शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरमा प्रहरीले दलित युवकलाई यातना दिएको आरोप

शनिबार, ०६ कात्तिक २०७८, १३ : २६
शनिबार, ०६ कात्तिक २०७८

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा दलितलाई यातना दिएको प्रहरीमाथि आरोप लागेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित मुजेलिया बस्ने २८ वर्षीय राजकुमार सदालाई दलित भएकै कारणले स्थानीय मुजेलिया प्रहरी चौकीका सई चन्दनकुमार सिंहले अमानवीय ढंगले यातना दिएको आरोप लागेको हो । वैदेशिक रोजगारीमा पठाउने भन्दै आफूलाई ठगी गर्नेसँग व्यक्तिसँग पैसा फिर्ता माग्दा प्रहरीले उल्टै आफूलाई यातना दिएको पीडित सदाको आरोप छ ।

चार वर्षअघि स्थानीय एजेन्ट रामहृदय यादवले विदेश पठाइदिन्छु भनेपछि सदाले स्थानीय साहु महाजनसँग ऋण लिएर उनलाई ९५ हजार रुपैयाँ बुझाएका थिए । तर कम्पनी नै बन्द भएपछि वैदेशिक रोजगारीका लागि बहराइन पुगेका सदा दुई महिना नपुग्दैँ नेपाल फर्किनुपरेको थियो । यादवसँग आफू ठगिएको भन्दै रकम माग गरेपछि उनले नै प्रहरी लगाएर आफूलाई यातना दिएको सदाको दाबी छ ।

सदाका अनुसार पटक–पटक पैसा मागेपछि एजेन्ट यादवले उनलाई फोन गरेर कार्तिक २ गते मुजेलियास्थित यातायात कार्यालयको छेउमा राति अन्दाजी ९ बजे तिर भेट्न बोलाएका थिए । तर त्यहाँ पुग्दा आफूलाई घेरा हाली कुटपिट गर्न थालेको सदाको आरोप छ । त्यस क्रममा आफूले पनि प्रतिकार गरेको सदाको भनाइ छ । त्यसपछि यादवले सोही राति मुजेलिया प्रहरी चौकीका सई सिंहलाई भनेपछि प्रहरी सदाको घरमा गएर पुगेर उनलाई पक्रेर चौकी ल्याएको थियो । सो राति आधा घण्टासम्म प्रहरीले कुटपिट गरेको उनले सुनाए । सई सिंहले एक प्रहरी जवानलाई दुई वटा बाँसको लाठी दिएर पिठ्यूँ, ढाड र दुवै खुट्टामा निर्घात हुने गरी कुटपिट गर्न लगाएको उनको भनाइ छ ।   

प्रहरीको यातनाबाट घाइते भएका सदालाई उपचारका लागि स्थानीय समर हस्पिटलमा भर्ना गरिएको थियो । तर रकम अभावको कारण उनी त्यहाँबाट घर फर्कन बाध्य भएका छन् । सदाका दाइ विजय सदाले भने आफ्नो परिवारमाथि प्रहरीले अमानवीय व्यवहार गरेको र यातना दिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा न्याय तथा क्षतिपूर्तिको माग गर्दै उजुरी दिएका छन् ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालयमा समेत बोधार्थ गर्दै वैदेशिक रोजगारको लागि विदेश पठाइदिने भनेर आफुसँग ठगी गरेको ९५ हजार रुपैयाँ समेत उपलब्ध गराइदिन र प्रहरीले दिएको यातनामा समेत न्याय तथा सई सिंह समेतलाई कारबाहीको माग गर्दै निवेदन दिएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोग प्रदेश २ कार्यालयका यातना विभागका प्रमुख मनमाया राना मगरले पीडितले उजुरी दिएको बताउँदै आफूहरू तत्कालै अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने बताइन् । यता धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले यस सम्बन्धमा आफूलाई केही थाहा नभएको र घटनाबारे बुझेर मात्र प्रतिक्रिया जनाउने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप