शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जेट विमान उडाउनुपर्ने जीवनबहादुर शाही राजनीतिक उडान भर्दै मुख्यमन्त्री बने

मङ्गलबार, १६ कात्तिक २०७८, २१ : ००
मङ्गलबार, १६ कात्तिक २०७८

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका जीवनबहादुर शाही नियुक्त भएका छन् । मंगलबार नै उनले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट पद तथा गोपनियताको शपथ लिएका छन् । काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका शाहीको विगत केही विवादित र केही संघर्षपूर्ण छ । २०२१ साल फागुन २० गते हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–५ अन्तर्गत खर्पेल गाउँमा बाबु मानबहादुर शाही र आमा बेलकली शाहीको कोखबाट जन्मिएका शाहीले केन्द्र सरकारमा पर्यटन मन्त्रीका रुपमा पनि जिम्मेवारी सम्हालिसकेका छन् ।

एमए (राजनीतिशास्त्र)सम्मको शिक्षा हासिल गरेका उनी कर्णालीमा छुट्टै बौद्धिक छवि भएका नेताका रुपमा स्थापित छन् । उनले  ३० भन्दा बढी देशको भ्रमण गरेका छन् । थुप्रै देशको राजनीतिलाई बुझेका उनको राजनीतिक यात्रा भने २०४६ सालबाट सुरु भएको हो । प्रजातन्त्रका लागि संघर्ष गर्ने क्रममा केही समय भूमिगत भएका शाहीले १५ दिन जेल जीवन समेत बिताएका छन् । यस्तै, २०६२÷०६३ मा उनले ३ महिना जेल बिताए । 
शाही हुम्ला जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । उनले ४ हजार ५१९ मत ल्याएका थिए ।​

उसोत उनी केन्द्रीय तहमा पनि राम्रो छवि बनाएका नेता हुन् । तर, मुलुक संघीयता गएसँगै कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नकै लागि भन्दै उनले प्रदेशसभामा चुनाव लडेका थिए । तर, नेपाली काँग्रेसले हुम्लाबाहेक अन्य ठाउँमा प्रत्यक्ष चुनाव जित्न असफल भएपछि उनको सपना अधुरो रह्यो । 

​शाहीले प्रत्यक्ष एक सिट जितेको बाहेक समानुपातिकबाट कर्णालीमा काँग्रेसका थप ५ जना प्रदेशसभा सदस्य छन् । ४० सदस्यीय कर्णाली प्रदेसभामा जम्मा काँग्रेसका जम्मा ६ सांसदमात्र छन् ।

प्रदेशसभा सदस्यको १५ प्रतिशत हिस्सा भएर पनि अन्ततः शाहीले मुख्यमन्त्री बन्ने लक्ष्य पूरा गरेरै छाडे । तत्कालीन नेकपाको सरकार हुँदा कर्णालीमा प्रतिपक्षीका रुपमा पनि काँग्रेस निकै कमजोर र रक्षात्मक अवस्थामा थियो । तर, प्रतिपक्षका रुपमा शाहीले रचनात्मक भूमिका खेलेको भन्दै प्रशंसा नै हुने गरेको थियो ।

त्यस बीचमा उनलाई विभिन्न आरोपले पछ्याइरहे । उनले आफ्नै श्रीमतीलाई प्रदेश लोक सेवा आयोगको सदस्य बनाएको भन्दै आलोचना भयो । शाही विगत दुई वर्षदेखि हुम्लामा चीनले सीमा मिचेको विषय उठाएर पनि चर्चामा रहे ।

कर्णाली प्रदेशको अत्यन्तै विकट जिल्लामा जन्मिएर पनि उनले काठमाडौंको बूढानीलकण्ठ स्कुलमा अध्ययन गरेका थिए । उतिबेला प्रत्येक जिल्लाबाट मेधावी विद्यार्थी खोजेर बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिमा पढाउने चलन थियो । उनी त्यही प्रक्रिया अन्तर्गत हुम्लाबाट काठमाडौं छिरेका थिए । 

शाहीले अमेरिकाबाट पाइलट ट्रेनिङ पनि लिए । पाइलट ट्रेनिङ समाप्त भएपछि जेट विमान उडाउनुपर्ने उनी राजनीतिक उडान भर्न आफ्नै विकट जिल्ला हुम्लातर्फ मोडिए । हुम्लामा उनी निकै शक्तिशाली नेताका रुपमा चिनिन्छन् ।

भाग्यशाली मुख्यमन्त्री!
कर्णाली प्रदेशसभाका ४० सिटमध्ये नेकपा एमालेको २० जना, माओवादी केन्द्रका १३ जना, नेपाली काँग्रेसका ६ जना र राप्रपा नेपालका एक जना सदस्य थिए । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा हुँदै पुनः एमाले र माओवादी केन्द्र बन्ने प्रक्रियामा भने ५ जना प्रदेश सांसदको पद एमालेबाट गुम्यो । 

उनीहरु अहिले नेकपा एकीकृतमा आवद्ध छन् । माओवादी पार्टी छाडेर एमाले रोज्ने माओवादीका धर्मराज रेग्मीको पनि सांसद पद खोसिएको छ । हाल ३५ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित १३, माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६, नेकपा एकीकृत समाजवादीका ३ र राप्रपा नेपालका १ जना प्रदेश सांसद छन् । 

माओवादी, काँग्रेस र नेकपा एकीकृत समाजवादी सम्मिलित गठबन्धनमा माओवादीका १२, काँग्रेसका ६ र नेकपा एकीकृत समाजवादीका ३ सांसद गरी २१ जना छन् । शाही अहिले मुख्यमन्त्री बन्नुमा माओवादीको साथ देखिए पनि मुख्य कुरा, तत्कालीन नेकपा विभाजन र एमाले फुट्नु नै उनका लागि भाग्योदयको अवसर बन्यो । हाल प्रदेश सभाको अंकगणितमा थोरै सिट भए पनि काँग्रेस निर्णायक अवस्थामा देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप