बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : महाधिवेशन सफल बनाउन एमालेले दियो बादललाई जिम्मेवारी, बागमती सरकारको दिनगन्ती सुरु

बिहीबार, ०४ कात्तिक २०७८, २१ : ५५
बिहीबार, ०४ कात्तिक २०७८

आज २०७८ साल कात्तिक महिनाको ४ गते बिहीबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई हामीले अरु दिनझैँ आजपनि नियमित स्तम्भ ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ–

आजका मुख्य खबरहरुमा एमालेको महाधिवेशन चितवनमा गर्ने, बादललाई महाधिवेशन व्यवस्थापन समितिको जिम्मेवारी, बागमती प्रदेश सरकारको दिनगन्ती सुरु, एनआरएनएभित्रको विवाद, बाढीपहिरोको अपडेटलगायत रहेका छन् ।

१. एमाले महाधिवेशन चितवनमा, बादललाई विशेष जिम्मेवारी

नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको यही मंसिर १० देखि १२ गतेसम्म हुने पार्टीको महाधिवेशन चितवनमा गर्ने औपचारिक निर्णय गरेको हो । बैठकले महाधिवेशन सफल बनाउन पार्टी स्थायी कमिटीका सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन कमिटी समेत गठन गरेको छ ।

​३. बागमती प्रदेश सरकारको दिनगन्ती सुरु

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सभा बैठकमा विश्वासको मत मागेकी छिन् । तर उनले विश्वासको मत पाउने सम्भावना कम भएसँगै सरकारको दिनगन्ती सुरु भएको छ । प्रदेश सभाको बैठक आज बसेर कात्तिक १० सम्मका लागि स्थगित भएको छ ।

बागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच आगामी कार्यकालमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ ।

४. नेकपा माओवादी केन्द्र स्थायी कमिटीको निर्णय

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले केन्द्रिय विभाग गठन गरेको छ ।  बिहिबार काठमाडौंमा बसेको पार्टीको स्थायी कमिटी बैठकले पार्टीको ३३ वटा केन्द्रिय विभाग गठन गरेको हो ।

​५. सिके राउतका कार्यकर्ताले गरे दुव्र्यवहार

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले नेपाल खानेपानी संस्थान धनुषाका निमित्त प्रमुख राजेश कुशवाहालाइ दुव्र्यवहार गर्दै जनकपुरधाम नगर घुमाएका छन् । सो क्रममा राउतका केही कार्यकर्ता पक्राउ परेका छन् ।

६. आज कति पुष्टि भए संक्रमित ?

पछिल्लो २४ घण्टामा देशभर ५ सय ४५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७ सय २६ जना संक्रमणमुक्त भएका छन् । हाल कोरोना निको हुने दर ९७.२ प्रतिशत रहेका छन् । हालसम्म कोरोना संक्रमितमध्ये ७ लाख ८४ हजार ८८१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ७ हजार ५२२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९३ लाख ७७१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या ११ हजार ३ सय २६ पुगेको छ ।

​७. १४ अंकले घट्यो नेप्से परिसूचक

सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ । गत मंगलबार अधिकतम ७७ अंकले घटेर २५१०.७३ बिन्दुमा झरेको बजार बिहीबार थप १४.७० अंकले घटेर २५५६.९५ बिन्दुमा झर्न पुगेको हो ।

​८. दरबन्दी सिर्जनाको चलखेल

पाल प्रहरीमा ६ जना बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को पद खाली छ । २०७८ वैशाखदेखि एसएसपीको दरबन्दी खाली रहे पनि अहिलेसम्म यी पदमा कसैलाई बढुवा गरिएको छैन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र गृहमन्त्री बालकृष्ण खाणले चासो नदिँदा प्रहरी उपरीक्षक (एसपी) बाट बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा हुन नसकेको हो । करिब ६ महिनादेखि एसएसपी बढुवामा ध्यान नदिएको गृहमन्त्रालयले बरु डीआईजी थप्ने तयारी थालेको छ ।

​९. एनआएनएमा विवाद

गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र बढ्दो विवादका बीच समानान्तर गतिविधिको अभ्यास सुरु भएको छ । एनआरएनएको विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय भएसँगै अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले समानान्तर भेला बोलाएको छ । संस्थापन पक्ष भने भेला बिथोल्न लागिपरेको छ ।

​१०. र यो पनि...

प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिममा विभिन्न जिल्लाका बाढी प्रभावित क्षेत्रको अवलोकन भ्रमणमा गएका छन् ।​

सुर्खेतमा नेकपा एमालेको वडा अधिवेशन र पालिका अधिवेशन तोकिएको समयमा नहुने भएको छ। एमाले सुर्खेतले प्राविधिक कारण अधिवेशन गर्न नसकेकाले कार्तिक ९ गते वडा र १५ गते पालिकाको अधिवेशन सारिएको बताएको छ ।

अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थित १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ । डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी सबस्टेसन बिहीबार बिहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको हो । 

थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप