शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मङ्सिर र पुसमा बाघ गणनाको तयारी

सोमबार, ०८ कात्तिक २०७८, १० : ३३
सोमबार, ०८ कात्तिक २०७८

राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ । नेपालमा हरेक चार/पाँच वर्षका अन्तरमा गणना गरिन्छ ।

यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ  । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गरिन लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हिउँदका समयमा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयुक्त मानिन्छ । झाडी सुक्दै गए पछि बाघ घाँसे मैदानमा बस्ने हुँदा गणना कठिन हुने उनको भनाइ छ ।

उनले भने, ‘पुस महिनाभित्रमा सम्पन्न गर्ने गरी बाघ गणना गर्ने तयारी गरिएको छ । क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ ।’ दुई/दुई ग्रिडअर्थात् चार वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राख्ने गरिन्छ । कम्तिमा दुई हप्ता क्यामेरा राख्नुपर्ने उनको भनाइ छ ।

चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र शुक्ला र नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर गणना गरिँदै छ । सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ बयस्क बाघ फेला परेका थिए । तत्कालीन समयमा चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । यो सङ्ख्या बढेको अनुमान छ ।

सन् २०१० मा रसियाको सेन्ट पिटर्सबग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पुर्याउने प्रतिबद्धता व्यक्त गरेको थियो । तत्कालीन समयमा नेपालका निकुञ्जमा १२१ बाघ रहेको तथ्याङ्क थियो । दोब्बरभन्दा बढी सङ्ख्या बनाउने नेपालको प्रतिबद्धता पूरा हुनेमा संरक्षण विधि विश्वस्त छन् । नेपालमा हरेक चार÷पाँच वर्षको अन्तरमा बाघ गणना गर्ने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप