मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पाँचैजना न्यायाधीशले राजीनामा दिनुस् : ओली

मङ्गलबार, ०९ कात्तिक २०७८, १४ : ३७
मङ्गलबार, ०९ कात्तिक २०७८

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाँचैजना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् । उनले शक्ति पृथकीकरणका आधारमा चल्नुपर्ने राज्यका तीनवटै निकायहरू असफल भइसकेको बताए । न्यायाधीशहरू नै पोल खोलाखोलमा लागेकाले अदालतप्रतिको जनताको भरोसा टुटेको उनको भनाइ थियो ।

‘हिजो पाकिस्तानी शैलीमा सरकार ढाल्ने श्रीमान् न्यायाधीशहरू । यति घण्टा, यति बजे भनेर राष्ट्रपतिलाई परमादेश जारी गर्ने तपाईंहरु अहिले पोल खोलाखोल गर्नुहुँदैछ । तपाईंहरु पाँचैजनाले सर्वसम्मतिका आधारमा परमादेश गर्नुभएको होला । अहिले एकजनाले किन ? तपाईहरु पाँचैजनाले राजीनामा गरे हुन्न ?’ ओलीले सोधे,‘ लोकतन्त्रमा जनताको आशा भरोसा न्याय प्रणालीप्रति हुनुपर्छ । अन्त न्याय नपाए अदालत गएपछि पाइन्छ भन्ने हुनुपर्छ । तर के आज त्यो स्थिति छ ?’ उनले जनतालाई समस्या परेका मुद्दा त पेन्डिङमै रहेको र नक्कली मुद्दाहरू खडा गर्ने काम भइरहेको आरोप लगाए । 

‘यो न्यायाधीश राख्नुहुन्छ । त्यो न्यायाधीश राख्नुहुन्न । यो न्यायाधीश राखे आफू नबस्ने, बस्छु भन्नेलाई छाड्न लगाउने । बस्दिन भनेर छाडेकालाई राखिने । बारले इजलास गठन गर्ने । अधिवक्ताले इजलास गठन गर्नेजस्ता अभ्यासहरू भइरहेका छन्,’ उनले भने,‘ म कानुन व्यवसायी होइन । कानुन व्यवसाय गर्नेले त संविधान बुझ्नुपर्नेजस्तो लाग्छ । संविधानमा हुँदै नभएको कुरा, राष्ट्रपतिको अधिकारमाथि धावा बोलेर, यति बजेभित्र, चौबिस घण्टामा भनेर राष्ट्रपतिलाई परमादेश जारी गर्ने अहिले तपाईंहरू पोल खोला खोला गर्दै हुनुहुन्छ ।’

सभामुख नाङ्गो षड्यन्त्रमा  

सभामुखले एमालेविरुद्ध नाङ्गो षड्यन्त्र गरिरहेको आरोप उनले लगाए । ‘एकजनाले उठेर अवरोध ग¥यो, संसद् चल्न दिन्न भन्यो भने उहाँ (सभामुख) स्थगित गर्नुहुन्थ्यो,’ ओलीले भने,‘अहिले देशको ठुलो पार्टी, प्रमुख प्रतिपक्षले आफ्नो असन्तुष्टि जनाइरहेको छ । तर पनि उहाँ कार्यक्रम खुरुखुरु चलाउनुहुन्छ ।’

उनले भने, ‘संसद्मा जनताका पक्षमा जारी गरिएको बजेट फेरबदल गरिन्छ । विकास निर्माणका कार्यक्रमहरू रद्द गरिन्छ । संसद् यसरी असफल भइरहेको छ ।’ उनले संसद्बाट नागरिकता विधेयक पारित नहुने र विगतको सरकारले ल्याएको अध्यादेशलाई पनि खारेज गर्ने गैरजिम्मवार काम भएको बताए । ओलीले नेतृत्व नै ठिक नहुँदा प्रभावकारी ढङ्गले संसद् अघि बढ्न नसकेको बताए ।  ‘राज्यका तीनवटै निकाय अशक्त भइसकेका छन् । र, त्यसको (संसद्) नेतृत्व अति विवादास्पद छ । विवादमा परेको अरू मान्छेले राजीनामा दिनुपर्छ भनेर उहाँहरू भन्नुहुन्छ । तर आफ्नै मान्छे सभामुख) निष्पक्ष त हुन सक्नुभएन । अरूको निष्कासनको पत्र ढोकैबाट तानेर टाँस्ने, एमालेको पत्र विचाराधीन राखेर एमालेविरुद्ध गतिविधि गर्न सजिलो बनाउने काममा त सभामुख संलग्न हुनुहुन्छ ।’ 

सरकारले काम गर्न सक्दैन 

वर्तमान सत्तारुढ गठबन्धनले जनताका काम गर्न नसक्ने ठोकुवा पनि उनले गरे । ‘एकैचोटी १४ सय बाटाहरु बनाउन सक्दिन भनेर हात उठाउने काम गरेको गरेको छ । । यो सरकारले राजदूत फिर्ता गर्न सक्छ, कर्मचारी सरुवा बढुवा गर्न सक्छ । तर जनताका काम गर्न सक्दैन,’ ओलीले भने,‘हामीले जनतालाई समृद्ध बनाउने भनेका छौँ । एमालेले मात्रै यस्तो भन्छ किनकि अरूले बनाउन पनि सक्दैनन् र बनाउन नसक्ने भएकाले भन्दा पनि भन्दैनन् ।’ 

उनले माधव नेपालहरू बाहिरिएपछि पार्टीमा आन्तरिक लोकतन्त्रको वातावरण बनेको दाबी गरे । ‘अनुशासनहीन तत्त्वहरू बाहिरिएपछि पार्टीमा एउटा लोकतन्त्रको वातावरण बनेको छ ।  बाढी पहिरोको मारमा परेका जनताको उद्धार र राहतका लागि अहिले पार्टी जुटेको छ । एमालेले जनताका चाहनाहरूलाई नै बोकेर हिँड्छ र जनताकै कुरा गर्छ,’ ओलीले भने । 

संविधान र गणतन्त्रको रक्षा गर्ने एमालेमात्रै

ओलीले लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षा गर्ने पार्टी एमालेमात्रै रहेको बताए ।​ ‘राष्ट्र निर्माणका बारेमा सोच्ने अरु कुनै पार्टीको छैन । एमालेको मात्रै छ । अरु पार्टी साना स्वार्थको भूमरीमा रुमलिइरहेका छन्,’ ओलीले भने, ‘हाम्रो पार्टी एक्लैले संविधानको रक्षा गर्ने, गणतन्त्रको रक्षा गर्ने, तीनको सही ढंगले कार्यान्वयन गर्ने, तीनलाई सफलतापूर्वक अघि बढाउने जिम्मेवारी लिएको छ ।’  उनले सुशासन र विकासको बाटोबाट समृद्धि हासिल गर्ने उद्देश्य एमालेले राखेको बताए । ‘देशलाई सामाजिक न्याय, शान्ति सुव्यवस्था र मानवीय मूल्यको मर्यादा समेतका आवश्यकतालाई हासिल गरेर समृद्ध नेपाल, सुखी नेपाली निर्माण गर्ने उद्देश्यमा हाम्रो पार्टी लागिरहेको छ,’ उनले भने, ‘हाम्रो पार्टीमात्रै लागिरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप