शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ मुख्यमन्त्रीलाई गाडी बुझाएर पैदलै हिँडेर डेरा फर्किए महेन्द्रबहादुर शाही (तस्बिरहरु)

बुधबार, १७ कात्तिक २०७८, ११ : ०२
बुधबार, १७ कात्तिक २०७८

मंगलबार साँझ साढे ८ बजे कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनियताको शपथ लिए । शपथ ग्रहण कार्यक्रमको दृश्य भने रोचक थियो । कार्यक्रम सञ्चालकले नयाँ मुख्यमन्त्रीलाई बधाई तथा शुभकामना दिन अतिथिहरुलाई सुझाएपछि प्रदेश प्रमुख गोविन्द कलौनी, सभामुख राजबहादुर शाहीले सुरुमा बधाई दिए । त्यसपछि निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खादा ओडाउँदै मुख्यमन्त्री शाहीसँग झ्याप्प हात मिलाए । त्यतिबेला दुवैजना मुस्कुराएको दृश्य र उनीहरुको अंकमालले कार्यक्रमस्थलको माहोल नै बदलिदिएको थियो ।

अंकमाल गर्दैगर्दा बाहिरबाट निकै हो–हल्ला समेत भयो । शपथ ग्रहणको औपचारिक समारोह सकिसकेपछि प्रदेश प्रमुख, निवर्तमान मुख्यमन्त्री र नवनियुक्त मुख्यमन्त्रीले केही समय गफगाफ गरे । त्यसपछिका केही दृश्य पनि निकै रोचक देखिए ।

जब, नयाँ मुख्यमन्त्री प्रदेश प्रमुखको कार्यालयबाट बाहिर निस्कन थाले, निवर्तमान मुख्यमन्त्री शाहीले आफू चढ्ने गाडी मुख्यमन्त्री शाहीलाई सुम्पिए । कर्णाली प्रदेश ०२००१ झ ००२३ नम्बरको स्कार्पियो गाडी उनले प्रयोग गर्दै आएका थिए ।

नयाँ मुख्यमन्त्री जीवनबहादुर शाही त्यही गाडी चढेर प्रदेश प्रमुखको कार्यालयबाट बाहिर निस्किएर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगे भने महेन्द्रबहादुर शाही पैदल हिँडेरै डेरातिर लागे । शाहीले मंगलबार नै वीरेन्द्रनगरकै गुरुङ चोकमा एउटा सानो ‘फ्ल्याट’ भाडामा लिएका छन् ।

हुन त उनले ३ वर्ष ८ महिनाको कार्यकालमा निकै संघर्षपूर्ण यात्रा गर्नुप¥यो । आफ्नो सत्ता जोगाउनका लागि उनले निकै कठिन यात्रा गरे । तर, उनले काँग्रेससँगको सहमतिअनुसार सहज रुपमा सत्ता हस्तान्तरण गरिदिए । राजनीतिज्ञहरू उनको इमानदारिताको निकै प्रशंशा गर्छन् ।  निकै साधारण जीवनशैली अपनाउँदै आएका उनले मंगलबार नै सरकारी ‘क्वार्टर’ पनि छाडिसकेका छन् भने सुरक्षा ‘स्कर्टिङ’ गाडी र सबै टिमलाई पनि फिर्ता गरिसकेका छन् ।

एक नेताका अनुसार कर्णाली प्रदेशसभाको दायाँ, पश्चिम मोहडामा रहेको मुख्यमन्त्रीको सरकारी ‘क्वार्टर’ मा नयाँ मुख्यमन्त्री जीवनबहादुर शाही मंगलबार साँझ नै सरिसकेका छन् । महेन्द्रबहादुर शाही पैदल हिडेर नयाँ डेरा जाँदा उनको साथमा उनका केही कार्यकर्तामात्र थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप