बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय ‘आधार कार्ड’ बोकेका रामप्रसादले नागरिकता पाएनन्

​पूर्वगृहसचिव भन्छन्– सीडीओलाई सनक चढ्यो भन्दैमा नागरिकता दिन्नँ भन्न मिल्दैन
बिहीबार, ०४ कात्तिक २०७८, ०७ : ०२
बिहीबार, ०४ कात्तिक २०७८

गुल्मीमा जन्मेर तराईको जिल्लामा बसाइँ सरेका रामप्रसाद (मिडियामा आउन नचाहेकाले वास्तविक नाम परिवर्तन गरिएको) लामो समयदेखि भारतको नयाँदिल्लीमा रोजगारी गर्दै आएका छन् । रामप्रसादजस्तै गुल्मीतिरका धेरै नेपालीहरु भारतमा नोकरी गर्छन् ।

रामप्रसाद विगतका वर्षहरुमा जस्तै यसपालि पनि दसैँ मनाउन नेपाल आए । स्वदेश आएका बेला आफ्नी छोरीको नागरिकता बनाइदिने विचार गरेर उनले दसैँको विदा सकिनासाथ वडा कार्यालयबाट सिफारिस लिए । र, सोही सिफारिस बोकेर उनी जिल्ला प्रशासन कार्यालयमा पुगे ।

वडा कार्यालयको सिफारिससहित नागरिकता बनाउन पुगेका रामप्रसादलाई जिल्ला प्रशासन कार्यालयका कर्मचारीले नागरिकता बनाइदिन अस्वीकार गर्दै दोहोरो नागरिकता प्रकरणमा जेल जानुपर्ने हुन सक्छ भन्दै सबै कागजातहरु नियन्त्रणमा लिएर घर फर्काइदिए ।  

भारतमा रोजगारी गर्दै आएका सोझा रामप्रसादले नागरिकता बनाउने क्रममा आफूले भारतमा रोजगारी गर्दै आएको कर्मचारीहरुलाई बताएका थिए । त्यही सिलसिलामा कर्मचारीले उनलाई भारतको नागरिकता लिएको छ कि छैन भनेर सोध्दा उनले नागरिकता लिएको छैन, आधार कार्डचाहिँ लिएको छ भन्ने इमान्दार जवाफ दिएका थिए । त्यसपछि कर्मचारीले उनलाई भारतको आधार कार्ड लिएको व्यक्तिले नेपाली नागरिकता लिन मिल्दैन, दोहोरो नागरिकता लिएको ठहरिने हुनाले कारवाहीमा पर्न सकिन्छ भन्ने जवाफ दिए ।

त्यसपछि ती व्यक्ति कर्मचारीले छोरीको नागरिकता नबनाइदिएको  गुनासो लिएर सिडिओ समक्ष पुगे । सिडिओले पनि उनलाई यो विषयमा छानविन गर्नुपर्छ, केही दिनपछि सम्पर्क गर्नु भनेर फिर्ता पठाइदिए ।

भारतमा काम गर्दा बनाइने आधार कार्ड लिएको आधारमा नेपाली नागरिकता नपाइने कानुनमै व्यवस्था रहेको हो ? रामप्रसाद अलमलमा परे । रातोपाटीसँग सम्पर्कमा आएका उनले सोधे,  ‘भारतमा काम गर्ने मजस्ता नेपालीले आधार कार्ड लिएकै आधारमा आफ्ना छोराछोरीलाई बंशजको नागरिकता बनाउन नमिल्ने हो ? अनि यस्तो नागरिकता बनाउन जाँदा जेल जानुपर्ने हो ? पत्रकारको नाताले एकचोटि बुझिदिन न ।’

रामप्रसादको यस्तो सिकायतपछि हामीले यसबारे गृहमन्त्रालयका अधिकारी र पूर्वप्रशासकहरुसँग सोधखोज गर्यौं– भारतमा कार्यरत नेपालीहरुले त्यहाँ आधार कार्ड बनाएकै आधारमा नेपाली नागरिकताबाट बञ्चित हुनुपर्ने हो ? वा उनीहरुले नागरिकता पाउँछन् ?

गृह प्रशासनका अधिकारीहरुको कुरा सुन्नुभन्दा पहिले प्रवासी नेपालीहरुले पाउने भारतीय आधार कार्डका बारेका चर्चा गरौं ।

भारतमा मजदुरी गर्न जाने नेपालीहरुले त्यहाँ बैंक खाता नखोली कम्पनीहरुमा काम पाउँदैनन् । २० जना भन्दा बढी कामदार रहेको कम्पनीमा कर्मचारीको तलव अनिवार्य बैंकमा जम्मा गर्नुपर्ने भारतीय श्रम कानुनमा व्यवस्था छ । यसले गर्दा भारतमा होटल, सेक्युरिटी कम्पनी आदिमा काम गर्ने नेपालीहरुले बैंक खाता अनिवार्यरुपमा खोल्नैपर्छ । भारतीय नागरिकता नहुने नेपाली नागरिकले आधार कार्ड बनाएपछि बैंक खाता खोल्न सक्छन् ।

रामप्रसाद भन्छन्, ‘सुरुमा साइबरमा गएर प्यान कार्डका लागि अनलाइन एप्लाई गर्ने हो, त्यसपछि प्यान कार्डको आधारमा १५ दिनपछि आधार कार्ड पाइन्छ । मजस्तै भारतमा नोकरी गर्ने ९५ प्रतिशत नेपालीहरुसँग त्यहाँको आधार कार्ड छ र भारतमा बैंक अकाउन्ट छ ।’

पूर्व गृहसचिव चण्डिप्रसाद श्रेष्ठ आधार कार्डलाई दोहोरो नागरिकता मान्न नमिल्ने बताउँछन् । भारतीय आधार कार्डको पछाडि स्पष्ट रुपमा लेखिएकै हुन्छ– आधार पहिचानको प्रमाण हो, नागरिकता होइन ।

गृहमन्त्रालयका प्रवक्ता भन्छन्– आधार कार्डले नागरिकता रोकिन्न   

प्रमुख जिल्ला अधिकारीले नागरिकता नदिने घोषणा गरेर सेवाग्राहीलाई ‘कारवाहीको चेतावनी’ दिएको बारे प्रश्न गर्दा गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले रातोपाटीसँग भने, ‘आधारकार्ड लिए पनि भारतमा काम गर्ने नेपालीले नेपाली नागरिकता पाउँछन्, भारतीय मतदाताको सूचिमा नाम रहेछ भनेचाहिँ नागरिकता दिन मिल्दैन ।’

बैंक खाताको प्रयोजनका लागि आधारकार्ड बनाएकै आधारमा नागरिकता नदिने भन्न नमिल्ने पोखरेलले बताए ।

भारतमा बस्ने नेपालीलाई त्यहाँ बाँच्नका लागि आधार कार्ड अनिवार्य रुपमा चाहिने बताउँछन् पूर्वगृहसचिव चण्डीप्रसाद श्रेष्ठ । रातोपाटीसँग कुरा गर्दै श्रेष्ठले भने, ‘त्यहाँ बाँच्नका लागि आधार कार्ड लिएको भनेर नेपाली नागरिकलाई नागरिकता नै दिन्नँ भन्न मिल्दैन ।’

श्रेष्ठले थपे, ‘प्रमुख जिल्ला अधिकारीलाई सनक चढ्यो भन्दैमा आधार कार्डधारीलाई नेपाली नागरिकलाई नागरिकता नै दिन्नँ भन्न कहाँ पाइन्छ ? त्यो नहुनुपर्ने घटना भएछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप