बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीमा प्रमुख दलको शक्ति प्रदर्शन : कसको तागत कति ?

आइतबार, १४ कात्तिक २०७८, १८ : २९
आइतबार, १४ कात्तिक २०७८

दसैँदेखि तिहार लाग्ने बेलासम्म सर्लाही जिल्लामा प्रमुख राजनीतिक दलका अध्यक्ष लगायत शीर्ष नेताहरूको बाक्लै दौडधुप चलिरहेको छ । काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका दलहरूका नेताहरू विभिन्न बहानामा सर्लाही पुग्ने गरेका छन् ।

शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीको कार्यक्रममा सहभागी हुन सर्लाही पुगे । जसपाका केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्र राय यादव निकट रहेको नेपाल लोकतान्त्रिक शिक्षक फेडरेशन र माओवादी केन्द्र निकट रहेको एकीकृत अखिल नेपाल शिक्षक संगठनबीच हुने एकता कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रचण्ड सर्लाही पुगेका हुन् ।

यसअघि कात्तिक ९ र १० गते दुई दिनसम्म नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्लाहीमा समय बिताए । हरिवन नगरपालिका–५, घुर्कौलीमा वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्न अध्यक्ष नेपाल सर्लाही पुगेका थिए ।

त्यहाँ नेता नेपालले कार्यकर्ताहरूसँग अनौपचारिक भेटघाट गर्नुका साथै लालबन्दी नगरपालिका–१५ र १६ परवानीपुर बोहोरेडाँडामा नेकपाका संस्थापक पुष्पलालको सालिक अनावरण एवं जिल्ला कमिटीको घोषणा समारोहलाई सम्बोधन गरेका थिए ।

त्यसैगरी कात्तिक ९ गते नै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायतका शीर्ष नेताहरू पनि सर्लाही पुगेका थिए । लोसपाले दीपावली र छठको उपलक्ष्यमा सर्लाहीका चारवटै चुनावी क्षेत्रमा कार्यक्रम तय गरेको थियो । त्यही कार्यक्रममा सहभागी हुनका लागि लोसपाका अध्यक्ष ठाकुरसहित शीर्ष नेताहरू सर्लाही पुगेका हुन् ।

कात्तिक ९ गते नै नेपाली काँग्रेसले सर्लाहीको जानकीनगरमा आयोजना गरेको दीपावली तथा छठको अवसरमा शुभकामना कार्यक्रममा सहभागी हुनका लागि सो पार्टीका केन्द्रीय सदस्य गुरुराज घिमिरे, संविधानसभा सदस्य बद्री पाण्डे, डा. शोभाकर पराजुली, उज्जवल बराललगायतका नेताहरू पुगेका थिए ।

जसपा नेपालका कार्यकारिणी समिति सदस्य एवं कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव पनि असोज २५ गते सर्लाही पुगे । आफ्नो गृह जिल्ला समेत रहेको सर्लाहीमा यादव कात्तिक २ गतेसम्म बसेका थिए । सो अवधिमा उनले गाउँगाउँ पुगेर शुभकामना अदान प्रदानका साथै पार्टी प्रवेश पनि गराए ।

यसअघि असोज ४ गते जसपा नेतृ एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव पनि सर्लाही पुगेकी थिइन् । सर्लाहीको कविलासी नगरपालिकामा आयोजित दुईवटा कार्यक्रममा सहभागी भएर उनी काठमाडौँ फर्केकी थिइन् ।

असोज ३ गते माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्मा रामनगर गाउँपालिकामा माओवादी केन्द्रका नेता शिवपुजन रायका बुवाको श्रद्धाञ्जली सभा र बरहथवास्थित हीरापुर ब्यारेजको निरीक्षणमा सहभागी भए ।

सर्लाहीमा कसको तागत कति ?

सर्लाहीमा प्रमुख पाँच दलमध्ये सबभन्दा कमजोर केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले देखिन्छ । त्यही भएर अहिलेसम्म सो पार्टीबाट कुनै पनि नेताहरू सर्लाही पुगेका छैन । एमालेले ०७४ को  प्रतिनिधिसभा चुनावमा सर्लाहीबाट एउटा पनि सिट जितेको छैन ।

प्रदेशसभामा भने सर्लाहीबाट एक जना समानुपातिकसहित एमालेका तीनजना सांसद थिए । पार्टी विभाजन भएपछि तीनैजना माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका छन् । स्थानीय तहमा चारवटा पालिकाको पालिका प्रमुख एमालेले जितेको थियो । तीमध्ये एक जना प्रमुख माधव नेपाल नेतृत्वको पार्टीमा लागेका छन् ।

त्यस्तै, सर्लाहीमा नेपाली काँग्रेसबाट समानुपातिकसहित तीनजना प्रतिनिधिसभा सदस्य छन् भने चारजना प्रदेशसभामा सदस्य छन् । स्थानीय तहमा काँग्रेसले पाँचवटा पालिका प्रमुख हात पारेको छ । स्थानीय, प्रदेश र संघमा चुनाव जितेको आधार मान्ने हो भने सर्लाही जिल्लामा काँग्रेस सबैभन्दा बलियो देखिएको छ ।

माओवादी केन्द्रबाट एक जना मात्र रामेश्वर राय यादवले सर्लाहीबाट प्रतिनिधिसभा चुनाव जितेका छन् । तीनवटा पालिकामा पालिका प्रमुख माओवादीको हातमा छ । अन्य पालिकामा पनि केही वडाअध्यक्ष र सदस्यहरू माओवादीले जितेको छ ।

उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपालले सर्लाहीबाट एक जना समानुपातिक र एक जना प्रत्यक्ष गरी प्रतिनिधिसभामा दुईजना सांसद जितेको थियो । प्रदेशसभामा एक जना समानुपातिकसहित तीनजना प्रदेशसभा सदस्य तत्कालीन फोरमले हात पारेको थियो । सर्लाही जिल्लाका स्थानीय तहमा तत्कालीन फोरमको अवस्था राम्रो थिएन । स्थानीय तहमा एउटा पालिका मात्रै फोरमले प्रमुखमा जितेको थियो ।

तत्कालीन फोरमभन्दा महन्थ ठाकुर नेतृत्वको तत्कालीन राजपाको अवस्था सर्लाहीमा राम्रो थियो । राजपाले सर्लाहीमा स्थानीय तहको चुनावमा ६ वटा पालिका प्रमुख हात पारेको थियो भने प्रदेशसभामा समानुपातिकसहित पाँचजना प्रदेशसभा सदस्य हात पारेको थियो । प्रतिनिधिसभामा एक जना समानुपातिकसहित दुई सांसद तत्कालीन राजपाले हात पारेको थियो ।

तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएको थियो । एकीकरणपछि जनता समाजवादी पार्टी बनेको थियो । त्यसपछि सर्लाहीमा सबभन्दा ठूलो पार्टी बनेको थियो । गत भदौमा जसपा विभाजित भएको छ ।

विभाजन भएपछि राजपासँग सर्लाहीमा रहेका पाँचजना प्रदेशसभा सदस्यमध्ये दुईजना उपेन्द्र यादव नेतृत्वको जसपामा गएका छन् । सर्लाहीमा राजपाका दुईजना संघीय सांसदमध्ये एक जना उपेन्द्र यादव नेतृत्वको जसपामा गएका छन् । स्थानीय तहमा पनि महन्थ ठाकुर पक्षबाट केही पालिका प्रमुखहरू उपेन्द्र यादवको नेतृत्वको जसपातिर लागेका छन् ।

सर्लाहीमा आगामी चुनावमा जसपा र काँग्रेसबीच प्रतिस्पर्धा हुने देखिन्छ । अहिले सरकारको नेतृत्व काँग्रेसले गरेको छ भने जसपाबाट सर्लाहीकै महिन्द्र राय यादव मन्त्री हुन् । अहिलेको सरकारमा सर्लाहीबाट एक जना मात्र मन्त्री बनेका छन् । मन्त्री बनेका कारण जसपाप्रति आकर्षण बढेको सो पार्टीका नेताहरूको दाबी छ । तर, जसपाले दाबी गरेजस्तो बलियो स्थिति चाहिँ देखिइसकेको छैन । शनिबार मात्रै महिन्द्र राय यादवसँग रहेको शिक्षक संगठन सिंगै माओवादी केन्द्रमा प्रवेश गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप