बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालको पहिलो थ्रिडी आर्ट म्युजियम

समुन्द्र, प्लेन, रेल, साझा बसदेखि लुम्बिनी अगाडिझैँ फोटो खिच्न सकिने (फोटो/भिडियो)
आइतबार, ०७ कात्तिक २०७८, ११ : १२
आइतबार, ०७ कात्तिक २०७८

थ्रिडी चित्रकलालाई व्यावसायीक रूपमा अगाडि बढाउन सकिन्छ भनेर लागिपरेका युवाहरूको समूहले थ्रिडी आर्ट म्युजियम सञ्चालनमा ल्याएका छन् ।  ललितपुरको महालक्ष्मी नगरपालिकाको इमाडोल वचु हाइट स्थित चार रोपनी क्षेत्रफल भित्र रहेको साँढे २ तलाको भवनको भित्री भाग पुरै थ्रिडी चित्रकलाले भरिएको छ । जहाँ २ सय बढी थ्रिडी चित्रहरू कोरिएका छन् । भवनको भित्रको भुईँ, भित्ता, भर्‍याङ लगायत कुनै स्थान खाली नराखी थ्रिडी चित्रकलाले भरिएको छ । 

अघिल्लो वर्ष चैत २५ गते मदनकृष्ण श्रेष्ठ, किरण केसी, सन्दीप क्षेत्री, अन्जु पन्त लगायतले उद्घाटन गरेको सो आर्ट म्युजियम दश पन्ध्र दिन खुला रहेपनि कोरोना सङ्क्रमण बढेका कारण वैशाखदेखि भएको निषेधाज्ञापछि बन्द भएको थियो । लकडाउन खुलेपछि गत असोजदेखि नियमित रूपमा सञ्चालनमा आएको वन डे थ्रिडी आर्टका प्रबन्ध निर्देशक सुन्दर विष्टले जानकारी दिए । 

१२ हजार स्क्वायर फिटमा फैलिएको विल्डिङ्को भित्रको पुरै भागमा १४ जना चित्रकारले ८ महिना लगाएर थ्री डि चित्र कोरेका थिए । यो म्युजियममा सबै नेपाली कलाकारहरूले चित्र बनाएका हुन् । कतिपय कलाकार विदेशमा गएर प्रशिक्षण लिएका आएका थिए ।

चित्रमा समुन्द्र, रेल, प्लेन, डुङ्गादेखि साझा बससम्म 

थ्रिडी चित्र अगाडि उभिएर फोटो वा भिडियो खिच्दा वास्तविक स्थानमै पुगेको अनुभूति गराउने म्युजियममा साझा बस, नेपाल एयरलाइन्सको विमान, समुन्द्र, डुङ्गा चढेर लुम्बिनी पुगिने कला, धान रोपाइँका क्रममा गोरु जोतेको अनुभूति, बालबालिकाहरूका लागि मनोरञ्जन दिने छुट्टै थ्रिडी आर्ट कोठा रहेको छ । 

एउटा कोठाभित्र छिरेपछि समुन्द्रभित्रको दृश्यको अनुभूति गर्न पाइने कला प्रस्तुत गरिएको छ जहाँ पातमा तैरिएको अवस्था देखिने गरी फोटो तथा भिडियो खिच्न सकिने छ । म्युजियम घुम्नका लागि एउटा दर्शकलाई औसतमा ३ घण्टा समय लाग्ने र फोटो  तथा भिडियो खिच्दै घुम्दा ४ देखि ५ घण्टासम्म समय बिताएको विष्टले बताए । उनी बाहेक अन्य ६ जना चित्रकार मिलेर सो म्युजियम सञ्चालनमा ल्याएको उनले बताए । 

विगत ७ वर्षदेखि थ्रिडी आर्टको क्षेत्रमा काम गरेको अनुभव सहित थ्रिडी आर्टलाई नयाँ ढङ्गले अघि बढाउनका लागि नयाँ कामको सुरुवात गरेको उनले बताए । जसको प्रेरणा भने थाइल्यान्ड भ्रमणको क्रममा प्राप्त गरेको विष्टले उल्लेख गरे । 

उनले भने–‘सन् २०२० को नेपाल भ्रमण वर्षको पूर्व सन्ध्यामा हामी नेपाल सरकारको प्रतिनिधित्व गरेर थाइल्यान्डको बैंकक गएका थियौँ । त्यहाँ नेपाली राजदूतावास भवनको पर्खालमा हामीले नेपाली कला संस्कृति झल्कने एउटा पेन्टिङ गर्‍यौँ  । त्यहाँ पुगेका बेला हामीसँग जोडिएको के कुरा हुन सक्छ भनेर खोज्दा बैंककमा थ्रिडी चित्रकलाको एउटा संग्राहालय भेट्यौँ । त्यो संग्राहालय देखेपछि नेपाल आएर हामीले ललितपुरको कुमारीपाटीमा पहिलो थ्रिडी आर्ट रेस्टुरेन्ट खोल्यौँ । त्यो रेस्टुरेन्टमा समुन्द्रभित्र बसेर खाना खाएको अनुभूति, भूत घरमा बसेर खाना खाएको अनुभूति लगायतका भिन्न किसिमका अनुभूति दिलाएका थियौँ । त्यो रेस्टुरेन्ट खोलिसकेपछि त्यहाँ आउने मान्छेहरूले हामीलाई ठुलो ऊर्जा दिनुभयो । हाम्रो यो कामलाई एकदम सकारात्मक रूपमा लिइदिनुभयो । त्यहीँबाट प्रेरित भएर हामीले यो म्युजियम खोलेका हौँ ।’

भवनको माथिल्लो भागमा रेस्टुरेन्ट सहित सुरुमा डिपिआर गर्दा २ करोड लागतको योजना बनेको थियो । कोरोनाका कारण रेस्टुरेन्ट भने सञ्चालन हुन सकेको छैन । चित्रकलाका लागि मात्रै डेढ करोड रुपैयाँ खर्च भएको उनले बताए । 

ग्यालरी घुम्न आउने यात्रीहरूले कोरोनापछि थोरै भए पनि पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याएको भन्ने जस्ता प्रतिक्रिया दिने गरेकाले पनि थप हौसला मिलेको विष्टले बताए ।  

उनले भने–‘बाह्य पर्यटकहरूलाई नेपाल घुम्नका लागि धार्मिक संस्कृति सम्पदा, प्राकृतिक सम्पदालाई मात्र लिइन्थ्यो । नेपाल हेर्न किन आउने भन्दा हिमाल हेर्न  आउने, ताल तलैया हेर्न आउने, तर अब यो कामले नेपाल अव अलि भिन्न रूपले पनि चिनाउन सहयोग पुग्नेछ । भारतबाट नेपाल घुम्न आउने धेरै पर्यटक यहाँ पनि घुम्न आउनुभएको छ । पर्यटन प्रवर्द्धनका लागि हामीले गरेको कामले नयाँ परिभाषा दिएको छ भनेर अवलोकनकर्ताबाट आउने प्रतिक्रियाले हामीलाई थप हौसला समेत दिने गरेको छ ।’

आजभोलि दैनिक ८० जनादेखि १ सय जनासम्मले म्युजियम घुम्ने गरेको उनले बताए । वयस्कका लागि ४ सय रुपैयाँ, १० कक्षासम्मका विद्यार्थीका लागि ३ सय रुपैयाँ, अपाङ्ग, असक्त, ज्येष्ठ नागरिक, पत्रकार लगायत निश्चित क्षेत्रका व्यक्तिका लागि भने केही छुटको व्यवस्था गरेको उनले बताए । 

उनले थ्रिडी आर्ट म्युजियम हप्ताभरि काम गरेर ‘मोनोटोनस’ भएका विभिन्न निजी तथा सरकारी कार्यालयमा काम गर्ने कर्मचारीका लागि रिफ्रेशमेन्टका लागि पनि उपयोगी हुने उनले बताए । उनले भने–‘कम्प्युटरमा काम गर्दा गर्दा ङ्याङ भएका व्यक्तिहरूलाई एक दिन मात्रै भए पनि रिफ्रेस हुनका लागि उपयोगी हुन सक्छ । एउटा परिवारका सम्पूर्ण सदस्य एकैपटक आएर मनोरञ्जन गर्न सक्ने थलोको रूपमा यसलाई हामीले विकास गरेका छौँ ।’

कतिको खर्चिलो हुन्छ ? चित्रकलाका लागि लगाउने समय, कलाका आधारमा  एक सय स्क्वायर फिटको पर्खालमा १५ हजार रुपैयाँदेखि डेढ–दुई लाखसम्मको खर्च लाग्ने उनको भनाई छ । थ्रिडी आर्टको क्षेत्रमा काम गर्नेहरूको सङ्ख्या धेरै नभएका कारण पनि अलि खर्चिलो रहेको उनले बताए । 

७ वर्ष अगाडिदेखि नै संस्थागत रूपमा थ्रिडी आर्टको काम गर्दै आएका कारण पनि यस्तो नयाँ प्रकारको काम गर्न सहज भएको उनले बताए । ग्यालरी सञ्चालनका लागि ४ रोपनी क्षेत्रमा रहेको साढे २ तले भवन भाडामा लिइएको छ । जसको मासिक भाडा साढे ३ लाख रहेको छ । ग्यालरी सञ्चालन नआउँदै २ वर्षको भाडा तिरिएको उनले बताए । ​थ्रिडी चित्रकलाको विकासले गर्दा चित्रकलालाई हेर्ने मान्छेको दृष्टिकोण परिवर्तन हुने उनको अपेक्षा छ ।  

विष्टले भने–‘कसैको बच्चाले म चित्रकार बन्छु भन्दा नरोक्ने अवस्था पनि आउँछ । हिजोसम्म त चित्रकार बनेर अथवा भित्तामा चित्र कोरेर, क्यानभासमा चित्र कोरेर के व्यावसायिक बन्न सकिएला र भन्ने थियो । हामीले गरेको यो कामले पनि त्यो परिभाषा परिवर्तन गर्न केही सहयोग पुगेको छ । भोलिका दिनमा कलाकार नै भएर महिनाको दुई तिन लाख कमाउन सक्छु भन्ने अवस्था चाहिँ आउन सक्छ ।’

ग्यालरी घुम्न आउने व्यक्तिलाई घुम्न तथा फोटो खिचिदिनका लागि सहयोगीको व्यवस्था समेत गरेको उनले बताए । 

हेर्नुहोस् भिडियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप