शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच दलीय गठबन्धन ‘प्रतिगामी’ : केपी ओली

‘प्रचण्ड  र माधव बाहिरिएपछि पार्टी सही ढंगले अगाडि बढ्यो’
शनिबार, ०६ कात्तिक २०७८, २० : १८
शनिबार, ०६ कात्तिक २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलको गठबन्धन प्रतिगामी गठबन्धन भएको आरोप लगाएका छन् । शनिबार वडा अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनमा रहेको पाँच दलीय गठबन्धन अग्रगामी हुनै नसक्ने बताए । 

‘अध्यक्ष ओलीले भने, ‘प्रतिगामी शक्तिहरू देशलाई अस्थिरतामा धकेल्ने काम गरिरहेका छन् । यो ३ महिनाको अवधिमा देखि सकियो–देशलाई अस्थिरतामा धकेल्ने, अग्रगमनमा व्यवधान खडा गर्ने, अग्रगमन हुन नदिने, स्वेच्छाचारिता, मनपरीतन्त्र देशमा लागू गर्ने, अनुशासनहीनता, अराजकता राज्यस्तरबाटै गर्ने, यस खालका क्रियाकलापहरू हामीले देखिराखेका छौ र यो विपरीत बाटो हो । यो प्रतिगमनतर्फको बाटो हो । संविधानको कार्यान्वयनको सन्दर्भमा, राजनीति परिचालनको सन्दर्भमा, जनतामा रहेको सार्वभौमसत्ता, त्यसको अपव्याख्या गरेर अन्तै सार्न खोज्ने प्रयासको सन्दर्भमा अहिले भएका र भइरहेका गतिविधिहरू प्रतिगामी गतिविधिहरू हुन । र त्यस्ता प्रतिगामी गतिविधिहरुविरुद्ध जसको नेतृत्व यो गठबन्धन पाँच दलीय भन्ने गरेको छ, त्यो पाँच दलीय भनिएको गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी गठबन्धन हो । जो कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने, कम्युनिस्ट सरकार ढाल्ने, कम्युनिस्ट आन्दोलन फुटाउने, र प्रतिक्रियावादीहरूको पाउमा सेवा अर्पण गर्ने र दक्षिणपन्थी नेतृत्वको दक्षिणपन्थी जनविरोधी, दिशाहीन त्यस्तो सरकार निर्माण गर्ने जुन काम गरिरहेको छ ।’प्रतिगामी गतिविधिविरुद्ध सशक्त संघर्ष गर्ने भन्दै ओलीले कार्यकर्ताहरूलाई डटेर सामना गर्न निर्देशन पनि दिए ।

ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’  र माधव नेपाल बाहिरिएपछि पार्टी सही ढंगले अगाडि बढेको बताए ।  उनले अब पार्टीभित्रको अनुशासनहीनता अन्त्य हुने बताए । उनले भने,  ‘पार्टी छोड्ने, आफ्नो समूह लिएर जाने काम भयो । अब पार्टी एक भएको छ । अब पार्टीलाई कमजोर बनाउने तत्व बाहिरिएपछि राम्रो भएको छ । प्रचण्डले पार्टी बहिर्गमन गरेपछि र माधव नेपाल फरक ढंगले गएपछि हामीले पार्टीलाई सही ढंगले अगाडि बढाएका छौं ।’ 

पछिल्लो समय कमिटी निर्माणका क्रममा पार्टीभित्र अनुशासनहीनता देखिएपछि अब त्यो अन्त्य हुने ओलीले बताए ।  यस्तै उनले वडा अधिवेशन एकतापूर्वक सफल रुपमा सम्पन्न हुनेछन् भन्ने विश्वास लिएको बताए । ‘एकैचोटी यति धेरै अधिवेशन उद्घाटन गर्नु सम्भवतः ऐतिहासिक हो । यस्तो अधिवेशन एमालेजस्तो एकता र संगठित पार्टी भएकाले मात्र सम्भव भएको हो ।’  

आत्मविश्वास, दृढता र सक्रियताका साथ पार्टी अगाडि बढिरहेको ओलीको भनाइ छ । ‘बाढी पहिरोका कारण रोकिएको ठाउँमा पनि छिट्टै हुनेछ । आठ हजारभन्दा बढी कमिटी देशभरी परिचालित हुनेछन् । त्यसबाहेक जनसंगठन र वर्गीय संगठन पनि पार्टीले नै परिचालित गर्ने हो’ उनले भने ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले आगामी निर्वाचनमा हरेक तहमा शानदार ढंगले बहुमत ल्याउने गरी तयारी गरिरहेको दोहो¥याउँदै सोही अनुसार पार्टीको काममा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले एमाले समाप्त हुन्छ भन्ने भ्रम चिरिएको उल्लेख गर्दै विरोधीहरूको भ्रममा नपरी देश निर्माणको अभियानमा जुट्न पनि सिङ्गो पार्टीपंक्तिलाई आह्वान गरे । अध्यक्ष ओलीले भने, ‘आगामी निर्वाचनमा हरेक तहमा शानदार ढंगले बहुमत ल्याउने तयारी पनि गरिरहेका छौँ । त्यस अनुसारले आन्दोलनमा जुट्न म कमरेडहरूलाई आग्रह गर्न चाहन्छु । एउटा हल्ला चल्यो अस्ति भर्खर । त्यो हल्ला अव कमजोर हुँदै गएको छ । तीनका स्याल हुँइयाहरु कमजोर हुँदै गएका छन् । तीनका आवाजहरू सुक्दै गएका छन् । हिजो नेकपा एमालेलाई सरकारबाट हटाएपछि एउटा हल्ला चल्यो । अव एमाले समाप्त भयो । एमाले युगको अन्त्य भो । अनेक प्रकारका भ्रमपूर्ण हल्लाहरू चलाइए । तर म कमरेडहरूलाई भन्न चाहन्छु–ती बेकारका बलेसीका पानी रहेछन् भन्ने कुरा स्पष्ट भइसक्यो । यी बलेसीका पानीका फोका हुन, तीनका आयु लामो छैन । तिनीहरूले हामीलाई बदनाम गर्न खोजे । चरित्र हत्या गर्न खोजे । हाम्रा विरोधीहरूका चाहना उनीहरूको आवश्यकता पूरा गर्ने होइन, हामीले हाम्रा अभिभार पूरा गर्ने हो । त्यो काम हामी गर्छौँ ।’

काँग्रेसलाई व्यङ्ग्य

ओलीले काँग्रेसले १४ औँ महाधिवेशन नगर्न असफल भएको बताए । काँग्रेसको नाम नलिई ओलीले भने, ‘केही आफूलाई लोकतान्त्रिक पार्टी भन्नेहरूले महाधिवेशन गर्न नसकेर अल्झिएको अवस्था छ । पार्टी विधान र नेपालको संविधानले दिएको समयमा पनि महाधिवेशन गर्न असफल भएका छन् ।’ साढे पाँच वर्षभित्र पनि अधिवेशन गर्न नसकेर थप ६ महिनामा पनि अधिवेशन गर्न नसकिएको ओलीको भनाइ छ । ‘१३ जिल्लामा अझै वडा अधिवेशन समेत हुन सकेको छैन । तर हामीले एकै पटक अधिवेशन सम्पन्न गर्दै छौँ,’ उनले भने ।

६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन उद्घाटन

ओलीले देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन उद्घाटन गरेका छन् ।  दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत एमालेले शनिबार वडा स्तरका अधिवेशन गर्न लागेको हो । ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल माध्यमबाट देशैभरका वडाको एकैसाथ अधिवेशन उद्घाटन गरेका थिए। अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सवै वडाका अधिवेशनहरू भव्य, समझदारी र एकतावद्ध साथ सम्पन्न हुनेमा विश्वास व्यक्त गरे । 

ओलीले गरेको वडा उद्घाटन इन्टरनेट पहुँच भएका वडामा समेत उद्घाटन कार्यक्रम ‘डिस्प्ले’ गरिएको थिए ।  पार्टीका सदस्यले नै वडाको नेतृत्व चयन गर्ने अधिवेशनले पाँचजना प्रतिनिधिसहित सदस्यहरु चयन गर्नेछ । जसमा अध्यक्ष –१, उपाध्यक्ष–१, सचिव– १ र उपसचिव –२ चुनिनेछन् । 

अधिवेशनले गाउँपालिका–नगरपालिकाका वडामा ३१ सदस्यीय कमिटी बन्नेछ भने उपमहानगरपालिकाका वडामा ४१, महानगरपालिकाका वडामा ५१ सदस्यीय कमिटी गठन बन्नेछ । उद्घाटन भएका ६ हजार बढि वडाले आजै नेतृत्व पाउने एमालेले जनाएको छ ।  हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप