शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्ड केशरजंग रायमाझीको नयाँ अवतार : प्रभु साह

काँग्रेसको पुच्छर बनेर  जनयुद्ध र शहीद समेतको अपमान गरे
शनिबार, २० कात्तिक २०७८, २१ : ०४
शनिबार, २० कात्तिक २०७८

पूर्व मन्त्री तथा नेकपा एमालेका नेता प्रभु साहले माओवादी अध्यक्ष  प्रचण्ड केशरजंग रायमाझीको नयाँ अवतार रहेको टिप्पणी गरेका छन्  । गृह जिल्ला रौतहटको कटहरिया नगरपालिका १ भसेढवामा शनिबार दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम लाई सम्बोधन गर्दै उक्त टिप्पणी गरेका हुन् ।

नेता साहले प्रचण्ड काँग्रेसको पुच्छर बनेर  जनयुद्ध र शहीद समेतको अपमान गरेको बताए ।  विगतमा काँग्रेसी फाँसीवादको विरुद्ध युद्ध गरेर किसान मजदुरको रगत बगाएर प्रचण्डले अन्तिममा काँग्रेसकै लँगौटी बनेर केशरजंग रायमाझीको नयाँ रूप देखाएको उनले जिकिर  गरे । सर्वहारा वर्गको मत लिएर प्रतिक्रियावादी शरणमा पुगेर प्रचण्डले आफ्नो पतनको दिशा आफै चयन गरेको प्रभु साहको भनाइ छ।

उनले भने, 'प्रचण्डको यो गद्दारीको कदम नेपाली इतिहासमा नौलो होइन, केशरजंग रायमाझी प्रवृत्तिको पुनरावृत्ति हो । सामन्ती व्यवस्थाको विरुद्ध राजासँगको निर्णायक लडाइँमा हिजो जसरी केशरजंग रायमाझीले गद्दारी गरे आज त्यसरी नै दलाल संसदीय फाँसीवादको विरुद्ध काँग्रेससँग निर्णायक ढङ्गले लड्नुपर्ने बेलामा काँग्रेसीको अगाडी आत्मसमर्पण गरेर प्रचण्डले गरेको गद्दारी केशरजंग रायमाझीको नयाँ अवतार होइन ?'

'अहिले तपाईंहरूलाई लाग्न सक्छ प्रचण्ड नै माओवादी हो भनेर । तर नेकपा माओवादी केन्द्र एउटा नाम मात्र हो, खास अर्थमा भन्ने हो भने एउटा पसलको रुपमा मात्र बाँकी रहेको छ । प्रचण्ड त्यसको एउटा व्यापारी बनेको छ । माओवादी विचार, विरासत, मुद्दा र महान् शहीदहरूको सपना बेचेर अहिले प्रचण्डले जनतालाई धोका दिएको छ,' नेता साहले भने, 'जनतालाई धोका दिने प्रचण्डहरूको पतन निश्चित छ ।' प्रचण्ड र माधव नेपाल अहिले माओवादी तथा कम्युनिस्ट को बोर्ड राखेर पसल खोली काँग्रेसको सामान बेचिरहेको समेत बताए ।

शुभकामना आदानप्रदान कार्यक्रममा एमालेका केन्द्रीय सदस्य कुन्दन कुश्वाहा, कटहरीया नगरपालिकाका मेयर सियाराम कुश्वाहा, देवाही गोनाहिकी उपमेयर परनिया पटेल ,नेता त्रिभुवन साह, सो वडाका वडाध्यक्ष राजकुमार साह, आईटी आर्मीका जिल्ला अध्यक्ष नरेश साह तुरहा लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप