शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मन्त्रालयको अनुगमनमा मुख्यमन्त्री पोखरेल : नागरिकले अनुभूति गर्नेगरी काम गर्न निर्देशन

बिहीबार, ०४ कात्तिक २०७८, २२ : २२
बिहीबार, ०४ कात्तिक २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका मन्त्रालयहरूको स्थलगत अनुगमन गरेका छन् । बिहीबार उनले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको अनुगमन गरेका हुन् । 

मुख्यमन्त्री पोखरेलले प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिका बारेमा विवरण लिँदै  उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । उनले कर्मचारीलाई नागरिकले अनुभूति गर्नेगरी काम गर्न समेत निर्देशन दिए ।

गण्डकीमा सुरुमा ७ वटा मन्त्रालय रहेकोमा पछि युवा तथा खेलकुद मन्त्रालय थप गरेर ८ वटा बनाइएको थियो । अहिले प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित ११ मन्त्रालय छन् । दसैं अगाडि बिना विभागीय मन्त्रीमा डोबाटे विश्वकर्मा नियुक्त भएका छन् ।

नयाँ स्थापना भएका मन्त्रालयहरूमा भवनको अभाव देखिएकाले सकेसम्म सरकारी भवनहरु नै खोज्ने नत्र भाडामा भएपनि सञ्चालन गरी व्यवस्थापन गरिने मुख्यमन्त्री पोखरेलले बताएका छन् ।  अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालयको भवनमा राखिएको छ भने पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको भवनमा राखिएको छ । 

चारवटै मन्त्रालयको अनुगमनका क्रममा मुख्यमन्त्री पोखरेलले राजनीतिक परिवर्तनसँगै नयाँ बनेको सरकारलाई सफल बनाउने जिम्मा कर्मचारीमा रहेको बताए । उनले भने, ‘राजनीतिकर्मीको भिजनलाई नियमसंगत रुपमा मुर्तरुप दिने कर्मचारीले नै हो, तपाईंहरुले काम गर्ने क्रममा भोगेका असहजतालाई चिर्न हामी तयार छौं, बिना संकोच काम गर्नुहोला ।’

संघीय संरचना अस्तित्वमा आएसँगै देखिएका कानुनी जटिलता चिर्न सरकारले संघसँग लबिङ गरिरहेको भन्दै उनले प्रदेशले बनाएका कानुनमा समेत आवश्यक परिमार्जनका लागि सरकारी जुटेको जानकारी गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप