बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

१९ वर्षमै एमालेको वडा सचिव भएकी झरना चौधरीको यस्तो छ योजना

सोमबार, ०८ कात्तिक २०७८, ०६ : ४६
सोमबार, ०८ कात्तिक २०७८

नेकपा एमालेको प्रथम वडा अधिवेशनबाट रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ को पार्टी सचिवमा निर्वाचित १९ वर्षीय झरना चौधरी अहिले चर्चाको शिखरमा छिन् । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयबाटै भर्चुअल माध्यमबाट वडा अधिवेशन उद्घाटन गरेसँगै देशभरका ६ हजार ७४३ वडाको अधिवेशन भएको थियो । त्यसमध्ये चौधरी पनि वडा सचिवमा निर्वाचित भएकी हुन् ।

लुम्बिनी सांस्कृति नगरपालिका–६, पर्सा घर भएकी चौधरी सर्वसम्मत् रुपमा वडा सचिव चुनिएकी हुन् । लुम्बिनीमा जन्मिए पनि बुटवलमा आमाबुबासँगै बसेर विद्यालयदेखि उच्चमाविसम्म अध्ययनसँगै विद्यार्थी राजनीतिमा संलग्न चौधरी कम उमेरमा वडा सचिव बन्न सफल भएकी हुन् ।

चौधरीलाई सामाजिक सञ्जालदेखि फोनमा समेत बधाईको ओइरो लागेको छ । बुटवलको योगीकुटीमा रहेको जनजागृति माविबाट एसएलसी पास गरेपछि बुटवलकै कालिका उच्च माविबाट कक्षा १२ पास गरेकी उनी लुम्बिनी विश्वविद्यालयमा स्नातकमा अध्ययनरत छिन् ।

चौधरीले अनेरास्ववियु रुपन्देही जिल्ला कार्यसमितिको सहसचिवको जिम्मेवारी पनि सम्हालेकी छन् । उनले रातोपाटीसँग भनिन्, ‘अनेरास्ववियुको जिल्ला सदस्य हँुदै अहिले जिल्ला सहसचिवको जिम्मेवारीमा छु । हिजो (शनिबार) बाट पार्टीको वडा सचिव बनेकी छु, यसले थप जिम्मेवारी प्रदान गरेको छ ।’

उनको पारिवारिक पृष्ठभूमि चाहिँ राजनीतिभन्दा बाहिर छ । उनका बुबा मेकानिकल हुन् । उनी हाल लुम्बिनीबाटै दैनिक बुटवलसम्म आउनेजाने गर्दछन् । बुवाआमाकी एक्ली छोरी झरनाले विस्तारै राजनीतिक सफलता प्राप्त गर्दै जाँदा बुबाआमा पनि खुशी भएको बताइन् ।

उनले भनिन्, ‘सुरुमा मैले राजनीति गरेको आमाबुबाले मन नपराए पनि अहिले एकपछि अर्को सफलता मिल्दा खुशी हुनु भएको छ ।’ बुबाआमाकै सहयोगबाट आफू सचिव बन्न सफल भएको उनले बताइन् ।

एमालेको संगठन बलियो बनाउन आफूले ध्यान दिने उनको भनाइ छ । पार्टी छाडेर गएकाहरुलाई सम्झाई बुझाई गर्दै फर्काउन आफूले पहल गर्ने पनि उनले बताइन् ।

भविष्यमा अध्ययनसँगै राजनीति पनि अगाडि बढाउँदै देश विकास गर्ने आफ्नो सपना रहेको उनले रातोपाटीलाई बताइन् ।

विकासका काम गर्नका लागि पनि दलहरुबीच सहमति र सहकार्य गरेर अगाडि जानुको विकल्प नभएकाले आफूहरु जस्ता युवा पुस्ताले राजनीतिमा चासो दिनुपर्ने उनको भनाइ छ । ‘सके आफै राजनीति गर्नुहोस्, नत्र भने चासो दिएर देशलाई सही दिशामा लैजाने काममा मद्दत गर्नुहोस्’, युवालाई उनको सुझाव छ ।

उनले अहिले विकास गर्न सक्ने र समाज बदल्न सक्ने पार्टी एमाले भएकाले आफूहरुजस्ता धेरै युवालाई तानेको दाबी गरिन् । युवाको सपना पार्टीभित्र स–साना मतभेदभन्दा पनि संगठनलाई मजबुत बनाउँदै विकास निर्माणमा केन्द्रित हुने रहेको उनले बताइन् ।

युवाले अरुलाई दोष दिनुभन्दा पनि आफै अग्रसर भएर देश बनाउन लाग्नुपर्नेमा उनले जोड दिइन् । देशभर एकसाथ सम्पन्न भएको अधिवेशनबाट कार्यकर्ता र नेतृत्वबीच विवादरहित तरिकाले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सफल भएको भन्दै उनले पार्टीमा एकता मजबुत तुल्याउन सफल भएको बताइन् ।

संगठन बलियो बनाउँदै विकासको काम गर्नु सबैको दायित्व रहेको उनको बुझाइ छ । युवाहरुलाई राजनीतितर्फ तानेर नै विकासका काम गर्न सकिने उनले बताइन् ।

उमेरभन्दा पनि काम गर्ने शैली र व्यवहारले समाज बदल्न सक्ने धेरै अध्ययनले देखाएको भन्दै उनले सबैले जिम्मेवारीपूर्वक काम गर्नु नै पार्टीको हितमा हुने बताइन् । उनले राजनीति गर्दा आफ्नो पढाइलाई कुनै असर नगरेको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप