बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जाजरकोट–डोल्पा सडक अवरुद्ध, बीच बाटोबाटै फर्किए पर्यटक

शुक्रबार, ०५ कात्तिक २०७८, १८ : ००
शुक्रबार, ०५ कात्तिक २०७८

जाजरकोट–डोल्पा सडकको रुकुम पश्चिम र डोल्पा खण्डमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । रुकुम (पश्चिम)मा पर्ने त्रिवेणी बजार र डोल्पामा दुई स्थानमा गएको सुक्खा पहिराले यहाँको यातायात ठप्प भएको हो । 

करिब एकसय मिटर माथिबाट खसेको पहिरोका कारण डोल्पा जाने र आउने सवारी साधनहरु ठप्प भएका हुन् । मङ्गलबारदेखि रुकुम पश्चिमको अनाहदेखि छुटेका मालवाहक ट्रयाक्टर, साना ट्रकहरु सडकका दुई किनारामा रोकिएर राखिएको छ ।

पहिरोका कारण दैनिक उपभोग्य सामग्री ढुवानी ठप्प भएको जुफालका स्थानीय व्यापारी खीमबहादुर सिंहले जानकारी दिए । उनले भने, “मूल ठाउँमै पहिरो खसेकाले चामल, नुन, तेललगायत सामग्रीहरु भित्र्याउन सकिएको छैन, बजारमा भने मौज्दात खाद्यान्न सकिने बेला भएको छ ।”

सडक खुलाउने बारेमा सडक डिभिजन चौरजहारीले कुनै चासो नदिएको सिंहले बताए । यता डिभिजन प्रमुख ध्रुव झाले आफूलाई जानकारी नै नआएको बताए ।  जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत पर्ने खदाङ्ग–त्रिवेणी सडकखण्डमा सर्वसाधारणहरू ज्यानको बाजी थापेर यात्रा गर्न बाध्य छन् ।

त्रिपुरासुन्दरी नगरपालिका–५ का स्थानीयवासी मोतिप्रसाद उपाध्यायले भने, “मूल सडकमा पहिरो गएको छ, जिल्ला आउने र बाहिरिने अर्को कुनै वैकल्पिक सडक छैन, त्यसकारण पनि सर्वधारणहरु जोखिम लिएरै यात्रा गर्न बाध्य छन् ।” त्रिपुरासुन्दरी नगरपालिका आफैँसँग डोजर छ, पहिरो गएको तीन दिन बितिसक्दा पनि डोजर पठाएको छैन । 

कच्ची सडक र झोलङ्गे पुलका कारण डोल्पासम्म पुग्ने सडक जोखिमयुक्त भएकाले सुधार गर्नुपर्ने फोक्सुन्डो ताल जान हिँडेका गुल्मी तम्घासका आन्तरिक पर्यटक श्याम क्षेत्रीले बताए । उनले भने, “डोल्पा पर्यटकीय हिसाबमा अत्यन्तै सुन्दर छ, त्यही भएर पनि स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लागेको छ तर करोपगार्डसम्म कसरी ज्यान जोगाएर आइपुगियो सम्झिँदा आफैंलाई डर लाग्छ ।”
 
करोपगार्डमा खसिरहेको पहिराका गन्तव्यमा पुग्न नसकेपछि फोक्सुन्डो नहेरी पर्यटकहरु बीच बाटोबाटै फर्कन थालेका छन् । उपयुक्त मौसम पारेर डोल्पा आइपुगेका काठमाडौँ, गुल्मी, बुटवल, पाल्पालगायतबाट मोटरसाइकलमा आएका आन्तरिक पर्यटकहरु पहिराले अगाडि बढ्न नसकेपछि बीच बाटोबाटै फर्किएको स्थानीयवासी पौरख रोकायले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप