शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले राम्रा कामको थालनी गरेको छ : डा.महत

सोमबार, १५ कात्तिक २०७८, १६ : ३२
सोमबार, १५ कात्तिक २०७८

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकारले राम्रा कामको थालनी गरे पनि त्यसको प्रचार हुन नसकेको बताएका छन् । उनले भने, “यो नेपाली कांग्रेसको मात्र नभएर कांग्रेस नेतृत्वको गठबन्धन सरकार हो, मन्त्रिमण्डल विस्तारमा केही ढिलाइ भए पनि सरकारले राम्रा कामको थालनी गरेको छ, हामीले प्रचार गर्न नसकेको मात्र हो ।”

कांग्रेस नेतृत्वको यो सरकार निर्माण भएपछि कम्तीमा पनि एक करोड मात्रा कोरोनाविरुद्धको खोपको व्यवस्था गरेको र यसका कारण नेपालमा कोरोनाको प्रभाव कम भएको पनि उनले बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद बहादुरसिंह लामा (तामाङ) द्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले सरकारले खोपको व्यवस्था गरेकाले नै देशमा महामारीको प्रभाव घटेको, उद्योग व्यवसाय सञ्चालन गर्न सकिएको बताउँदै महामारी पीडित व्यवसायीलाई सरकारले पुनःस्थापना प्याकेज ल्याएको बताए ।

अघिल्लो ओली सरकारले जनताका आवश्यकताअनुसार काम गर्न नसकी असफल भएपछि नेपाली नागरिकको इच्छा बमोजिम नै काँग्रेस नेतृत्वमा यो सरकार निर्माण भएको उनले स्पष्ट पारे । अघिल्लो सरकारका समयमा महामारीबाट नागरिकलाई बचाउन स्पष्ट नीति र कार्यक्रम नभएको, भ्रष्टाचार मौलाएको र निर्वाचनका समयमा नागरिक सरकारसँग गरेका वाचाअनुसार सरकारले काम गर्न नसकेको आरोप उनले लगाए । 

आगामी निर्वाचनमा काँग्रेसले स्पष्ट बहुमत ल्याएर सरकार निर्माण गर्ने उनले बताए । उनले भने, “आगामी आम निर्वाचन यही सरकारले गर्छ र नेपाली जनताले काँग्रेसलाई स्पष्ट बहुमत दिनेछन् ।” उनले आमनिर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन पनि दिए । उनले पार्टीको अधिवेशन लोकतन्त्रको आन्तरिक पद्धति भएकाले यसलाई प्रतिस्पर्धाको रुपमा नलिन आग्रह गरे ।

पछिल्लो समय पाटीको अधिवेशनमा देखिएको गुटलाई लक्षित गर्दै “केही साथीहरुले पार्टीको अधिवेशनलाई जीवन मरणको लडाइँ ठानेका छन् । यो दुर्भाग्य हो” उनले भने । “म ठीक र अरु गलत भन्ने प्रवृत्ति त्याग्नुपर्छ । गाली गलौजको भाषा पार्टीलाई मान्य हुनेछैन । सहिष्णुता र सद्भाव कायम गर्नुपर्छ”, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप