बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बगैंचामा ढकमक्क सयपत्री

बिहीबार, १८ कात्तिक २०७८, १२ : ०४
बिहीबार, १८ कात्तिक २०७८

सयपत्री फूल तिहारका लागि प्रयोग हुने मुख्य फूलमध्ये एक हो । सयपत्री फूलको माला तिहारमा प्रयोग गरिन्छ । गाउँघरमा यसलाई हजारी फूल भनेर पनि चिनिन्छ । यो फूल आफैमा सौन्दर्यताको प्रतिक पनि हो ।

ढकमक्क फूलेको सयपत्री देख्दा कसको पो मन लोभिँदैन र ? घरका आँगन वरिपरी, बगैँचाभरि फूलेको फूलले सौन्दर्यता मात्र नभई तिहारको चहलपहललाई समेत बढाइदिएको हुन्छ । तर, सयपत्रीलाई व्यावसायिक रुपमा खेती गरेको भने विरलै पाइन्छ ।

यतिबेला कर्णाली प्रदेशको वीरेन्द्रनगरस्थित पश्चिमी मोहोडामा रहेको एउटा सयपत्री बगैंचा चर्चामा छ । केही समय अघिदेखि सामाजिक सञ्जाल फेसबुक, टिकटकमा यो बगैंचामा गएर भिडियो बनाउनेहरुको भिड नै लाग्ने गरेको छ ।

यो बगैंचाले सबैको मन लोभ्याएको छ । यहाँ तिहारका लागि फूल खरिद गर्न, अवलोकन तथा टिकटक बनाउन, फोटो र भिडियो खिच्न जानेको घुइँचो हुने गर्दछ ।

वीरेन्द्रनगरको मुख्य सडक रत्न राजमार्गको बायाँ छेवैमा रहेको यो बगैंचा कर्णाली एग्रोमाट प्रालिको हो । करिब ३ कठ्ठा जमिन लिजमा लिएर पहिलो पटक ट्रायलका रुपमा सयपत्रीका एक हजार २ सय बोट रोपिएको थियो । अहिले विभिन्न ठाउँबाट फूल चाहियो भनेर फोन आइरहने कर्णाली एग्रोमाट प्रालिमा आवद्ध भरत सुनार भन्छन् ।

‘फूल चाहियो भनेर फोन आएको आएकै छ । माग अनुसार फूल नै पुग्नेजस्तो छैन,’ उनले भने, ‘हामीले एक केजी फूललाई ४ सय रुपैयाँमा बिक्री गर्ने गरेका छौं भने उनेको मालालाई प्रतिमाला १५० मा बिक्री गरेका छौं ।’

सुनारका अनुसार बुधबारसम्म दुई क्विन्टलसम्म फूलको माग आएको आँकलन गरिएको छ । त्यो माग धान्न मुस्किल हुन्छ कि भन्ने लागेको उनले बताए । कर्णालीका अन्य ठाउँमा पनि यसरी व्यावसायिक फूलखेती गरेमा आयआर्जनमा पनि टेवा पुग्न सक्ने र प्रदेशको आर्थिक अवस्था बढ्न सक्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप