शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : महाधिवेशनको मुखमा एमालेमा विवाद, चोलेन्द्रलाई थपिँदै तनाव

शुक्रबार, ०५ कात्तिक २०७८, २१ : ५९
शुक्रबार, ०५ कात्तिक २०७८

आज मिति २०७८ साल कात्तिक महिनाको ५ गते शुक्रबार । आजका मुख्यमुख्य समाचारमा एमाले उपाध्यक्ष भीम रावलले कार्यदलबाट राजीनामा दिएको, बेमौसमी बर्षाको कहर,सरकारसँग गगन थापा असन्तुष्ट, प्रधानन्यायाधीशलाई राजीनामा दिन दवावलगायत रहेका छन्–

आजका मुख्य-मुख्य समाचार शीर्षकलाई रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा समेट्ने प्रयास गरिएको छ–

१. एमालेमा विवाद, भीम रावलले दिए विवाद

१० बुँदे कार्यान्वयनको सन्दर्भमा नेकपा एमालेमा विवाद देखिएको छ । उपाध्यक्ष भीम रावलले सहमति कार्यान्वयन नभएको भन्दै १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिने घोषणा समेत गरेका छन् ।

२. दुई जना केन्द्रीय सदस्य मनोनयन, प्रतिनिधिबारे पनि निर्णय

एमालेले दुई नेतालाई पार्टी केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले रौतहटका कुन्दन कुसवाह र बाराका मोहम्मद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

३. काँग्रेस महाधिवेशन प्रक्रिया प्रभावित

नेकपा एलेमा महाधिवेशनको रौनक बढे पनि नेपाली काँग्रेसमा भने महाधिवेशनको प्रक्रिया नै अवरुद्ध भएको छ । दुई वर्षदेखि महाधिवेशनको तयारीमा रहेको काँग्रेस कार्यतालिका हेरफेरमै रुमलिएको छ । ६४ जिल्लामा महाधिवेशनको प्रक्रिया सुरु भए पनि सहज रुपमा अगाडि बढ्न सकेको छैन ।

नेपाल बार एशोसिएसनले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई १५ दिनको अल्टिमेटम दिएको छ । शुक्रबार एशोसियसनका महासचिव लीलामणि पौडेलले एक विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबरालाई सो अल्टिमेटम दिएका हुन् ।

पूर्व न्यायाधीश फोरमले राणालाई राजीनामा दिन दवाव दिएको छ ।

५. ७ अर्ब २२ करोड बराबरको धानबालीमा क्षति

बेमौसमी वर्षाका कारण आएको बाढीपहिरो तथा डुबानका कारण देशका विभिन्न जिल्लामा ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबालीमा नोक्सान भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शुक्रबार जारी गरेको विवरण अनुसार गत असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण कुल १ लाख ९८ हजार ५ सय २१ हेक्टर क्षेत्रफलमा लागाइएको धानबालीमा क्षति पुगेको हो । जसबाट ७ अर्ब २२ करोड रुपैयाँ बराबरको नोक्सान भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो पीडितलाई तत्काल राहत दिने बताएका छन् ।

बाढी, पहिरोबाट क्षति भएको अवस्था बुझ्न सुदूरपश्चिम प्रदेश पुग्नुभएका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उद्धार, राहत र बजेट व्यवस्थापन कार्यक्रम तत्काल अघि बढाइने बताए ।

एक फरक प्रसङ्गमा प्रधानमन्त्री देउवाले एमसीसी पास हुनुपर्ने बताए ।

​७. दुई हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढ्यो

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढाएको बताएका छन् ।

शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १२ औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रवन्ध निर्देशक घिसिङले विद्युत प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढाएको बताएका हुन् ।

​८. पारिवारिक घुमघाममा प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलिखेल पुगेर जिपलाइनको अनुभव लिएका छन् ।

पारिवारिक भ्रमणका क्रममा नाति नातिनीसहित धुलिखेल पुगेका उनले आफैँले क्लासिक जिपलाइनको अनुभव लिएका हुन् ।  

​९. सरकारबारे गगनकुमार थापा

नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।  नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराए ।  

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।  प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको हो ।​

नवरात्रिका अवसरमा बंगलादेशमा हिन्दु धर्मावलम्बीहरुले नवदुर्गाको पूजा गर्दा इस्लामिक जिहादी समूहबाट भएको आक्रमण तथा हिंसाजन्य घटनामा परी मृत्युवरण गरेकाहरूको चिर शान्तिको कामना गर्दै काठमाडौंमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको छ ।

प्रदेश २ सरकारको आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्णले बिहीबार सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सरकारी कर्मचारीमाथि गरेको दुर्व्यवहारप्रति आपत्ति जनाएकी छन् ।

​नेकपा एमालेका नेता योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । एमालेका सचिव तथा प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईलाई विगत तीन दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल भर्ना गर्नुपरेको हो ।

पछिल्लो २४ घण्टामा देशभर ७०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ९३२ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ९ हजार ३७६ जनामा गरिएको परीक्षणमा ७०८ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार मतदान हुने भएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप