खेलाडी बन्नेछन् ।

भारतका लागि कप्तान विराट कोहलीले मात्र अहिलेसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन हजार रन पूरा गरेका छन् । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन हजार १५९ रन बनाइसकेका छन् ।

यस्ता छन् टी–२० विश्वकपका केही अनौठा कीर्तिमान

श्रीलंका र नेदरल्यान्डबीच सन् २०१४ मा चटगाउँमा खेलिएको म्याचमा जम्मा ९३ बलमात्र खेल भएको थियो । श्रीलंकाले नेदरल्याण्ड विरुद्धको म्याचमा ३० बलमै जित हासिल गरेको थियो । सो म्याचमा श्रीलंकाले नेदरल्यान्डलाई ३९ रनमै अलआउट गरेको थियो । यो नै टी–२० विश्वकपको सबैभन्दा कम स्कोर पनि हो । श्रीलंकाले पाँच ओभरमै ४० रन बनाएर जित हासिल गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप