शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रको लगानी आवश्यक’

बिहीबार, ०४ कात्तिक २०७८, १० : ३७
बिहीबार, ०४ कात्तिक २०७८

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादन गर्ने गरी शिक्षा क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघसँगको भेटमा मन्त्री पौडेलले शिक्षित बेरोजगारको समस्या समाधान गर्न दक्ष जनशक्ति उत्पादनमा लगानी अभिवृद्धि गर्नुपर्ने बताए ।

‘विश्व विद्यालयबाट उत्पादन भएका शिक्षित जनशक्तिमा दक्षताको अभाव छ, शिक्षित युवाहरू रोजगारी खोजेर भौँतारिएका छन्,’ उनले भने, ‘दक्षता अभावका कारण कायम बेरोजगारी अन्त्य गर्न निजी क्षेत्रले काम गर्नुपर्छ ।’ 

मन्त्री पौडेलले विद्यमान कानुनी व्यवस्था भित्र रहेर आफ्ना व्यवसाय अघि बढाउन आग्रह गरे । उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सिटिइभिटी)का कार्यक्रमलाई श्रम, रोजगारी र उत्पादनसँग जोड्ने गरी अघि बढाउन लागिएको जानकारी गराए ।

भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाललाई शैक्षिक हबको रूपमा विकास गर्न सकिने बताउँदै त्यसमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा नै रोजगारी एवं स्वरोजगारीका अवसर सिर्जना गर्नुपर्ने उल्लेख गरे ।

अग्रवालले परिसंघले मेक इन नेपाल – स्वदेशी अभियान सुरु गरेको र यसको एउटा उद्देश्य नेपालमा वार्षिक १ लाख ५० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको जानकारी गराए । छलफलका क्रममा परिसंघ अन्तर्गको एजुकेसन काउन्सिलका सभापति द्विराजशर्माले शिक्षा क्षेत्रसँग सम्बन्धित २४ बुँदे सुझाव मन्त्री पौडेल समक्ष प्रस्तुत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप