बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

४६ वर्षीय अभिनेताको हृदयघातका कारण मृत्यु : जिममा हुने यस्ता गल्तीबाट जोगिनुहोस्

आइतबार, १४ कात्तिक २०७८, ११ : ४४
आइतबार, १४ कात्तिक २०७८

कन्नड फिल्म अभिनेता तथा युथ आइकन मानिने पुनित राजकुमारको अचानक मृत्यु भएपछि विभिन्न प्रश्न उठेका छन् । सुस्वास्थ्य र सुगठित शरीरको चाहनामा जिम धाउनेहरुले कस्ता कस्ता कुरामा ध्यान दिनुपर्छ भन्नेबारे पनि चर्चा भइरहेको छ ।

 पुनित राजकुमारलाई असाध्यै फिट मानिन्थ्यो र उनको ४६ वर्षको उमेरमा अचानक मृत्यु हुँदा सबैजना चकित छन् । यति फिट देखिने व्यक्तिको अचानक यस्तो मृृत्यु कसरी हुनसक्छ भनेर धेरैजसो हैरान छन् । दुई महिना अघि मात्रै २ सेप्टेम्बरमा अभिनेता सिद्धार्थ शुक्लाको मृत्यु भयो त्यतिबेला पनि यहि प्रश्न उठेको थियो ।

४० वर्षका सिद्धार्थ चर्चित टिभी कलाकार तथा कार्यक्रम प्रस्तोता थिए र असाध्यै फिट देखिन्थे ।​ पुनितलाई जिम गर्ने बेला छाती दुख्दा सबैभन्दा पहिला पारिवारिक डाक्टर र चर्चित कार्डियोलोजिस्ट रमन्ना रावलाई सम्पर्क गरिएको थियो ।

 रावले मिडियासँग भनेका थिए, ‘मैले उनको नाडी र रक्तचाप दुबै परीक्षण गरेँ । दुबै सामान्य थिए । तर उनलाई अत्यधिक पसिना आइरहेको थियो । यसबारे सोध्दा उनले जिममा साधारणतया यस्तै पसिना आउने बताएका थिए । मैले उनको इसीसी परीक्षण गरेँ र उनलाई तुरुन्त अस्पताल जान भनेँ । ’

विक्रम अस्पतालका डा. तथा कार्डियोलोजिस्ट डा. रंगनाथ नायरका अनुसार पुनितलाई बाटोमा नै हृदयघात भयो र उनलाई बचाउने सबै प्रयास असफल रहे ।

१२ वर्ष अघि एसएपी इन्डियाका सिइओ रञ्जन दासको जिमबाट फर्किएका बेला हृदयघात भएको थियो र उनको मृत्यु भएको थियो । ४२ वर्षका दासको मृत्युपछि पनि विभिन्न प्रश्न उठेका थिए ।

श्री जयदेव इन्स्टिच्युट अफ कार्डियाभास्कुलर साइन्सेज एण्ड रिसर्च (एसजेआईसीएसआर) का निर्देशक डा. सीएन मञ्जुनाथले बीबीसीसँगको कुराकानीमा भने, ‘जब मानिसहरु तौल उठाउनेजस्ता अभ्यास गर्छन् तब मांसपेशीमा तनाव हुन्छन् । तौल उठाएका कारण नसाहरुमा दबाब पर्छ । असिमित अभ्यास मुटुको भल्भका लागि खतरनाक हुन्छन् ।’

२५–४० वर्षको उमेरमा हृदयघातः

एसजेआईसीएसआरमा दुई हजारमाथि सन् २०१७ मा गरिएको एक शोधमार्फत् थाहा हुन्छ कि २५–४० वर्षका मानिसहरु हृदयघातको खतरा बढिरहेको छ । पछिल्लो पाँच वर्षको तुलनामा यस्ता मामिलामा २२ प्रतिशतको वृद्धि देखिएको छ ।

अनुसन्धानमा समावेश १५ सय बिरामी कर्नाटकका थिए जबकी ५ सय भारतका अन्य राज्यका थिए ।

डा. मञ्जुनाथका अनुसार उनीहरुमा मुटुरोगसँग सम्बन्धित रोग थिएनन् र हृदयघातको आशंका बढाउने धुम्रपान, पारिवारिक हिस्ट्री, मधुमेह, हाइपरटेन्सन र हाई कोलेस्ट्रोलजस्ता अन्य कारण पनि थिएनन् ।

तर पुनितका दुबै दाइ अभिनेता शिवराजकुमार र अभिनेता तथा निर्माता राघवेन्द्र राजकुमार दुबैलाई हृदयघात भइसकेको छ ।

पूर्व मुख्यमन्त्री तथा फिल्म जगतसँग संलग्न एचडी कुमारास्वामी राजकुमार परिवारका मित्र हुन् । कुमारास्वामीले बीबीसीसँग भने, ‘दुबैलाई जिममा हृदयघात भएको थियो । परिवारमा यस्तो हिस्ट्री रहेको छ ।’

हृदयघातको लक्षणः

– छाती दुख्ने – मुटुको बीचतिर कस्सिएको महसुस हुनु

– शरीरको अन्य अङ्गमा पनि पीडा (पीडा छाती हुँदै हात, बंगरा, गर्धन, पिठ्यूँ र पेटतिर जाँदै गरेको महसुस हुनु)

– मन अशान्त हुने र रिँगटा लाग्ने

– पसिनाले निथु्रक्क हुनु

– सास फेर्न समस्या

– बान्ता आउला जस्तो हुनु

– बेचैनी महसुस हुनु

– खोकी सुरु हुनु, बेस्सरी सास फेर्ने

यद्यपि, हृदयघात हुँदा छातीमा धेरैजसो बेस्सरी पीडा हुन्छ तर कतिलाई भने हल्का पीडा हुन्छ । कतिपय अवस्थामा त छातीसमेत दुख्दैन, विशेषगरी महिला, ज्येष्ठ नागरिक र मधुमेह भएका मानिसमा ।

जिमको सनकः

कुमारास्वामीका अनुसार आजको समयमा युवामा जिम गएर शरीर बनाउने सनक बढिरहेको छ ।

कुमारास्वामी भन्छन्, ‘हालैका समयमा युवामा शारीरिक परीक्षण बिना जिम जाने र प्रोटिन सप्लिमेन्ट पाउडर र प्रोटिन शेक लिने चलन बढेको छ । आजकाल युवाले जिम इन्स्ट्रक्टरले भनेको भरमा प्रोटिन लिन्छन् । कतिमा त यस्तो सल्लाह दिने योग्यता पनि छैन ।’

असोसिएशन अफ हेल्थ प्रोभाइडर्सका अध्यक्ष डा. एलेक्जेन्डर थोमस भन्छन्, ‘धेरैजसो जिमले युवालाई स्टेरोइड लिने सल्लाह दिन्छन् र स्टेरोइड स्वास्थ्यका लागि राम्रो हुँदैनन् । भारतमा यस्तो जिमको संख्या निकै कम हुनसक्छ तर यो चिन्ताको विषय हो ।’

चर्चित डायटिशियन तथा न्यूट्रीशन सल्लाहकार शीला कृष्णास्वामी भन्छिन्, ‘जो जिममा जान्छन् उनीहरुले प्रोटिन लिनुपर्छ भन्ने आधारहीन मान्यता छ । यस्तो गर्नु पूर्ण रुपमा गलत हो । खानामा प्रोटिनको कमी नभएसम्म सप्लिमेन्ट लिन कुनै आवश्यक छैन । जो मानिस खेलसँग सम्बन्धित छन्, उनीहरु पनि डाक्टरको सल्लाह र योग्य पोषण विशेषज्ञको सल्लाहमा नै प्रोटिन लिन्छन् ।’

कति कसरत गर्नुपर्छ ?

डा. मञ्जुनाथका अनुसार हाई इन्टेन्सिटी एक्सरसाइज गर्नुअघि मुटुको स्वास्थ्यको परीक्षण गर्नुपर्छ ।

उनी भन्छन्, ‘मानिसहरुले जिम जानेबित्तिकै हाई इन्टेन्सिटी वर्कआउट सुरु गर्नु हुँदैन । सुरुमा वार्मअप एक्सरसाइज गर्नुपर्छ । र जब मानिसहरुले हाई इन्टेन्सिटी वर्कआउट सुरु गरेपनि यो दिनदिनै गर्नु हुँदैन । यो मुटुसँग सम्ब्न्धित समस्याको सुरुवात हुनसक्छ ।’

फिजियोथेरेपिस्टको मान्यता अनुसार जिममा ट्रेनिङ सुरु गर्नु अघि एक निश्चित रुटिनको पालना गर्नुपर्छ ।

मेंगलुरुका पीए इन्सिटच्युट अफ फिजियोथेरेपीका प्रधानाध्यापक सजिश रघुनाथन भन्छन्, ‘धेरै बस्ने मानिसहरुले विभिन्न परीक्षण गर्नुपर्छ ताकि उनीहरु कतै चाँडै नै थाक्दैनन् भनेर थाहा पाउन सकियोस् । यस्ता परीक्षण व्यक्ति व्यायाम गर्नका लागि फिट छन् वा छैनन् भनेर पत्ता लगाउनका लागि गरिन्छ । ’

डा. मञ्जुनाथ भन्छन्, ‘सबै सुरुवाती सावधानी अपनाउँदा र हाई इन्टेन्सिटी एक्सरसाइज सुरु गरेपछि तपाईंले धेरैबेरसम्म त व्यायाम गरिरहेको छैन भन्ने कुरामा ध्यान दिनुपर्छ । बाहिरबाट राम्रो देखिनुको अर्थ तपाईंको मुटु पनि स्वस्थ छ भन्ने होइन ।’

डा. मञ्जुनाथ कुमारास्वामी जिममा मानिसहरुको स्वास्थ्यमाथि निगरानी गर्नका लागि डाक्टर हुनुपर्ने कुरामा सहमती जनाउँछन् ।

उनी भन्छन्, ‘म त यो सल्लाह दिन्छु कि जिममा आपतकालीन स्थितिलाई सम्हाल्नका लागि प्रशिक्षित मानिसहरु हुनुपर्छ जसले पुनर्जीवन उपकरेण चलाउन जान्दछन् र आपतकालीन स्थितिमा हृदयलाई पुनः चालु गर्नका लागि डिफिब्रिलेटर शक दिन सक्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप