बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा संक्रमण बढेसँगै प्रतिबन्ध लागू गर्न सरकारलाई दवाव

बुधबार, ०३ कात्तिक २०७८, १८ : १२
बुधबार, ०३ कात्तिक २०७८

बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा फैलिएपछि सरकारलाई समयमा नै आवश्यक कदम चाल्न दवाव आएको छ । बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) प्रमुख म्याथ्यू टेलरले कि ‘प्लान बी प्लस’ अन्तर्गतको प्रतिबन्ध लगाउनुपर्ने कि त एनएचएस संकटको सामना गर्न तयार हुन प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् । टेलरले इंग्ल्याण्ड, नर्दर्न आएरल्याण्ड वेल्सको स्वास्थ्य सेवाको प्रतिनिधित्व गर्दछन् । बेलायतमा एकैदिन झन्डै ५० हजार संक्रमित पुष्टि भएको र २४  घन्टामा  २२३ जनाको मृत्यु भएलगत्तै उनको उक्त भनाइ सार्वजनिक भएको हो ।

उनको यो धारणा आएसँगै आजै साँझ बेलायती स्वास्थ्यमन्त्री साजिद जावेदले प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रीटबाट कोरोना अपडेट प्रेस कन्फ्रेन्स गर्ने भएका छन् । उनले नयाँ प्रतिबन्धको घोषणा नगरेपनि आवश्यक सुरक्षा सतर्कता सम्बन्धि नियमको बारेमा उल्लेख गर्ने र ‘प्लान बी’ सम्बन्धि अवधारणा प्रस्तुत गर्ने अनुमान छ ।

इंग्ल्याण्डका चिफ मेडिकल अफिसर क्रिस विट्टीले पनि कोरोना संक्रमण बढ्दै गएकोले जनतालाई  सचेत रहन भन्दै खोप नलगाएकाहरुले तुरुन्तै खोप लगाउनुपर्ने, बुष्टर डोजको पालो आएको भए तत्कालै लगाउनुपर्ने र भीडभाडमा मास्क लगायत स्यानिटाइजरको निरन्तर प्रयोग गर्न भन्दै ट्वीट गरेका थिए ।

पछिलो एकसातासम्म निरन्तर दैनिक संक्रमण ४० हजार भन्दा बढी रहँदै आएको र आइतबार संक्रमित संख्या एकैदिन  झन्डै ५० हजारको हाराहारीमा पुगेको थियो ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार  गएको २४ घन्टामा २२३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । यो संख्या गत मार्च ९ तारिख पछिकै सबैभन्दा बढी हो ।

अस्पताल भर्ना हुने कोरोना संक्रमितको संख्या हरेक पाँच हप्तामा दुई गुणाले वृद्धि हुने गरेको ‘मेम्बर अफ द साइन्टिफिक एडभाइजरी ग्रुप फोर इमर्जेन्सी (एसएजीइ) इम्पेरीयल कलेजका प्रोफेसर निल फर्गुसनले बताएका छन् । तर, यसअघि जस्तो लकडाउन नहुने उनी बताउँछन् ।

५० वर्ष माथिका र अन्य उच्च जोखिममा रहेकालाई ‘बुष्टर डोज’ वितरण गर्ने, १२ देखि १५ वर्ष उमेरकालाई पहिलो डोज खोप वितरण गर्ने, भीडभाडमा मास्कको प्रयोग, सम्भव भएसम्म घरबाट नै काम गर्ने जस्ता योजनाहरु ‘प्लान बी’ अन्तर्गत पर्दछन् । बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३८ हजार ८५२ पुगेको छ भने कुल संक्रमितको संख्या ८५ लाख ४१ हजार १९२ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप