ad

ज्येष्ठ नागरिक कोभिडको टार्गेट बन्दै, यु-टर्नको सङ्केत ?

person explore access_timeकात्तिक ७, २०७८ chat_bubble_outline0

नेपाल बिस्तारै पोस्ट भ्याक्सिनेशन-एरा तिर लम्कँदै छ । आजको मितिसम्म लक्षित जनसङ्ख्याको (१८ वा सो भन्दा माथि उमेरका) झन्डै ३२ प्रतिशतले दुई मात्रा पूर्ण खोप लगाई सकेको तथ्याङ्कले देखाउँछ । खोप अभियानले निरन्तरता पाउने हो भने अबको केही महिनामा नेपाल पोस्ट भ्याक्सिनेशन-एरामा प्रवेश गर्नेछ। तर नयाँ भाइरस, खोपहरू नयाँ नयाँ भएकाले नवीन जानकारी/अनुसन्धानहरूका नतिजाहरू आउने क्रम जारी रहँदै गर्दा पोस्ट भ्याक्सिनेशन-एरामा देखिन सक्ने चुनौतीको बारेमा भने अहिले नै हामी अनभिज्ञ छौँ । तर पछिल्लो समय खोप अभियानले तीव्रता/निरन्तरता पाइरहँदा लेखकले चाखलाग्दो तर चिन्ताजनक अब्जरभेसन गरेको छ। त्यो भनेको पछिल्लो एक महिनाको तथ्याङ्क विश्लेषण गर्दा अस्पतालमा कोभिड-१९ को कारणले मृत्यु हुनेहरूमा ज्येष्ठ नागरिकहरूको अत्यधिक मृत्यु हुनु हो । अर्थात् कोभिडले हाल ज्येष्ठ नागरिकहरूलाई आफ्नो टार्गेट बनाउँदै गइरहेको देखिन्छ । दोस्रो लहरमा युवाहरू कोभिडको टार्गेटमा बढी परेका थिए,भने ज्येष्ठ नागरिक पहिलो लहरमा थिए । तर, फेरि ज्येष्ठ नागरिकहरू कोभिडको टार्गेटमा पर्दै जानुले पहिलो लहरतिर यु-टर्नको सङ्केत त होइन भन्ने देखिन्छ


केही दिन अगाडी एक परिचित ज्येष्ठ नागरिकको मृत्यु कोभिड-१९ को कारणले भयो।नेपालमा खोप अभियानले एक वर्ष छुनै लाग्दा पनि सो मृतकले खोप भने लगाएका थिएन। आफू घर बाहिर ननिक्लने र खोप लगाउने ठाउँसम्म (टाढा भएकोले) जान पनि असमर्थ भएको कारणले खोप नलगाउँदा सो व्यक्तिले मृत्युवरण गर्नु परेको थियो। त्यस्तै, साठी वर्ष नाघिसकेका एक दम्पती कोरोना सङ्क्रमित भएर परामर्शको लागि अस्पताल आइपुगेका थिए । चाखलाग्दो कुरा के थियो भने उनीहरू दुवैले पनि खोप लगाएका थिएनन् । नलगाउनुको कारण खोप लगाउन नपाएर वा खोप केन्द्रसम्म जान नसक्ने भएर भने थिएन । यी त प्रतिनिधि घटनाहरू मात्र हुन्, तर समाजमा यस्ता धेरै ज्येष्ठ नागरिकहरूले विभिन्न कारणहरूले गर्दा अझै खोप नलगाएका हुन सक्दछन्, जसको हामीसँग यकिन लेखाजोखा पनि छैन । अस्पतालमा पनि मृत्यु भएका लगभग सबैजसो ज्येष्ठ नागरिकहरूले खोप लगाएका देखिँदैन ।



नेपाल बिस्तारै/छिट्टै पोस्ट भ्याक्सिनेशन-एरामा प्रवेश गर्दै गर्दा देखिन सक्ने नयाँ नयाँ चुनौतीहरूको विश्लेषण गर्दै समाधान तिर पनि जान जरुरी भैसकेको देखिन्छ । हाल विकसित देशहरू पनि यस्तै विश्लेषणहरूमा व्यस्त देखिन्छन् । किनभने कोरोना भाइरस र कोभिड-१९ विरुद्धको खोपको बारेमा अहिले पनि र अझै धेरै तथ्यहरू आउने र बुझ्ने क्रम जारी छ।        



खोप लगाउनु भनेको सङ्क्रमण नहुनु होइन, सङ्क्रमित भएपछि हुनसक्ने जटिल अवस्था वा मृत्यु हुने सम्भावनालाई कम गर्नु हो । कुनै पनि खोप शत प्रतिशत प्रभावकारी भने हुँदैन । तसर्थ कोभिडको पूर्ण मात्रा खोप लगाएकाहरू सङ्क्रमित भए सबैको मृत्यु हुँदै हुँदैन भनेर भन्न सकिँदैन । अमेरिकामा गरेका केही अनुसन्धानहरूले  कोभिडको पूर्ण मात्रा खोप लगाएका मृतकहरू मध्यमा सबैभन्दा धेरै ज्येष्ठ नागरिकहरू (६५ वर्ष माथिकामा) नै देखिएका छन् । यी नतिजाहरूले पोस्ट भ्याक्सिनेशन-एरामा पुगेपछि पनि वृद्धहरू उच्च जोखिममा रहिरहन सक्ने भन्ने देखाएको हो । दीर्घ रोगी हुनु, एन्टीबडी राम्ररी विकसित हुन नसक्नु, समय क्रमसँगै एन्टीबडी खस्कँदै जानु यस पछाडिका मुख्य कारणहरू मध्यका हुन सक्दछन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि काठमाडौँमा गरेको सर्भेमा पूर्ण खोप लगाएका दीर्घ रोगीहरूमा कोभिड-१९ विरुद्धको एन्टीबडी तुलनात्मक रूपमा कममा मात्र विकास हुने देखाएको थियो । यसले ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिनु पर्ने/दिने भए कहिले उपयुक्त हुने भन्ने जस्ता बहसहरू गर्ने समय भैसकेको सङ्केत गर्दछ । यद्यपि यो भन्दै गदै एक मात्रा डोज समेत नपाएकाहरूलाई भने पहिलो प्राथमिकतामा राख्नुपर्दछ ।                      



नेपालमा अझै ठुलो सङ्ख्यामा ज्येष्ठ नागरिकले खोप नलगाएका हुन सक्दछ । अस्पतालको तथ्याङ्क हेर्दा कोभिड-१९ का मृतकहरूमा झन्डै ८५ प्रतिशत त ६० वर्ष माथिका मात्रा देखिन्छन्, जुन अत्यधिक धेरै तर दुःखदायी कुरा हो । दोस्रो लहरको चरम-उत्कर्षमा पुग्दा मृतकको जमातमा धेरै युवाहरू देखिन्थे भने हाल खोप अभियानले तीव्रता लिँदै गर्दा युवा भन्दा ज्येष्ठ नागरिकले मृतकको तथ्याङ्क थप्ने काममा अग्रसरता लिँदै गइरहेको देखिन्छ । कोभिड-१९ विरुद्धको खोप लिन नपाएका वा विभिन्न कारणले लिने इच्छा नदेखाउनेहरूलाई सम्बोधन गर्न उचित उपायहरू निकाल्न जरुरी भैसकेको देखिन्छ। त्यस्तै, दुई मात्रा पूर्ण खोप लगाएका कोभिड मृतकहरू मध्यमा पनि ज्येष्ठ नागरिकहरू नै बढी हुने गरेका विभिन्न अध्ययनहरूको आधारमा अमेरिकी संस्था सिडीसीले  उल्लेख गरेका छन् । लेखकको केही मृतक आफन्तहरुसँगको कुराकानीबाट ज्येष्ठ नागरिकहरू कोठाबाट बाहिर ननिक्लने भएकोले कोरोना आफूसम्म नपुग्ने विश्वास गर्दो रहेछ भने बढी बाहिर भिडभाडमा जानेहरू लाई मात्रा कोरोना लाग्दछ भन्ने विश्वास रहेछन् । त्यस्तै शारीरिक कमजोरी वा असमक्षताको कारणले पनि खोप केन्द्रसम्म पुग्न नसकेको देखियो। खोपले फाइदाभन्दा बढी हानी गर्छ भन्ने अफवाह फैलँदा र त्यसलाई विश्वास गर्दा पनि खोप नलगाएका देखियो । यस्तो खोप बारेमा भ्रमको कारणले खोप नलगाएर दोस्रो लहरको उत्कर्षमा आपत्कालीन कक्षमा आइपुगेका धेरै ज्येष्ठ नागरिकहरूसँग लेखकको भेट भएको थियो । खोप वितरण केन्द्र पनि सबै ठाउँमा सामान नहुँदा पनि वृद्धहरू खोप लगाउनबाट वञ्चित भएका देखिन्छन् । यी केही लेखकले गरेका अब्जरभेशनहरू मात्र हुन, तर ज्येष्ठ नागरिकहरूले खोप नलगाउनुका कारण वा वञ्चित हुनुपर्ने अवस्थाको बारेमा अध्ययन गरी त्यसको समाधान गर्न जरुरी भैसकेको छ ।



अन्तमा, हाल कोरोनाले फेरि अर्को "ट्वीस्ट" लिएको देखिन्छ अर्थात् दोस्रो लहरको उत्कर्षमा पुग्दा देखिए जस्तो वयस्कहरू नभई हाल ज्येष्ठ नागरिकहरू कोभिड-१९ को कारणले मृत्युवरण गर्ने क्रमहरू बढ्दो देखिएको छ । यसको अर्थ वयस्कहरू कोभिड-१९ बाट पूर्ण जोखिम मुक्त छन् भन्न खोजिएको भने होइन । नेपाल बिस्तारै/छिट्टै पोस्ट भ्याक्सिनेशन-एरामा प्रवेश गर्दै गर्दा देखिन सक्ने नयाँ नयाँ चुनौतीहरूको विश्लेषण गर्दै समाधान तिर पनि जान जरुरी भैसकेको देखिन्छ । हाल विकसित देशहरू पनि यस्तै विश्लेषणहरूमा व्यस्त देखिन्छन् । किनभने कोरोना भाइरस र कोभिड-१९ विरुद्धको खोपको बारेमा अहिले पनि र अझै धेरै तथ्यहरू आउने र बुझ्ने क्रम जारी छ।        



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।