शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुको कृष्णनगरमा फेरि बढे झाडापखालाका बिरामी

शुक्रबार, ०५ कात्तिक २०७८, २१ : १७
शुक्रबार, ०५ कात्तिक २०७८

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फेरि झाडापखालाका बिरामी बढ्न थालेका छन् । दसैँ अगाडि करिव नियन्त्रणमा आएको झाडापखाला केही दिन यता फेरि फैलिन थालेको हो ।

कृष्णनगरमा दसैँ अघि वडा नम्बर ७, ८ र ९ मा झाडापखाला देखिएको थियो । ती वडामा झाडापखाला पूर्ण नियन्त्रणमा नआउँदै फेरि वडा नम्बर ५, ६ र १२ मा देखिएको नगरपालिकाका स्वास्थ्य संयोजक शंकर भट्टराईले रातोपाटीलाई बताए ।

उनका अनुसार अहिले झाडापखालाका बिरामी दैनिक सरदर २५ देखि ३० जनासम्म अस्पतालमा आउने गरेका छन् । उनीहरुको स्थानीय अस्पतालमै उपचार भइरहेको उनले बताए ।

वडा नम्बर १२ को हतियागढ र हरिगवा गाउँका बालबालिकामा झाडापखालाका बिरामी बढी देखिएको सोही वडाका वडाध्यक्ष छेदीप्रसाद यादवले रातोपाटीलाई बताए । उनले स्थानीयवासीलाई पानी उमालेर मात्र पिउन आग्रह गरिएको बताए ।

८ नम्बरका वडा अध्यक्ष नुर मोहम्मद मुसलमानले दया नगर र डगरमवामा भन्ने गाउँमा झाडापखालाका बिरामीहरु देखिएको बताए । सो वडामा दैनिक ५÷६ जना झाडापखालाका बिरामी देखिएको बताए ।

असोजको तेस्रो हप्ता झाडापखाला उत्कर्षमा पुगे पनि पछिल्ला दिनमा बिरामीको संख्या घटेर नगरपालिका क्षेत्रमा दैनिक ६÷७ जनामात्र बिरामी हुने गरेका थिए । दसैँ सकिएलगत्तै फेरि बिरामीको संख्या बढ्न थालेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

शिवराज अस्पतालका डाक्टर मुकेश चौधरीले अहिले त्यस क्षेत्रमा ७ जना डाक्टर र ५० जना बढी स्वास्थ्यकर्मी उपचारमा खटिएको बताए । कृष्णनगर नगरपालिकामा हैजा फैलिएको यस अगाडि नै पुष्टि भइसकेको छ । तर मानिसहरुमा चेतनाको कमीका कारण खानपान र सरसफाईमा ध्यान दिन नसकेकाले फेरि झाडापखालाका बिरामी फैलिएका हुन सक्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

झाडापखालाबाट बच्न पानी उमालेर पिउन, पानीको मुहान वरपर सफा राख्न र शौचालयको प्रयोग गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । दुई हप्ता पहिले झाडापखालाबाट कृष्णनगरमा ३ जना, शिवराज नगरपालिका–८ मा १ जना गरी ४ जनाको मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप