सोमबार, १४ जेठ २०८१
ताजा लोकप्रिय

१८ सिटमा उपनिर्वाचन : काँग्रेसले नगुमाउने, कम्युनिस्टलाई पीर

यी हुन् काँग्रेस, एमाले र माओवादीको शक्ति जाँच गर्ने प्रदेशसभाका १८ सिट
शुक्रबार, १२ कात्तिक २०७८, १७ : ३१
शुक्रबार, १२ कात्तिक २०७८

निर्वाचन आयोगले रिक्त रहेका प्रतिनिधि सभाका ४ र प्रदेश सभाका १८ सिटमा उपनिर्वाचनको मिति तोक्न सरकारलाई भनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग यसैसाता बालुवाटार पुगेर भेट गरेका आयोगका पदाधिकारीले प्रदेश सभामा १८ सिटमा उपचुनावको मिति तोक्न सरकारलाई आग्रह गरेका हुन् । २०७४ सालमा एकैपटक भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्र्तगत यतिबेला प्रतिनिधि सभामा ४ सिट खाली छन् भने प्रदेशसभामा १८ सिट खाली छन् ।

निर्वाचन आयोगले यही माघमा राष्ट्रियसभाको चुनाव सकिएलगत्तै  स्थानीय तहको निर्वाचनअघि नै प्रदेशसभाका १८ सिट र प्रतिनिधिसभाका ४ सिटमा उपचुनाव गर्न सरकारलाई भनेको छ । प्रधानमन्त्री देउवाले दलहरुबीच चाँडै छलफल गरेर उपचुनावको मिति तोक्ने आश्वासन आयोगलाई दिएका छन् ।  स्थानीय तहमा खाली रहेका सिटमा भने उपनिर्वाचन नगर्न आयोगले सरकारलाई भनेको छ ।

अर्ली इलेक्सनको सम्भावना नभएको निर्वाचन आयोगले सरकारलाई स्पष्ट पारिसकेको छ । यो अवस्थामा केही महिनाभित्रै हुने उननिर्वाचनलाई एकप्रकारले मिनी आम निर्वाचन भन्न सकिने अवस्था छ । किनभने यो संघ र प्रदेशको यो उपचुनावमा १९ जिल्लाका जनताले प्रत्यक्षरुपमा मतदान गर्नेछन् । त्यसैले यो उपचुनावबाट देशमा एमाले, काँग्रेस, माओवादी, समाजवादी लगायतका प्रमुख दलहरुको प्रभाव कस्तो छ भनेर सजिलै नाडी छाम्न सकिनेछ ।

आसन्न उपचुनावमा ताप्लेजुङ, धनुषा, बारा, रौतहट, दोलखा, बागलुङ, रुपन्देही, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, दाङ, बाँके, दैलेख, कालीकोट, डोल्पा, सल्यान, अछाम र कैलालीका आंशिक भागका जनताले मतदान गर्ने छन् । यी जिल्लामा हुने प्रत्यक्ष उपचुनावको परिणामले राजनीतिक दलहरूको लोकप्रियता बढेको वा खस्केको स्पष्ट पार्ने छ ।

काँग्रेसले नगुमाउने

आगामी उपचुनावमा नेपाली काँग्रेसले एउटा सिट पनि गुमाउनुपर्ने छैन । किनभने उपचुनाव हुन लागेका २२ वटै सिटमा ०७४ सालको चुनावमा काँग्रेसले जितेको थिएन । बरु यो उपचुनावमा सबैभन्दा बढी एमालेले गुमाउने र काँग्रेसलाई चिठ्ठा पर्ने सम्भावना देखिन्छ ।

प्रतिनिधिसभाका चारवटै सिटमा यसअघि माओवादीका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले जितेका थिए ।

 

 


यी चारैजना नेताहरु अहिले एमालेमा प्रवेश गरेका कारण उपचुनाव हुन लागेको छ । र, आफ्नो पहिलेको चार सिट जोगाउनुपर्ने चुनौती माओवादीलाई छ । तर, यी चार निर्वाचन क्षेत्रको चुनावले नेकपा एमालेको शक्ति पनि राम्रैसँग जाँच हुने देखिन्छ ।

बाँकी प्रदेशतर्फका १८ सिटमा यसअघि एमालेले माओवादीसँग मिलेर ७ सिट जितेको थियो । यसपालि एमालेको गठबन्धन मात्रै भत्किएको छैन, स्वयं एमाले समेत फुटेको अवस्था छ । यो स्थितिमा प्रदेशका ७ मध्ये एमालेले कति सिट गुमाउला ? वा अरु पनि सिटहरु थप्ला कि ? यसबारे अहिले नै भन्न सकिँदैन ।

उपचुनाव हुन लागेका प्रदेशसभाका १८ सिटमध्ये माओवादीले ०७४ मा ८ सिट जितेको थियो । यी ८ वटै निर्वाचन क्षेत्रका सांसदहरु माओवादी छाडेर एमालेमा प्रवेश गरेका छन् । उपचुनावबाट यी सिटहरु जोगाउनुपर्ने चुनौती माओवादीलाई छ ।

प्रदेशसभाको उपचुनावमा जनता समाजवादी पार्टीले रुपन्देही र बाँकेका दुईवटा सिट जोगाउनुपर्ने चुनौती छ भने राष्ट्रिय जनमोर्चाले बागलुङको एक सिट जोगाउनुपर्नेछ । यसअघि ०७४ को चुनावमा गठबन्धन गरेका माओवादी केन्द्र र एमालेको  गठबन्धन भत्किएसँगै शक्ति सन्तुलन खल्बलिएको छ । साथै अघिल्लो निर्वाचनका बेला बनेका दलहरुको गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेको छ । यस्तो अवस्थामा उपनिर्वाचन हुँदा कस्तो नतिजा आउला भन्ने विषयलाई चासोका साथ हेर्न थालिएको छ ।

अहिले एमाले चोइटिएको र माओवादी केन्द्र थप कमजोर भएका बेला यी क्षेत्रहरुमा फेरि माओवादी वा एमालेले आफ्नो बर्चस्व कायम राख्न सक्छन् वा सक्दैनन् त्यो प्रतिक्षाको विषय बनेको छ ।  

अब उपनिर्वाचन हुने १८ प्रदेश र राजनीतिक दलको मतको अवस्थाबारे विश्लेषण गरौं :

ताप्लेजुङ (ख)

ताप्लेजुङको प्रदेश सभा (ख) का उम्मेदवार टंक आङबुहाङले माओवादी केन्द्र त्याग गरेका कारण एक स्थान रिक्त छ । २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा सो क्षेत्रमा एमाले र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार रहेका आङबुहाङ्गले १२ हजार १ सय ९८ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपेन्द्र कुमार सेन्दाङले ७ हजार ५ सय ८७ मत पाएका थिए ।

समग्रमा ताप्लेजुङ जिल्लामा समानुपातिक निर्वाचन प्रणाली अन्र्तगत एमालेले कुल १९ हजार १ सय १९ मत, कांग्रेसले १२ हजार ६ सय १३ र माओवादी केन्द्रले ६ हजार ३ सय ३८ मत पाएको थियो । यो प्रदेशमा एमाले बलियो देखिए पनि यतिबेला दुई टुक्रा भएकाले त्यसको लाभ कांग्रेसले उठाउन सक्छ कि भन्ने अनुमान गर्न सकिन्छ ।

रौतहट ३(ख)

रौतहटको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख) मा २०७४ सालको चुनावमा माओवादीका कुन्दन कुमार कुसवाहाले माओवादी केन्द्र त्यागेका कारण सो निर्वाचन क्षेत्र खाली छ ।

कुसवाह गत चुनावमा १४ हजार ३ सय २ मत ल्याएर निर्वाचित भएका थिए । उनले पाएको मत एमाले र माओवादी केन्द्रको संयुक्त मत हो । उनका निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका उम्मेदवारले १० हजार ३ सय ३४ मत पाएका थिए भने कांग्रेसले ६ हजार ६ सय ९२ मत पाएको थियो ।

रौतहटमा अघिल्लो निर्वाचनका बेला कुल मतदाता ३ लाख २९ हजार ८ सय ६१ रहेका थिए । त्योबेला रौतहटमा रहेका सबै प्रदेशसभामा दलहरुले पाएको मत अनुसार नेपाली कांग्रेसले ४९ हजार ७४, राजपा नेपालले ३६ हजार ६ सय ७६, माओवादी केन्द्रले ३३ हजार ६ सय ८२, एमालेले ३२ हजार ७ सय ६३, संघीय समाजवादी फोरम नेपालले २४ हजार १ सय ९७ मत पाएको थिए ।

रौतहटमा प्रभु साहको खाली रहेको स्थानमा प्रतिनिधिसभाको उपचुनाव पनि प्रदेशसभाको सँगै हुनेछ । साह माओवादी छाडेर एमालेमा प्रवेश गरेका छन् ।  

धनुषा १(ख)

धनुषाको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) का सांसद रामचन्द्र मण्डलले माओवादी केन्द्र छाडेका कारण सो  क्षेत्र रिक्त बनेको छ । एमाले र माओवादी केन्द्रको गठबन्धनबाट उनले २०७४ सालको निर्वाचनमा १३ हजार ४ सय ६८ मत पाएका थिए । उनको प्रतिस्पर्धी दल राजपा नेपालले ९ हजार ८ सय ६५ र कांग्रेसले ७ हजार ६ सय २८ मत पाएका थिए । 

धनुषामा २०७४ सालको निर्वाचनमा कूल मतदाता संख्या ४ लाख ४ हजार ६ सय ७५ मतदाता थिए । जिल्लाका प्रदेशहरुमा राजनीतिक दलहरुले पाएको मत अनुसार नेपाली कांग्रेसले ५५ हजार ४ सय १३, राजपा नेपालले ४९ हजार ५ सय ८१, संघीय समाजवादी फोरम नेपालले ४८ हजार ९ सय ३०, नेकपा एमालेले ३६ हजार १ सय १ र माओवादी केन्द्रले २४ हजार २ सय ९० मत पाएका थिए ।

बारा ३ (क)

बाराको क्षेत्र नम्बर ३ को प्रदेश सभा (क) की सांसद ज्वालाकुमारी साहले माओवादी दल त्याग गरेका कारण सो क्षेत्र खाली छ । उनले २०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट ११ हजार ७ सय ७१ मत पाएकी थिइन् । उनका प्रतिद्वन्द्वी दल कांग्रेसले १० हजार १ सय ४७, संघीय समाजवादी फोरमले ६ हजार ३ सय ८२ मत पाएको थियो ।

यो क्षेत्रको मत हेर्दा कांग्रेस निकै बलियो देखिन्छ । तत्कालीन एमाले र माओवादी केन्द्रको मत जोड्दा पनि कांग्रेसले १६ सय २४ मतले पछि परेको देखिन्छ । 

२०७४ सालको चुनावमा बारामा कुल मतदाता ३ लाख ४९ हजार ९ सय ४९ थिए ।  बारामा सबै प्रदेश सभामा गरेर समानुपातिक तर्फ कांग्रेसले ४८ लाख ८ सय ८५ मत पाएको थियो । नेकपा एमालेले ४२ हजार १ सय ८, संघीय समाजवादी फोरम नेपालले ३९ हजार ५ सय ५५, राष्ट्रिय जनता पार्टी नेपालले ३३ हजार ६ सय ७८ र माओवादी केन्द्रले १८ हजार ५ सय ७१ मत पाएको थियो ।

दोलखा १(ख)

बागमती प्रदेशअन्तर्गत दोलखा क्षेत्र नम्बर १ को प्रदेश (ख) का एमाले सांसद पशुपति चौलागाईंको निधन भएका कारण सो स्थान रिक्त रहेको छ । उनले एमाले माओवादी गठबन्धनका तर्फबाट २३ हजार ५८ मत पाएका थिए । उनको प्रतिस्पर्धी दल कांग्रेसले १० हजार ८ सय ८०, नेकपा मालेले ३४ सय ४ मत ल्याएको थियो ।

दोलखाका दुवै प्रदेशसभामा गरेर एमालेले ३५ हजार ५ सय ७४ मत ल्याएको थियो । कांग्रेसले १८ हजार ६ सय ११, माओवादी केन्द्रले १५ हजार ४ सय ३७, राप्रपाले १२ सय ५२ मत ल्याएको थियो ।

बागलुङ १(ख)

गण्डकी प्रदेशअन्र्तगत वाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ का सांसद कृष्ण थापालाई राष्ट्रिय जनमोर्चाले गत जेठमा कारवाही गरेपछि सो स्थान रिक्त रहेको छ ।

थापाले २०७४ सालको निर्वाचनमा एमाले र माओवादीको समेत गरी १५ हजार ६ सय ३६ मत ल्याएका थिए । उनको प्रतिस्पर्धी दल कांग्रेसले ९ हजार ९४ मत पाएको थियो । थापालाई एमाले, माओवादी केन्द्रले पनि सहयोग गरेका कारण उनले कांग्रेस भन्दा झन्डै ६ हजार मत बढी ल्याएका थिए । अन्य दलले सहयोग नगरे जनमोर्चालाई सो स्थानमा विजय पक्का गर्न चुनौती रहेको छ । यो जिल्लाको कूल मत हेर्दा कांग्रेस बलियो देखिएको छ ।

गत चुनावमा बागलुङमा कुल मतदाता १ लाख ६७ हजार २ सय ८२ थिए । २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा बागलुङका सबै प्रदेशसभामा गरेर कांग्रेसले ३३ हजार ६ सय ४०, नेकपा एमाले २९ हजार ५४, राष्ट्रिय जनमोर्चाले १६ हजार ७ सय ४, माओवादी केन्द्रले १३ हजार ८ सय ३३ मत ल्याएको थियो ।  

रुपन्देही १(ख)

रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) का माओवादी केन्द्रका सांसद दधिराम न्यौपानेले दल त्याग गरेपछि सो स्थान रिक्त रहेको छ । २०७४ सालको निर्वाचनमा उनले १३ हजार ९४ मत ल्याएका थिए । उनको प्रतिद्वन्द्वी कांग्रेसले ११ हजार ८ मत र संघीय समाजवादी फोरमले ७ हजार २ सय ३३ मत ल्याएको थियो ।  यो निर्वाचन क्षेत्रमा पनि कांग्रेस बलियो छ ।

रुपन्देही जिल्लामा एमालेको १ लाख ५ हजार ७ सय ३१ मत, कांग्रेसको १ लाख ३ हजार ६९ मत, संघीय समाजवादी फोरम नेपालको ३४ हजार ७० मत, माओवादी केन्द्रको २० हजार ५ सय ६ मत, राजपा नेपालको १७ हजार ७ सय ५९ मत, राष्ट्रिय जनमुक्ति पार्टीको १२ हजार ६ सय ६२ मत ल्याएका थिए । 

गुल्मी २(ख)

गुल्मी क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) का माओवादी केन्द्रका सांसद दिनेश पन्थीले दल त्याग गरेपछि सो स्थान खाली छ । २०७४ सालको निर्वाचनमा उनले १७ हजार ६ सय १ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसले ९ हजार ६ सय ३९ मत ल्याएको थिए ।

एमालेको बलियो उपस्थिति रहेको गुल्मीमा पनि एमाले विभाजनको असर परेको छ । २०७४ मा एमालेको मत समेत जोडिँदा माओवादी केन्द्रले जित निकालेपनि उपनिर्वाचनमा सो जित निकाल्न भने कठिन पर्ने आंकलन गर्न सकिन्छ ।

कपिलवस्तु २(ख)

कपिलबस्तु क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ मा एमालेबाट निर्वाचित सांसद दृगनारायण पाण्डेयले राजीनामा दिएपछि सो स्थान खाली बनेको हो । २०७४ सालको प्रदेश सभा निर्वाचनमा उनले १९ हजार २ सय ४४ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसले १७ हजार ६६ मत ल्याएको थियो । यस्तै संघीय समाजवादी फोरमले १५ सय २९ मत ल्याएको थियो । यो निर्वाचन क्षेत्रमा कांग्रेस र संघीय समाजवादी फोरम बलियो देखिएका कारण एमालेले पहिलेको आफ्नो स्थान सुरक्षित गर्न चुनौती देखिन्छ ।  

कूल मतदाता ३ लाख ११ हजार ७ सय ६० रहेको कपिलबस्तुमा २०७४ सालको निर्वाचनमा प्रदेशसभा तर्फ एमालेले ५६ हजार ६ सय २० मत, कांग्रेसले ५२ हजार ८ सय ४९ मत, राजपाले १९ हजार ४ सय ९८ मत, संघीय समाजवादी फोरम नेपालले १७ हजार १ सय ९९, माओवादी केन्द्रले १० हजार १ सय ७८ मत, बहुजन शक्ति पार्टीले ६ हजार ९ सय २३ मत पाएको थियो ।

दाङ २(ख)

दाङ क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ मा निर्वाचित एमाले सांसद अमर बहादुर डाँगीले राजीनामा दिएपछि त्यो क्षेत्र खाली रहेको छ । उनले २०७४ सालको निर्वाचनमा २१ हजार ४ सय ५० मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवारले १३ हजार १ सय ९० मत ल्याएका थिए । नेकपा मालेले १२ सय ३३ मत पाएको थियो ।

२०७४ सालको निर्वाचनमा कुल मतदाता ३ लाख ३८ हजार ९ सय ५२ रहेको दाङ जिल्लाका सबै प्रदेश सभामा गरेर कांग्रेसले ६९ हजार ६५ मत, एमालेले ६५ हजार १ सय ६७ मत, माओवादी केन्द्रले ४४ हजार ८ सय १७ मत, राष्ट्रिय जनमोर्चाले ४ हजार ६ सय ३५ मत पाएको थियो ।

रुपन्देही ३(क)

रुपन्देही क्षेत्र नम्बर ३ को प्रदेश सभा (क) का संघीय समाजवादी फोरमका सांसद सन्तोष कुमार पाण्डेयलाई पार्टीले कारवाही गरेपछि सो स्थान खाली रहेको छ । उनले यसअघिको निर्वाचनमा ११ हजार ४ सय ७७ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी दल कांग्रेसले १० हजार ३ सय २८ मत पाएको थियो भने माओवादी केन्द्रले ९ हजार ८ सय ३७ मत पाएको थियो ।

रुपन्देही जिल्लामा एमालेको १ लाख ५ हजार ७ सय ३१ मत, कांग्रेसको १ लाख ३ हजार ६९ मत, संघीय समाजवादी फोरम नेपालको ३४ हजार ७० मत, माओवादी केन्द्रको २० हजार ५ सय ६ मत, राजपा नेपालको १७ हजार ७ सय ५९ मत, राष्ट्रिय जनमुक्ति पार्टीको १२ हजार ६ सय ६२ मत ल्याएका थिए । 

बाँके २(क)

बाँके क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ मा संघीय समाजवादी फोरम नेपालको सांसद विजयबहादुर यादवको स्थान खाली भएपछि सो स्थानमा उपनिर्वाचन हुँदैछ । २०७४ सालको निर्वाचनमा उनले ११ हजार ५ सय ७४ मत ल्याएका थिए । प्रतिद्वन्द्वी दल कांग्रेसले ७ हजार ७ सय ५१ मत, माओवादी केन्द्रले ४ हजार ८ सय ९८ मत पाएका थिए ।

कुल मतदाता २ लाख ७६ हजार ७ सय १६ रहेको बाँकेका सबै प्रदेशसभामा गरेर एमालेले ४४ हजार ८ सय ६० मत, कांग्रेसले ४३ हजार ५ सय ७१ मत, संघीय समाजवादी फोरम नेपालले २३ हजार २ सय ५२ मत, माओवादी केन्द्रले २२ हजार ४ सय ६५ मत, राप्रपाले ९ हजार ९ सय ५७ मत पाएको थियो ।

दैलेख १(क)  

            

दैलेख क्षेत्र नम्बर १ को ‘क’ मा माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीले दल त्याग गरेपछि सो स्थान खाली छ । २०७४ सालमा भएको निर्वाचनमा उनले १० हजार ३ सय ६१ मत ल्याएका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसले ८ हजार ७ सय ६५ मत ल्याएको थियो । एमाले र माओवादी केन्द्रको गठबन्धन बन्दा समेत कांग्रेस करिब २ हजार मतले पछि परेको देखिन्छ । यो निर्वाचन क्षेत्रमा पनि अब हुने चुनावमा परिणाम फेरबदल हुन सक्ने आंकलन गर्न सकिन्छ ।

कूल मतदाता १ लाख ३९ हजार ९ सय ४४ मतदाता रहेको दैलेखका सबै प्रदेश सभामा गरेर एमालेले कुल ३२ हजार १ सय २६ मत, कांग्रेसले २५ हजार ९ सय २५ मत, माओवादी केन्द्रले ९ हजार ५३ मत राप्रपाले ४ हजार ५ सय ५ मत पाएको थियो ।

दैलेख १(ख)          

    

यस्तै दैलेख क्षेत्र नम्बर १ को प्रदेशसभा ख मा एमालेका अम्मरबहादुर थापाले दल त्याग गरेपछि सो स्थान खाली छ । उनले अघिल्लो निर्वाचनमा सो क्षेत्रमा १२ हजार ५ सय ६७ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसले १० हजार ५ सय ८६ मत पाएको थियो । यो निर्वाचन क्षेत्रमा पनि अघिल्लो बर्षको मत परिणाम हेर्दा कांग्रेस बलियो देखिन्छ ।

कालिकोट १(क)

कालिकोट क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ का एमालेबाट निर्वाचित सांसद कुर्मराज शाही पार्टीको कारवाहीमा परेपछि सो स्थान खाली रहेको छ । उनले २०७४ सालको निर्वाचनमा ११ हजार ९ सय ३५ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी दल कांग्रेसले ४ हजार ४ सय ८९ मत ल्याएका थिए । यस्तै नेमकिपाले ११ सय १० मत ल्याएको थियो ।

कूल मतदाता संख्या ६४ हजार ९ सय ६१ रहेको कालिकोटमा २०७४ सालको निर्वाचनमा जिल्लाभर प्रदेशसभामा माओवादी केन्द्रले १० हजार ८ सय १५ मत पाएको थियो । यस्तै एमालेले १० हजार ३९ मत, कांग्रेसले ६ हजार १ सय ३० मप पाएको थियो ।

डोल्पा (क)

डोल्पा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ का नेकपा एमालेका सांसद नन्दसिंह बुढा पार्टी कारवाहीमा परेपछि सो स्थान रिक्त रहेको छ । २०७४ सालको निर्वाचनमा उनले ५ हजार ४ सय ९० मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्दी दल कांग्रेसले २१ सय ५ मत पाएको थियो ।

कूल मतदाता संख्या १८ हजार ९८९ रहेको डोल्पामा दुई प्रदेश सभामा गरेर एमालेले ८ हजार २ सय ६७ मत, माओवादी केन्द्रले ३ हजार ३ सय ११ मत, कांग्रेसले १९ सय १४ मत ल्याएको थियो ।

सल्यान १(ख)

सल्यानको निर्वाचन क्षेत्र १ को प्रदेशसभा (ख) का एमाले सांसद प्रकाश ज्वाला पार्टी कारवाहीमा परेपछि सो स्थान रिक्त रहेको छ । ज्वालाले २०७४ सालको निर्वाचनमा १९ हजार ८ सय ३६ मत पाएका थिए । उनका प्रतिद्वन्द्वी दल कांग्रेसले ११ हजार ६ सय ३० मत, राप्रपाले ६ हजार ५४ मत पाएको थियो ।

कूल मतदाता १ लाख ३४ हजार २ सय १३ रहेको सल्यानका सबै प्रदेशसभामा २०७४ सालको चुनावमा एमालेले २३ हजार ४ सय ३९ मत ल्याएको थियो । कांग्रेसले १९ हजार ६ सय ५३ मत, माओवादी केन्द्रले १६ हजार ४८ मत, राप्रपाले ५ हजार ७९ मत ल्याएको थियो ।

अछाम १(ख)

सुदुरपश्चिम प्रदेशमा एक प्रदेशसभा खाली छ । अछाम क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ का माओवादी केन्द्रका सांसद झपट बोहोराले दल त्याग गरेपछि सो स्थानमा उपनिर्वाचन गर्नुपर्नेछ । एमाले र माओवादी गठबन्धनका तर्फबाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा उनले १३ हजार ९ सय ३७ मत पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले ८ हजार ३ सय ४० मत पाएका थिए ।

कूल मतदाता संख्या १ लाख ३६ हजार ९ सय ३ रहेको अछामका सबै प्रदेशसभामा गरेर एमालेले ३१ हजार २ सय १४ मत, कांग्रेसले २९ हजार २ सय ६६ मत, माओवादी केन्द्रको १२ हजार ३ सय १३ मत आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप