शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणकाजी र मातृकाले एक अर्कामाथि लगाए गुटबन्दीको आरोप

प्रचण्डले भने– गुटबन्दी गर्नेलाई पार्टीले कारबाही गर्छ
सोमबार, ०८ कात्तिक २०७८, १० : ४५
सोमबार, ०८ कात्तिक २०७८

‘गुटबन्दी गर्नेलाई पार्टीले अब सिधै कारबाही गर्छ, चाहे जोसुकै होस्, पार्टीको विधि र पद्धतिअनुसार पठाइएको सर्कुलर अनुरूप संगठन निर्माण गर्नुस्, नत्र कारबाही भोग्नुस् । गुटबन्दीले पार्टीलाई कमजोर बनाउँदैछ ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ का पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकमा आइतबार दिएको निर्देशनात्मक अभिव्यक्ति हो यो । गुटबन्दीले गर्दा पटक पटक विवादमा रुमल्लिने गरेको प्रदेश २ को पार्टी संगठनका बारेमा अध्यक्ष प्रचण्डले त्यहाँका पदाधिकारी तथा केन्द्रीय सदस्यसँग दुई दिन छलफल गरे ।

छलफलको अन्तिम दिन आइतबार अध्यक्ष प्रचण्डले आफ्नो धारणा राख्दै प्रदेश २ मा पार्टीभित्र धेरै गुटबन्दी भएको बताए । उनले भने, ‘गुटबन्दीले धेरै बदनाम पनि भयो, ज–जसले गुटबन्दी गरिरहेका छन्, आजैको मितिबाट त्यसलाई त्याग गरी पार्टीलाई विधि र पद्धतिबाट सञ्चालन गर्नुस् ।’ प्रदेश कमिटीले गरेको निर्णय र निर्देशन अनुसार प्रदेशमा माओवादी संगठन अगाडि बढ्ने भन्दै अध्यक्ष प्रचण्डले कुनै पनि नेता प्रदेशमा जाँदा प्रदेश कमिटीलाई जानकारी गराएर मात्र जान निर्देशनसमेत दिए ।

‘केन्द्रबाट कुनै पनि नेता कार्यक्रम लिएर प्रदेश २ मा जाँदा प्रदेश समितिलाई जानकारी गराउनुपर्छ, प्रदेश समितिबाट हुने कार्यक्रमका आधारमा सहभागी हुनुपर्छ,’ उनले भने, ‘प्रदेश २ का नेताहरू आफूखुसी गएर संगठन बनाउने, सदस्यता बाँड्ने, पार्टी प्रवेश गराउने, उद्घाटन गर्ने, गुटगत बैठकहरू गर्ने गरेको पाइन्छ, अब आइन्दा त्यस्तो काम गरेको पाइएमा कारवाहीको भागिदार बन्नुपर्छ ।’

प्रचण्डले यस्तो निर्देशन दिइरहँदा मातृका यादव भने बैठकमा उपस्थित थिएनन् । प्रभु साहले माओवादी केन्द्र छाडेपछि मधेसमा नारायणकाजी श्रेष्ठ र मातृका यादवले गुट सञ्चालन गरिरहेको आरोप लाग्दै आएको छ । यसबारे बैठकमा कुरा पनि उठेको स्रोतको भनाइ छ ।

नारायणकाजी श्रेष्ठले पूर्वजनमोर्चालाई संरक्षण गर्छन् भने मातृका यादवले आफ्ना गुटका खासगरी विगतमा माओवादीबाट अलग हुँदा उनलाई साथ दिएका नेता तथा कार्यकर्तालाई संरक्षण गरिरहेका छन् ।

छलफलमा अधिकांश नेताले प्रदेश २ मा गुटबन्दी भएको गुनासो गरेको केन्द्रीय सदस्य रामकुमार शर्माले बताए । प्रदेश २ मा दुईटा गुट चलिरहेको र कुनै पनि गुटमा नभएका नेता तथा कार्यकर्ताको अस्तित्व नै संकटमा परेको गुनासो आफूले बैठकमा राखेको उनको भनाइ छ ।

बैठकमा सहभागी अर्का एक नेताका अनुसार नारायणकाजी श्रेष्ठ र मातृका यादवले एक अर्कालाई गुटबन्दी गरेको आरोप बैठकमै लगाएका थिए । मातृका यादवले प्रदेश २ मा नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले पूर्वजनमोर्चाको गुट बनाउने गरेको आरोप लगाएका थिए ।

नारायणकाजी र मातृका यादवले चलाएका दुईटा गुटमध्ये कुनै गुटमा आफू नरहेको बताउँदै उनले आफूजस्ता थुप्रै नेता कुनै गुटमा नरहेको बताएका थिए । आफूजस्ता गुटविहीनका बारेमा पार्टीले सोच्नुपर्नेमा उनले नेतृत्वको ध्यानाकर्षण गराए ।

अर्का केन्द्रीय सदस्य रामेश्वर राय यादवले प्रदेश २ मा गुट सञ्चालन भइरहेको कुरा पार्टी अध्यक्ष प्रचण्डले पनि महसुस गरेको बताए । त्यहीअनुसार आज अध्यक्ष प्रचण्डले निर्देशनात्मक धारणा  राखेको उनको भनाइ छ ।

छलफलको अधिकांश समय प्रदेश २ मा विद्यमान गुटबन्दीमै केन्द्रित रहेको उनले रातोपाटीलाई बताए । प्रदेश २ मा देखिएको गुटबन्दी अन्त्य गर्न अध्यक्ष प्रचण्डलाई नेताहरूले आग्रह गरेको जानकारीसमेत उनले दिए ।

बैठकमा सहभागी अर्का एक नेताका अनुसार नारायणकाजी श्रेष्ठ र मातृका यादवले एक अर्कालाई गुटबन्दी गरेको आरोप बैठकमै लगाएका थिए । मातृका यादवले प्रदेश २ मा नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले पूर्वजनमोर्चाको गुट बनाउने गरेको आरोप लगाएका थिए ।

स्रोतका अनुसार यादवले जहाँ पनि पूर्व जनमोर्चाका नेताहरूलाई सिफारिस गर्ने काम भइरहेको, माओवादी पार्टी र जनमोर्चाबीच एकीकरण भएको यत्रो दिन भइसक्दा पनि अझै जनमोर्चा जीवित रहेको र भागबण्डा पाइरहेको चर्चा गरेका थिए ।

यसरी गुटबन्दी बनाउन बन्द नगरे आफूले पनि समानान्तर कमिटी बनाएर अगाडि बढ्ने चेतावनीसमेत उनले दिएको स्रोत बताउँछ । ‘पूर्व जनमोर्चालाई मात्र संगठनमा राख्ने हो भने बाँकी माओवादी केन्द्रका नेताहरूले के गर्ने भन्ने पनि छिनोफानो हुनुपर्‍यो या त्यहाँ आरक्षित गर्नुपर्‍यो,’ यादवको भनाइ थियो ।

जवाफमा नारायणकाजी श्रेष्ठले आफूबाट गुटबन्दी नभएको बताएका थिए । प्रदेश २ मा मातृका यादवले नै गुटबन्दी गरिरहेको  छर्लङ्ग भएको भन्दै उनले यसमा लुकाउने छिपाउने कुरा केही नरहेको बताएका थिए । उनले पार्टीमा पूर्व जनमोर्चा नरहेको र सबै माओवादी भइसकेको पनि प्रष्ट पारेका थिए । पार्टीमा जसले जति योगदान दिएका छन्, त्यसको आधारमा मूल्याङ्कन गरेर पार्टीले जिम्मेवारी दिने गरेको उनको भनाइ थियो ।

स्रोतका अनुसार मातृका यादवले गुटबन्दी गरेको भन्दै गिरिराजमणि पोखरेल, विश्वनाथ साहलगायतका नेताहरूले पनि आरोप लगाएका थिए । त्यस्तै मातृका यादवको पक्षबाट भरत साह, जगत यादवलगायतका नेताहरूले नारायणकाजी श्रेष्ठले गुटबन्दी गरेको आरोप लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप