बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पानी पार्ने प्रणाली बाहिरियो

बिहीबार, ०४ कात्तिक २०७८, १० : ०७
बिहीबार, ०४ कात्तिक २०७८

नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ । आज बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ । वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चार÷पाँच दिनयता अर्काे प्रणाली विकसित हुने देखिएको छैन । भारतको विहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले असोज ३१ देखि कात्तिक ३ गतेसम्म नै भारी वर्षा गराएको थियो । हाल उक्त प्रणाली बाहिरिए पनि सामान्य प्रभाव भने नेपालमा रहेको छ ।

“त्यस्ता प्रणालीले जलवाष्प र चिसो छाडेको हुन्छ, त्यसैले कतै बादल त कतै कुहिरो देखिन्छ”, पौडेलले भने, “कतैकतै छिटफुट वर्षाको सम्भावना पनि रहन्छ ।” त्यसले ठुलो प्रभाव भने नगर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उक्त प्रणाली गएको असोज ३१ बाट विकसित भएको थियो । कात्तिक १ र २ गते नेपालको पश्चिम (कर्णाली र सुदूरपश्चिम) क्षेत्रमा भारी वर्षा गराएको थियो भने कात्तिक २ को रातिबाट बुधबार साँझसम्मै त्यसभन्दा पूर्व क्षेत्र प्रदेश १, २ बागमती, गण्डकी प्रदेशमा बर्षा गराएको थियो । 

बेमौसम (कात्तिक) मा परेको भारी वर्षाका कारण मुलुकका विभिन्न २० भन्दा बढी जिल्लामा ठूलो जनधनको क्षति गराएको छ । भौतिक संरचना तहसनहस पारेको छ भने भित्रिने बेलाको धानबालीसमेतमा निकै क्षति पुर्‍याएको  छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप