बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर नगर प्रहरी ऐतिहासिक सम्पदामा खोलिएका पसल हटाउँदै (भिडियो)

सोमबार, ०८ कात्तिक २०७८, १० : २९
सोमबार, ०८ कात्तिक २०७८

ललितपुर महानगरपालिकाले महानगरभित्रका सम्पदाको संरक्षणका लागि फुटपाथ पसल हटाउने अभियान सञ्चालनमा ल्याएको छ । अतिक्रमित सम्पदामा सञ्चालन भएका कपडा तथा तरकारी पसलहरू महानगरका प्रमुख चिरिबाबु महर्जनको निर्देशनमा शनिबारदेखि हटाउन थालिएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई बताए । 

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रभित्रका पाटीपौवा, सार्वजनिक स्थल अतिक्रमण हुँदै आएकोमा ऐतिहासिक महत्त्व बोकेका सम्पदाहरूको विनाश रोक्न यो अभियान सञ्चालनमा ल्याएको नगर प्रहरी प्रमुख हाछेथु बताउँछन् । 

विशेष गरी ललितपुर महानगरभित्रका फल्चाहरुमा कपडा र तरकारी पसल सञ्चालन हुँदै आएका छन् । उक्त फल्चामा स्थानीय समितिले पसल खोल्न महिनावारी रकम असुलेर भाडामा दिने गरेको भेटिएको उनले बताए । 

उनले मंगलबजारभित्र १५० वर्ष पुरानो फल्चा रहेको जानकारी दिए । उक्त फल्चालाई कृष्ण पार्टी भनेर चिनिन्छ । महिनामा एकपटक भजन कार्यक्रम हुने उक्त फल्चा अतिक्रमण गरी पसल थापिएको र त्यसलाई हटाउने काम भएको पनि उनले बताए । उनले मंगलबजार वरिपरि रहेका पसल, टंगालको मन्दिरपेटीमा राखिएका तरकारी र कपडा पसल, लगनखेलबाट मंगलबजार जाने बाटोमा रहेको इतिटोलमा थापिएका पसलहरू हटाएको जानकारी दिए । 

नगर प्रहरीले शनिबार र आइतबार गरी विभिन्न १४ वटा सम्पदा अतिक्रमण गरेर सञ्चालनमा आएका पसल उठाउने काम गरेको छ । नगर प्रहरीले सम्पदाको संरक्षणका लागि अतिक्रमण हटाउने मात्र नभई सरसफाइ र संरक्षणका गतिविधि सञ्चालन थालेको नगर प्रहरी प्रमुख हाछेथुले बताए ।

ऐतिहासिक सम्पदाहरू हेर्न नमिल्ने गरी पसलहरू राखिँदा पर्यटन र ऐतिहासिक स्थलको महत्त्व घट्ने उनको भनाइ छ । उनले ललितपुर महानगरभरिका सम्पदामा भएका अतिक्रमण हटाउन मेयर महर्जनले दिएको निर्देशनअनुसार नगर प्रहरी परिचालन हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप