बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार ! पासपोर्ट बनाउँदा कहाँ पिसाब फेर्ने ? (भिडियो)

राहदानी विभागका हाकिम भन्छन्– यसमा सेवाग्राहीकै गल्ती छ
बुधबार, १७ कात्तिक २०७८, १४ : १७
बुधबार, १७ कात्तिक २०७८

यो समाचारको अन्त्यमा एउटा भिडियो क्लिप राखिएको छ । फोहोर मैला वा दिसाको थुप्रो देख्दा तपाईलाई वान्ता हुने स्थिति आयो भने कृपया भिडियो नहेर्नुहोला । तर, हरेक दिन राहदानी विभागमा पासपोर्ट बनाउन पुग्ने कम्तिमा ५ हजार सेवाग्राहीले भने हामीले भिडियोमा देखाएको यही ट्वाइलेट प्रयोग गर्छन् ।

दिसा–पिसाव गर्न पाउनु मानिसको प्राकृतिक हक हो । तर, हाम्रो परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले जनताका समस्यालाई कसरी बेवास्ता गरेका छन् भनेर बुझ्न चाहने हो भने एकचोटि यो चर्पीमा छिर्दा हुन्छ । नभए, भिडियो मात्रै हेरे पनि पुग्छ ।

विकार तत्व फालेर शरीरलाई आराम दिन शौच गर्न ट्वाइलेट छिरेका सेवाग्राहीहरु  बान्ता गर्दै बाहिर निस्कने गरेका छन् । सेवाग्राहीको समस्याबारे सरकारी कर्मचारीहरुलाई केही पनि मतलव छैन ।

राहदानी विभागमा द्रुत प्रक्रियाबाट पासपोर्ट बनाउन एकजना सेवाग्राहीले १० हजारदेखि १५ हजार रुपैयाँ तिर्ने गरेका छन् । तर, यति धेरै राजस्व तिर्ने सेवाग्राहीहरु ट्वाइलेट भित्र छिर्न सक्ने अवस्था छैन ।

शौचालय भित्र जताततै दिशा–पिसाव गरेको, पराग, सुर्ती र पानीका बोतलहरू थुपारिएका कारण प्रवेश गर्न कठिनाई भएको सेवाग्राही रेशम कुँवरले रातोपाटीलाई बताए ।

सेवाग्राहीले ट्वाइलेटको अवस्थाबारे बताएपछि हामीले त्यहाँभित्रको फोहोरको दृश्य खिच्न खोज्यौं । तर, यति फोहोर थियो कि त्यहाँ ३० सेकेन्ड बिताउन पनि कठिन भयो ।  

विभागका निर्देशक भन्छन् – ट्वाइलेट फोहोर हुनु सेवाग्राहीकै गल्ती

राहदानी विभागले हरेक दिन प्रत्येक दुई–दुई घण्टामा ट्वाइलेट सफा गरेको दावी गरे पनि ट्वाइलेटको अवस्था हेर्दा निकै दिनदेखि सफाइ नगरेको देखिन्थ्यो । तर, ट्वाइलेट यसरी फोहोर हुनुको मुख्य कारक भने सेवाग्राही नै भएको विभागका अधिकारीको आरोप छ ।

​राहदानी विभागका निर्देशक एवं प्रवक्ता शरदराज आरणले ट्वाइलेट फोहोर हुनुको कारण विभागको दृष्टिकोणबाट मात्र नहेरी सेवाग्राहीको दृष्टिकोणबाट पनि हेर्नुपर्ने बताए । उनले सेवाग्राहीले जथाभावी दिसा–पिसाव गरेका कारण ट्वाइलेट फोहोर भएको उल्लेख गरे । उनले दुई–दुई घण्टामा सफा गरेको दावी गरे । तर, ट्वाइलेट भित्र पानीको समेत व्यवस्था थिएन ।

एकजना सेवाग्राही किशोरकुमार महतोले बाहिरबाट बोतलमा पानी बोकेर ट्वाइलेट गर्न जानुपर्ने र दिशा गर्ने ट्वाइलेटको प्यान बोतल र दिशाले भरिएको सुनाए ।

यता निर्देशक आरणले भने, ‘दुई दुई घण्टामा ट्वाइलेट सफा गर्ने मान्छे राखेका छौँ, हजारौं मान्छे आएपछि त्यहाँ कसैले पनि पानी नहाल्ने, जे पनि लगेर फाल्दिने, धारा पनि निकालिदिने गर्छन् । सेवाग्राहीको तर्फबाट पनि हेर्नुपर्ने हुन्छ । धारा फेर्दा फेर्दा हैरान भएका छौँ ।’

निर्देशक आरणले एकदिनको ट्वाइलेट हेरेर धारणा बनाउन नहुने बताउँदै विभाग सेवाग्राहीलाई सफा ट्वाइलेटको व्यवस्था गर्न प्रतिवद्ध रहेको उल्लेख गरे ।

हेर्नुहोस भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप