शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारत भर्सेस पाकिस्तान : दाउमा भारतको रेकर्ड, सरप्राइज देला पाकिस्तानले ?

आइतबार, ०७ कात्तिक २०७८, ०७ : ०८
आइतबार, ०७ कात्तिक २०७८

आपसी राजनीतिक सम्बन्ध चिसिएको समय दुबईको गर्मीमा भारत र पाकिस्तानका क्रिकेट टिम टी–२० विश्वकपमा भिड्दैछन् । यो खेल नेपाली समयअनुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । १ अर्ब ३९ लाखभन्दा धेरै जनसङ्ख्या रहेको भारत र २२ करोडभन्दा धेरै जनसङ्ख्या रहेको पाकिस्तानबीचको क्रिकेट खेल विश्वका धेरै जनसङ्ख्याले सरोकार राख्ने खेलमध्ये एक हो । त्यही कारण, यी दुवै टिमबीचका हरेक खेल महत्त्वपूर्ण मानिन्छन् । अझै, विश्वकपमा त स्वाभाविक रूपमा टिमका खेलाडीहरूमाथि जित्नुपर्ने दबाब पर्ने नै भयो । 

दुई टिमबीच पछिल्लो पटक २०१९ को एकदिवसीय विश्वकपमा समूह चरणमा भेट भएको थियो । यस खेल जित्दै भारतले विश्वकपमा पाकिस्तानविरुद्धको आफ्नो अजेय यात्रा निरन्तर जारी राख्यो । 

पछिल्लो प्रदर्शन 

यसपटक विश्वकपअघि दुवै टिमले २–२ वटा अभ्यास खेल खेलेका छन् । पाकिस्तानले पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजलाई ७ विकेटले हराएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिकासँग अन्तिम बलमा पराजित भयो । अर्कोतर्फ भारतले इंग्ल्यान्ड र अस्ट्रेलियाविरुद्ध जित हासिल गर्‍यो । भर्खरै मात्र युएईमा आयोजना भएको इन्डियन प्रिमियर लिग (आईपिएल) मा प्रतिस्पर्धा गरेकाले भारतीय खेलाडीहरू यहाँको मौसमसँग घुलमिल भइसकेका छन् । भारतका लागि यो सुखद पक्ष हो । 

ब्याटिङ र बलिङ

पाकिस्तानबाट फकर जमानले पछिल्ला दुई अभ्यास खेलमा ९८ रन बनाएका थिए । यता, भारतका केएल राहुलले दुई अभ्यास खेलमा ९० रन बनाएका छन् । पाकिस्तानका साहिन अफ्रिदीले पछिल्ला दुई खेलमा चार विकेट लिएका छन् । यता, भारतका मोहम्मद सामीले एकै खेलमा तीन विकेट लिएका छन् । 

दुवै टिममा टी–२० फर्म्याटका प्रतिभावान् खेलाडीहरू छन्, जसले कुनै पनि समय खेललाई परिवर्तन गरिदिनसक्छन् । टी–२० वरियतामा भारत दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छ । 

पाकिस्तानी टोलीको प्रमुख आकर्षणका रूपमा कप्तान बाबर आजम रहेका छन् । उनी पछिल्लो समय निकै लयमा छन् । भारतका कप्तान विराट कोहलीले आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरका लागि निकै उत्कृष्ट खेलेका थिए । तर, राष्ट्रिय टिममा पछिल्लो समय उनले स्वाभाविक खेल देखाउन सकेका छैनन् ।

भारतसँग जसप्रित बुमराह र मोहम्मद सामीजस्ता घातक बलरहरू छन् । यता, इतिहासदेखि नै बलिङमा उत्कृष्ट रहँदै आएको पाकिस्तानमा पनि घातक बलरहरूको कमी छैन ।  

इतिहास 

आईसिसी एकदिवसीय विश्वकप र टी–२० विश्वकप समेत जोड्दा दुई टिमबीच १२ पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये सबै खेल भारतले जितेको छ । सन् २००७ को टी–२० विश्वकपमा खेल बराबरी भएपछि बल–अफबाट निर्णय लिइएको थियो, जसमा पनि भारत नै विजयी रह्यो । भारतले हासिल गरेका यी जीतमध्ये ७ वटा जीत एकदिवसीय खेलमा हो । टी–२० मा बल–अफ समेत जोड्दा उसले पाँचपटक पाकिस्तानलाई हराएको छ । 

मैदानको अवस्था 

यो खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ । यो त्यही रङ्गशालामा हो, जहाँ केही समयअघिमात्रै चेन्नई सुपर किंग्स् र कोलकाता नाइट राइडर्सबीच आईपिएलको फाइनल भएको थियो । यो मैदान ब्याट्सम्यानहरूका लागि अनुकूल मानिन्छ । त्यही कारण पहिले ब्याटिङ गर्ने टोलीले ठुलो स्कोर खडा गर्ने अपेक्षा गरिएको छ । खेल हुने समय यस रङ्गशालाको तापक्रम ३१ डिग्री सेल्सिल्स र आद्रता ६२ प्रतिशत रहने अनुमान गरिएको छ । त्यसै गरी हावाको रफ्तार १४ किलोमिटर प्रतिघण्टा रहने पूर्वानुमान गरिएको छ । यस्तो मौसम क्रिकेट खेलका लागि निकै उत्कृष्ट हो । 

यस्ता छन् स्टार खेलाडी 

भारतका ओपनर केएल राहुलले ४८ टी २० खेलमा १५ सय ५७ रन बनाइसकेका छन् । यस सिजन आईपिएलमा उनले पञ्जाब किंग्सबाट निकै उत्कृष्ट प्रदर्शन गरेका थिए । अर्का ओपनर रोहित शर्मा सीमित ओभरको क्रिकेटमा अति विस्फोटक ब्याट्सम्यानमध्ये एक हुन् । उनले १ सय ११ टी २० क्रिकेटमा २८ सय ६४ रन बनाइसकेका छन् । त्यही कारण, भारतको ओपनिङ जोडी निकै उत्कृष्ट मानिन्छ । 

पछिल्लो पटक कप्तान विराट कोहलीले भारतका लागि उत्कृष्ट खेल्न संघर्ष गरिरहनु परेको छ । तर ८९ टी २० खेलमा ३ हजार १ सय ५९ रन बनाइसकेका कोहली जुनसुकै समय पनि चम्कन सक्छन् । 

पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान यस वर्ष निकै फर्ममा छन् । उनले आफ्नो करियरमा ४३ टी २० खेलमा १ हजार ६५ रन बनाएका छन् । पाकिस्तानी कप्तान बाबर आजमको तुलना कोहलीसँग हुने गर्छ । उनले ६१ टी २० खेलमा २२ सय ४ रन बनाइसकेका छन् । दायाँ हाते ब्याट्सम्यान तथा अलराउन्डर मोहम्मद हाफिजसँग ठूला खेलको राम्रो अनुभव छ । उनले १ सय १३ टी–२० खेलमा २ हजार ४ सय २९ रन बनाइसकेका छन् । उनी विश्वकपमा भारतविरुद्धको पाकिस्तानको हारको शृङ्खलालाई तोड्न चाहन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप