मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेताको भारत भ्रमण : शेरबहादुर र शशांकलाई मिलाउने प्रयास ?

सोमबार, ०८ कात्तिक २०७८, २३ : ०३
सोमबार, ०८ कात्तिक २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मुखमा नेताहरूको भारत भ्रमण बाक्लिएको छ । आगामी मंसिर ९–१३ मा महाधिवेशन गर्ने तयारी भइरहँदा काँग्रेस नेताहरूले पालैपालो भारत भ्रमण गरिरहेका छन् । भदौको पहिलो साता १४ औँ महाधिवेशनमा सभापतिका दाबेदार वर्तमान उपसभापति विमलेन्द्र निधि भारत गएका थिए । भारतमा उपचाररत काँग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्ने भन्दै निधि भारत गएका हुन् ।

गिरीलाई भेट्न उपसभापति निधि जनकपुरबाट भारतको दरभंगा हुँदै मुम्बई गएका थिए । यसक्रममा निधिले राजनीतिक भेटघाट गरेको बताइए पनि को–कोसँग भेटवार्ता गरे भन्ने कुरा बाहिर आएन । त्यसपछि भारतीय सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) निमन्त्रणामा काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतका नेतृत्वको टोली असोजको तेस्रो साता भारत गयो । पार्टी–पार्टीबीचको सम्बन्ध सुधारका लागि भारत गएको महत नेतृत्वको टोलीले भाजपा र सरकारका प्रतिनिधिसँग भेटवार्ता गरेको थियो ।

 

महतको टोली फर्किएको एक महिना नपुग्दै शनिबार महामन्त्री शशांक कोइरालाको टोली भारत भएको छ । त्रिभुवन विमानस्थलबाट भैरहवा प्रस्थान गरेको महामन्त्री कोइरालाको टोली सडकमार्गबाट मुम्बई गएको हो ।

महामन्त्री कोइरालासँग केन्द्रीय सदस्य दीपक गिरी, नेपाली काँग्रेस सङ्खुवासभाका सभापति दीपक खड्का र कोइरालाका स्वकीय सचिव भरत तिवारी सहभागी छन् । कोइरालाको सचिवालयले मुम्बईमा उपचाररत काँग्रेस नेता प्रदीप गिरी र सांसद कर्मा घलेलाई भेट्न महामन्त्री कोइराला भारत गएको बताएको छ । काँग्रेस स्रोतका अनुसार महामन्त्री कोइराला पनि भाजपाको निमन्त्रणामा भारत गएको खुलेको छ ।

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेकै निमन्त्रणमा शशांक भारत गएको भारतीय सूत्रले पुष्टि गरेको छ । शशांकका विश्वासपात्रसमेत रहेका रक्षामन्त्री मिनेन्द्र रिजाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको तेस्रो दिन नै उनको टोली भारत गएको छ । रक्षा मन्त्रालयमा बिहीबार मन्त्री रिजाल र राजदूत क्वात्राबीच भेट भएको थियो  ।

मन्त्री रिजालले आफूलाई भारतीय राजदूत क्वात्राले भेटेमा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन । कोइरालाको भारत भ्रमण मन्त्री रिजाल र राजदूत क्वात्राबीच भएको भटेघाटबाटै तय भएको बुझिएको छ ।

कोइरालाको टोलीले भारतमा चौथाइवालेको समन्वयमा भाजपा अध्यक्ष जेपी नड्डा लगायतसँग भेटवार्ता गर्ने छ । सहमहामन्त्री कोइरालाको टोलीले पनि भ्रमणको सिलसिलामा भाजपाका अध्यक्ष नड्डा, केन्द्रीय महासचिव, भारतीय विदेशमन्त्री र उत्तर प्रदेशका मुख्यमन्त्रीसँग भेटवार्ता गरेको थियो ।

साथै, भाजपाको केन्द्रीय कार्यालयमा तीन घण्टा भाजपाको महिला मोर्चा, थिंक ट्याङ्क लगायतसँग अन्तरक्रिया पनि गरेको थियो ।

कट्टर हिन्दुवादी योगी आदित्यनाथसँग महतको टोलीले छलफल गरेर फर्किएपछि शशांकको भारत भ्रमण संयोग मात्र नभएको काँग्रेस नेताहरू बताउँछन् । कोइरालाले बेला–बेला हिन्दुराष्ट्रको विषय उठाउँदै आएका छन् ।

‘भाजपाका लागि कम्युनिस्ट पार्टी भन्दा काँग्रेस नै नजिक हुन सक्छ । त्यो दृष्टिकोण पार्टी टू पार्टी भेटघाटका लागि प्रयास गरेको देखिन्छ । पहिला त्यति राम्रो पनि थिएन,’ बराल भन्छन् ।

महत नेतृत्वको टोलीसँग उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राष्ट्रवादी नेपाल भारतको हितमा हुने भन्दै नेपाली काँग्रेस हिन्दु राष्ट्रको पक्षमा उभिनुपर्ने संकेत गरेका थिए । ‘उहाँले बलियो र राष्ट्रवादी नेपाल भारतको हितमा छ भन्नुभयो । उहाँले नेपाललाई हर तवरले सहयोग गर्न तयार रहेको भन्नुभयो । नेपालको सांस्कृतिक सामाजिक धेरै तहको अन्तरसम्बन्ध छ, नेपाल मजबुत बन्नुपर्छ भन्ने कुरा नै उहाँले गर्नुभयो,’ महतले रातोपाटीलाई भने । देउवा सरकार र नेपाली काँग्रेसलाई भारत सरकार र भाजपाले महत्त्व दिएको उनको भनाइ थियो ।

पूर्व राजदूत तथा राजनीतिक विश्लेषक लोकराज बरालले पनि भारतले काँग्रेससँग सम्बन्ध बढाउन सम्पर्क बढाएको बताए । ‘नेताहरूले आफ्नो सम्पर्क बढाउन खोजेको देखिन्छ । भाजपासँग काँग्रेस नेताहरूको त्यस्तो राम्रो थिएन । भाजपासँग राम्रो सम्बन्ध बनाउन खोजेजस्तो छ,’ उनले भने, ‘अस्ति नै सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा तीन जनाले भाजपाका अध्यक्ष, परराष्ट्रमन्त्री र उत्तर प्रदेशका मुख्यमन्त्री पनि भेट्नुभयो । भाजपा र नेपाली काँग्रेसले एक अर्काको साथ र सद्भाव खोजेको देखिन्छ ।’

साथै भाजपाका लागि पनि नेपालका कम्युनिस्ट पार्टीभन्दा नेपाली काँग्रेस नै नजिक रहेको बरालको भनाइ छ । ‘भाजपाका लागि कम्युनिस्ट पार्टी भन्दा काँग्रेस नै नजिक हुन सक्छ । त्यो दृष्टिकोण पार्टी टू पार्टी भेटघाटका लागि प्रयास गरेको देखिन्छ । पहिला त्यति राम्रो पनि थिएन,’ बराल भन्छन् ।

पूर्व राजदूत बरालका अनुसार त्यसको उदाहरण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनेको तीन–चार दिनपछि मात्रै बधाई दिनु हो । उनी भन्छन्, ‘०७४ को चुनावपछि मोदीले केपी ओलीलाई प्रधानमन्त्री नभई फोनबाट बधाई दिनुभयो । तत्कालीन विदेशमन्त्री सुस्मा स्वराजलाई पठाएर अस्वाभाविक महत्त्व दिनुभएको थियो । यसपालि मोदीले शेरबहादुरलाई त्यति राम्ररी रेस्पोन्स गर्नुभएको थिएन ।’ सत्तारुढ पार्टीसँग सम्बन्धन सुधारका लागि देउवा निकट महत नेतृत्वको टोली भारत भएको बरालको भनाइ छ ।

शेरबहादुर–शशांक मिलाउने भाजपाको प्रयास

काँग्रेसको १४ औँ महाधिवेशनमा भाजपाले शेरबहादुर देउवा र शशांक कोइरालालाई एक ठाउँमा उभ्याउने प्रयास गरेको काँग्रेसवृत्तमा चर्चा छ । नेताहरुका अनुसार काँग्रेसमा देउवा र शशांकको लय पनि मिल्छ र काँग्रेसभित्र देउवामाथि संस्थापन इत्तर पक्षले दबाबको रणनीति बनाउँदै शशांक रक्षाकवज बन्न थालेको देखिन्छ ।

भारतको सत्तारुढ पार्टी भाजपाले देउवा र शशांकलाई मिलेर जानुस् भन्नु स्वभाविक भएको पूर्व राजदूत बरालको बुझाइ छ । उनी भन्छन्, ‘पार्टीमा फरक समूहमा जस्तो देखिए पनि शेरबहादुर र शशांक एक अर्काप्रति नरम हुनुहुन्छ । उहाँलाई एक ठाउँमा उभ्याउने प्रयास पनि भइरहेको होला, यसलाई नकार्न सकिन्न ।’

‘०७४ मा पार्टीले चुनाव हारेपछि जिम्मेवारी लिने कुरामा शशांकले शेरबहादुरलाई साथ दिनुभयो । डडेल्धुराको अधिवेशनमा पनि शशांक शेरबहादुरकै पक्षमा उभिनुभयो । मन्त्री छनोट पनि शेरबहादुर र शशांकको मिलोमतो नै देखियो । उहाँ शेरबहादुर देउवासँग उभिने आधार छ । त्यो वातावरणको खोजी पनि हुनसक्छ ।’

तर, राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भने महाधिवेशनको मुखमा काँग्रेस नेताको भारत भ्रमण नै स्वाभाविक नभएको बताउँछन् । ‘काँग्रेस महाधिवेशनको सन्दर्भमा काँग्रेस नेताहरूको भारत भ्रमणको दौडधूप स्वाभाविक होइन । पारि (भारत)को आशीर्वाद थाप्न एकपछि अर्का भ्रमण भएको जस्तो देखियो,’ आचार्य भन्छन्, ‘महाधिवेशन छोडेर महामन्त्री उतै लागे । अस्ति शेरबहादुरले दूत पठाए । यो अलि अस्वाभाविक नै देखिन्छ ।’

आचार्यका अनुसार भारतको आशीर्वाद थाप्न यस्तो दौडधुप पहिला–पहिला काँग्रेस महाधिवेशनमा हुने गरेको थिएन । तर, सहमहामन्त्री प्रकाशशरणसँग कुरा हुँदा सम्बन्ध सुधारका भ्रमण भएको बताएको आचार्यको भनाइ छ । ‘प्रदीप गिरी र सांसद कर्मा घलेको स्वास्थ्य अवस्था बुझ्न मात्रै महामन्त्री कोइराला भारत गएको भन्ने कुरा पत्याउन सकिँदैन,’ आचार्यले भने ।

आचार्यका अनुसार पछिल्ला भ्रमण शेरबहादुर र शशांकलाई महाधिवेशनमा एक ठाउँमा ल्याउने उद्देश्यले भएका हुन सक्छन् । यसमा सभापति र महामन्त्रीको तालमेल मिलेको आचार्यको बुझाइ छ । उनी भन्छन्, ‘०७४ मा पार्टीले चुनाव हारेपछि जिम्मेवारी लिने कुरामा शशांकले शेरबहादुरलाई साथ दिनुभयो । डडेल्धुराको अधिवेशनमा पनि शशांक शेरबहादुरकै पक्षमा उभिनुभयो । मन्त्री छनोट पनि शेरबहादुर र शशांकको मिलोमतो नै देखियो । उहाँ शेरबहादुर देउवासँग उभिने आधार छ । त्यो वातावरणको खोजी पनि हुनसक्छ ।’

तर, सहमहामन्त्री प्रकाशरण महत भने काँग्रेस महाधिवेशनमा भारत भ्रमणको कुनै सम्बन्ध नहरेको बताउँछन् । ‘हाम्रो पार्टीको महाधिवेशन हाम्रो कुरा हो । महाधिवेशनमा यो भ्रमणको कुनै तारतम्य र सम्बन्ध छैन । त्यहाँ सम्बन्ध मिलाएर यहाँ हुने पनि होइन, त्यसको कुनै अर्थ छैन,’ उनले भने ।

महाधिवेशनलाई भारत फ्याक्टरसँग जोड्नु अर्थहीन विषय भएको महतको भनाइ छ । ‘नेपाली काँग्रेस नेपालको पार्टी हो । नेपाली काँग्रेसका प्रतिनिधिले नेतृत्व चुन्ने हो । महाधिवेशनलाई भारत र भारत सरकारसँग जोड्नु अर्थहीन कुरा हो,’ महतले रातोपाटीसँग भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप