बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको साथ खोज्दै एनआरएनए अध्यक्षको टोली बालकोटमा

अनि काँग्रेस र माओवादीविरुद्ध खनिए ओली
बिहीबार, ०४ कात्तिक २०७८, १२ : ४५
बिहीबार, ०४ कात्तिक २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तसहितको टोलीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेको छ । एनआरएनएभित्र विवाद चर्किँदै गएको तथा महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयबाट विभिन्न अड्चन खडा भएका बेला पन्तसहितको टोलीले ओलीलाई बालकोट पुगेर ओलीलाई भेटेको हो ।  

भेटका क्रममा पन्तसहितको टोलीले काँग्रेस निकट उम्मेदवार कुल आचार्यको पक्षमा चुनावी नतिजा पार्न काँग्रेस र माओवादी केन्द्र लागेको र सोहीअनुसार परराष्ट्र मन्त्रालयले व्यवधान खडा गरेको ओलीसमक्ष गुनासो गरेका थिए । पन्तले एमालेनिकट उम्मेदवार बद्री केसीलाई हराउन सत्तारुढ गठबन्धन र सरकार नै लागिपरेको सुनाएका थिए ।

पन्तले हालका उपाध्यक्षसमेत रहेका डा. बद्री केसी नेतृत्वको दौडमा रहेको  र उनी एमाले निकट भएकै कारण विपक्षीबाट समस्या खडा गर्ने काम भएको ओलीलाई बताएका थिए ।

एमालेको पक्षमा विश्वभरका एनआरएनएहरुको आकर्षण रहेको, तर अध्यक्षका अर्का उम्मेदवार कूल आचार्य पक्षले अनावश्यक राजनीति गरिरहेको पनि पन्तको गुनासो थियो । आचार्यकै योजनामा एनआरएनएका केही अभियन्ताले विवाद झिकेर परराष्ट्र मन्त्रालयमा उजुरी गरेको र सोही उजुरीको बलमा परराष्ट्रले निर्वाचन प्रक्रिया अघि बढाउन रोक लगाएको पनि पन्तले ओलीलाई बताएका थिए ।

परराष्ट्रले विवाद निरुपण नभई निर्वाचन नगर्न निर्देशन दिएपछि पन्तको कार्यकाल ६ महिना थप गर्ने निर्णय भइसकेको छ भने नोभेम्बर ३० भित्र विश्वसम्मेलन गर्ने निर्णय पनि भइसकेको छ ।

यद्यपि विभिन्न देशबाट प्रतिनिधि चयनको विवाद भएको भनिएको विवाद भने अझै मिलिसकेको छैन । बरु एनआरएनएमा एकपछि अर्को विवाद थपिइरहेको छ । एनआरएनएहरु एउटा समूह सत्ता गठबन्धन र अर्को समूह एमाले निकट भएपछि विवाद मिल्नुको साटो थप दूरी बढ्न थालेको हो ।

भेटका क्रममा ओलीले एनआरएनएमा राजनीतिकरण हुन नहुने भन्दै आफू नेतृत्वमा हुँदा सरकारले गरेका काम कारबाहीबारे लामो प्रवचन सुनाएका थिए । ओलीले अहिलेको नेतृत्वमा एमालेको बाहुल्य रहेको र अब पनि एमाले निकटकै व्यक्तिलाई एनआरएनएमा विजयी गराउने गरी आफूले माहोल बनाउन लागिपर्ने आवश्वनसमेत दिएको स्रोतको दाबी छ ।

अनि ओलीले पोखे आक्रोश

एनआरएनएका अध्यक्ष पन्तको कुरा सुनेपछि ओलीले बुधबार नै आयोजित एक कार्यक्रममा सरकारको चर्को आलोचना गरे । एमाले बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले एनआरएनएको चुनावमा ध्यान नदिन र सक्ने भए एमालेसँग चुनाव लड्न आउन काँग्रेस र माओवादी केन्द्रलाई चुनौति दिए ।

ओलीको एनआरएनएबारे पोखेको आक्रोश यस्तो छ–

‘गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपालीहरुको संगठन बनाए विश्वभरि । कुनै राजनीतिक पक्ष विपक्ष नगरौँ भनेर, सबै नेपालीहरु एक भएर, एकअर्कालाई कसरी सहयोग गर्न सकिन्छ भनेर संगठन बन्यो ।  कोभिड–१९ का बेला उहाँहरु बसेकै ठाउँमा पनि कोभिड थियो, तर पनि नेपालमा गैरआवासीय नेपालीहरुले संगठित, व्यक्तिगत र अनेक ढंगले सहयोग पुर्याउनुभयो । राजनीति भन्दा फरक राष्ट्रिय भावनाका साथ एकताका लागि लाग्नुभएको छ ।

अहिलेको सरकार, खासगरी काँग्रेस र काँग्रेसका दुईटा जंगे पिलर (माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी) यिनीहरुले आन्दोलनलाई बढो नराम्ररी क्षत–विक्षत बनाइदिएका छन् । अधिवेशन हुन दिएको छैन । परराष्ट्र मन्त्रालय त कस्तो भयो भने तामेली अड्डा भयो । र, गैरआवासीय नेपालीहरुको संगठनलाई क्षतविक्षत गर्ने, अधिवेशन हुन नदिने काम भएको छ ।  सरकारले त सहयोग गरिदिनुपर्ने हो । अहिले सहयोग गर्ने नभई फाटो ल्याइदिने काम भएको छ ।

म काँग्रेसलाई भन्न चाहन्छु र काँग्रेसका पिछलग्गुहरुलाई भन्न चाहन्छु, चुनावमा हामीसँग लड्न आउनुस् न देशभित्र, किन एनआरएनएसँग लगिराख्या ? लड्ने भनेको त हामीसँग हो नि । एनआरएनएसँग झमेला गर्याछ । उनीहरुले त आफ्नो काम गरेका छन्, देशलाई सहयोग गरेका छन् । जहाँ पनि विवाद, जहाँ पनि फाटो ल्याएको छ, यस्तै हुन्छ लोकतन्त्र ?’

एनआरएनएको विधानमा राजनीतिक प्यानल बनाएर चुनाव लड्न नपाइने व्यवस्था भए पनि दुबै पक्षले आफू निकटको दलको भरपुर साथ खोजेका छन् । यही क्रममा पन्त एमाले निकट प्रवासी संगठन कतारका अध्यक्ष चानक पोखरेललगायतलाई साथ लिएर बालकोट पुगेका हुन् ।

उता, चुनावी रस्साकस्सीकै बीच आचार्यलाई माओवादी र काँग्रेसले सहयोग गर्न आन्तरिक सर्कुलर गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप