बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रपति भण्डारी

आइतबार, १४ कात्तिक २०७८, १७ : ०३
आइतबार, १४ कात्तिक २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रुपमा विकास गर्न  गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएकी छन् । उनले यहाँ भएका ऐतिहासिक पुरातात्विक महत्वका स्थान र सामग्रीको अध्ययन अनुसन्धान र संरक्षणसहित सबै मूर्त र अमूर्त सम्पदालाई उजार गर्दै यस क्षेत्रको मौलिक पहिचानलाई विश्वसामु प्रस्तुत गर्नुपर्ने बताए ।

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज महाकरुणा गौतमबुद्धको मूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले बुद्ध जन्मस्थलको उन्नयनका लागि विकासका गतिविधि सरल हुनुपर्ने विषयलाई स्वभाविक रुपमा लिएर काम अघि बढाउनुपर्ने बताइन् ।

“यहाँ योग र ध्यान जस्ता साधना तथा खोज र अनुसन्धान गर्नसक्ने परिवेशसहितको बुद्ध संस्कृतिसँग जोडिएका स्तूप र आकर्षक पूर्वाधारको विकास गरी स्वदेशी तथा विदेशी पर्यटकलाई न्यानो आतिथ्य दिनुपर्छ”, उनले भनिन् । यस क्षेत्रमा पर्यटकलाई दिने उत्कृष्ट सेवा तथा सत्कारले उक्त दर्शनको मूल मर्म र भावना पहिल्याउन योगदान पुग्ने बताउँदै उनले यसले गर्दा स्थानीय समुदायको समृद्ध जीवनमा सहयोग पुग्ने उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले लुम्बिनीलाई आधार बनाएर स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयले आफूलाई बुद्ध दर्शन र परम्पराको अध्ययन अनुसन्धान गराउने विषयमा ध्यान केन्द्रित गर्दै विश्वकै एक उत्कृष्ट प्राज्ञिकस्थलको रुपमा विकास गर्न दृढ सङ्कल्प लिनुुपर्ने बताइन् ।

लुम्बिनी क्षेत्रमा अवस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सम्पन्न भएपछि संसारका बौद्धमार्गीलाई अध्ययन अनुसन्धान गर्न सहज हुने भएकाले यसको निर्माण सम्पन्न गर्नका लागि सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने उनले बताइन् ।

विशेष प्रकारको धातुद्वारा निर्मित बुद्धको प्रतिमा अनावरणले दिगो विश्व शान्ति स्थापना गर्न मद्दत पुग्नुका साथै लुम्बिनीको विकासमा नयाँ आयाम थपिएको उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले विमानस्थलमा महाकरुणा बुद्धमूर्ति स्थापनाले सबैलाई सत्मार्गमा रहन सन्देश दिने बताइन् ।

देश समुन्नतिको दिशामा अगाडि बढिरहेको अवस्थामा विकासको महाअभियानलाई सार्थक तुल्याउन अग्रसर बन्नुपर्ने उल्लेख गर्दै उनले यहाँको भौतिक पूर्वाधारको विकासले यहाँका जनताको जीवनस्तर उकास्न सहयोग पुर्याउने बताइन् ।

प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले विमानस्थल निर्माणको कामलाई छिटो पूर्णता दिन आवश्यक रहेको बताए । उनले विमानस्थलको काम अविलम्ब सम्पन्न गरी उद्घाटन गर्ने अवस्थामा पु¥याउन सम्बन्धित निकायलाई निर्देशन दिए ।

बुद्धको त्याग र तपस्या नेपालीका लागि अनुकरणीय रहेको बताए । उनले बुद्धको ज्ञानलाई व्यवहारिक जीवनमा अनुशरण गर्न आवश्यक रहेको बताउँदै यसले समाज परिवर्तनमा सहयोग पुग्ने धारणा राखे । गौतम बुद्धको जन्म नेपालमा भएको भन्ने कुरा संसारभर स्थापित भएको उल्लेख गर्दै अब बुद्धको दर्शन र ज्ञानलाई व्यवहारिक प्रयोगमा ल्याउने गरी प्रचारप्रसार गर्न आवश्यक रहेको बताए ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गौतम बुद्धले दिनुभएको शान्ति र अहिंसाको सन्देश अहिले पनि उत्ति नै सान्दर्भिक रहेको बताउँदै बुद्ध दर्शनले बाह्य मुलुकलाई नेपाल र नेपालीसँग जोड्ने काम गरेको बताए ।  स्पेनका सभामुख बलान्का मार्टिक डेल्गाडोले बुद्ध र शान्तिको सन्देशले स्पेन र नेपाललाई जोड्ने अभियानमा रहेको बताए ।

उनले नेपालमार्फत एशियामा राम्रो सम्बन्ध विस्तार गर्न चाहेको उल्लेख गरे । लुम्बिनी गार्डेन फाउण्डेशनका अध्यक्ष जोसे म्यानुअल भियानोले बुद्ध संस्कृति र दर्शनलाई विश्वभर चिनाउन दुई देशको सहकार्यले महत्वपूर्ण योगदान पुर्याउने बताए ।

करिब रु दुई अर्ब ५० करोड बराबरको लागतमा बहुमूल्य धातुबाट बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेसनले नेपाल सरकारलाई हस्तान्तरण गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको हो । सो बुद्धमूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालबिन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनलाई दिएको हो ।

एक हजार ८०० केजी तौल भएको बुद्धमूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ ।  बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बनेको बुद्धमूर्ति म्यानमार, हङकङ, भारत हुँदै कोलकाता बन्दरगाहबाट कात्तिक ४ गते भैरहवा ल्याएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप